राष्ट्रपति असदको अट्टहास

दमास्कस : मुलुकमा संकट गहिरिँदै गर्दा सिरियाली राष्ट्रपति बासर अल असद गोप्य ठाउँमा लुकेर बसेका छन् भन्ने हल्ला चल्न थालेको प्रसंग अन्तवार्ताकारले झिकेपछि असदले अट्टहास गर्दै भने, ‘केको लुक्ने कुरा गर्नुहुन्छ ? म तपाईंकै सामु त छु, दमास्कसको यो स्टुडियोमा ।’
बुधबार एक टेलिभिजन च्यानललाई अन्तर्वार्तामा दिने क्रममा असदले अट्टहास गरेका हुन् । उनले सिरिया अहिले क्षेत्रीय तथा विश्वयुद्धमा सरिक रहेको उल्लेख गर्दै आफूहरू विजयी हुने दाबीसमेत गरेका छन् । सिरियाको अलेप्पोलगायत सहरमा विद्रोही र सरकारी सैनिकबीच भीषण भिडन्त जारी रहेका बेला राष्ट्रपति असदले सिरियाका पक्षमा विजय सुनिश्चित रहेको दाबी गरेका हुन् । भिडन्त तीव्र भएपछि दबाब महसुस गरेर असदले राजीनामा गर्ने आस गर्नेहरू असदको यस्तो भनाइबाट निरास भएका छन् ।
पूर्णआत्मविश्वास र सन्तोषजनक मुद्रमा देखापरेका असदले आफू र सिरियाली सशस्त्र समूहका पक्षमा सिरियाली जनता सशक्त रूपमा उभिएको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । ‘सिरियाली जनतासमक्ष म प्रस्ट पार्न चाहन्छु कि सिरियाको भविष्यको फैसला गर्ने अधिकार तपाईंहरूकै हातमा छ,’ उनले भने । ‘सिरियाको गृहयुद्धलाई बढाइचढाइ गरी यसलाई क्षेत्रीय तथा विश्वयुद्धको स्वरूप दिइएको छ । त्यसैले युद्धमा विजयी हुन हामीलाई थप केही समय लाग्छ,’ दुन्या टेलिभिजन च्यानलसँग उनले भने । मुलुकको अवस्था सकरात्मक दिशातर्फ उन्मुख भइरहेको जिकिर गर्दै उनले वार कि पारको अवस्था भने भइनसकेको प्रस्ट पारे ।
सिरियाली नागरिकले नभई सिरियाका शत्रुले सिरियामा संकट निम्त्याएको आरोप उनले लगाए । ‘हाम्रा नागरिकमा हामीप्रति शत्रुता छैन । सिरियाका शत्रुले यस्तो अवस्था निम्त्याएका हुन्,’ उनले भने । अमेरिका, युरोपेली मुलुक, साउदी अरब, कुवेत तथा टर्कीले सिरियाली विद्रोहीलाई हतियारलगायत सहयोग गरेको आरोप उनले पटकपटक लगाएकाले शत्रु भनेर राष्ट्रपति असदले तीनै राष्ट्रप्रति संकेत गरेको विश्लेषकहरूको अनुमान छ ।
छिमेकी राष्ट्र टर्कीले अनावश्यक रूपमा सिरियाली नागरिकलाई भड्काउने र परिस्थिति बिगार्ने काम गरेको आरोप उनले लगाए । सत्ता नछोड्ने अडान पुन: दोहोर्‍याउँदै उनले सिरियाली नागरिकले आफूलाई सत्ताच्युत गर्न नचाहेको प्रस्ट पारे । (एजेन्सी)

प्रतिक्रिया