“सुरक्षा परिषद् अधिनायकवादी”

तेहरान, १५ भदौ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामिनीले राष्ट्रसंघ सुरक्षा परिषद् अधिनायकवादी प्रकृतिको रहेको आरोप लगाएका छन् । इरानको राजधानी तेहरानमा बिहीबारबाट आरम्भ भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन उद्घाटन गर्दै उनले सो आरोप लगाएका हुन् ।
खामिनीले राष्ट्रसंघ निरंकुश रहेको आरोप लगाउँदै गर्दा राष्ट्रसंघ महासचिव बान की मुन पनि सम्मेलनमा उपस्थित थिए । ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को संरचना निरंकुश, अधिनायकवादी, अन्यायपूर्ण र अमिल्दो किसिमको छ,’ करिब १ सय २० देशका सर्वोच्च नेता तथा प्रतिनिधि सहभागी सम्मेलनमा उनले भने । इरानमा जारी पारमाणविक कार्यक्रमलाई लिएर इरान र राष्ट्रसंघबीच लामो समयदेखि विवाद चल्दै आएको छ । राष्ट्रसंघ सुरक्षा परिषद्मा भिटो शक्ति भएका अमेरिका, फ्रान्स र बेलायत इरानको परमाणु कार्यक्रमका कटु आलोचक हुन् । उनीहरूकै कारण राष्ट्रसंघले इरानविरुद्ध विभिन्न प्रतिबन्ध लगाएको छ ।
सम्बोधनका क्रममा नेता खामिनीले इरानलाई परमाणु हतियारप्रति कुनै मोह नरहेको दाबी गरे । ऊर्जा उत्पादन प्रयोजनका लागि परमाणु कार्यक्रम जारी राखिएको बताउँदै कसैको दबाबमा परेर कार्यक्रम नरोकिने प्रस्ट पारे । परमाणुलगायत आमविनाशकारी हतियारको प्रयोग अक्षम्य अपराध रहेको जिकिरसमेत उनले गरे ।
‘इस्लामिक गणतन्त्र इरानले परमाणु र यस्ता हतियारको प्रयोगलाई ठूलो तथा अक्षम्य अपराध मान्दै आएको छ । हामी मध्यपूर्वलाई परमाणु हतियारमुक्त क्षेत्र घोषणा गर्ने मान्यतामा दृढ छौँ । तर, यसको अर्थ हामी शान्तिपूर्ण प्रयोजनका लागि जारी परमाणु कार्यक्रमबाट विमुख हुनुपर्छ भन्ने होइन,’ उनले भने । मध्यपूर्वमा इरानको शत्रुराष्ट्र इजरायलसँग मात्रै परमाणु हतियार छ । अन्तर्राष्ट्रिय कानुनले पनि शान्तिपूर्ण प्रयोजनका लागि परमाणु ऊर्जा उत्पादनलाई मान्यता दिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया