अझै खुलेन अस्पतालको ताला

नेपालगन्ज : भेरी अञ्चल अस्पतालका पूर्वनिमित्त प्रमुखले डेढ महिनाअघि लगाएको ताला अझै खुलेको छैन । ताला खुलाउन जिल्ला प्रशासन कार्यालय बाँकेले चासो नदिएको हो ।
आफू निमित्त प्रमुख पदमा कायमै रहेको दाबी गर्दै डा.नरेन्द्र रायले अस्पतालमा ताला लगाएर दैनिक प्रशासनिक तथा उपचार सेवा प्रभावित गर्दासमेत प्रशासन मूकदर्शक भएर बसेको छ । बाँकेका सिडिओ ढुण्डीराज पोख्रेललाई भेरी अञ्चल अस्पतालका चिकित्सकले ताला खुलाई अस्पतालको दैनिक कामकाज सुचारु गराउन एक सातापहिले जानकारी गराइसकेका थिए । तर अस्पतालको ताला खुलाएर समस्या समाधान गर्नुको साटो उनी काठमाडौं गएका छन् ।
अञ्चल अस्पताल र जिल्ला प्रशासन कार्यालय बाँके एक सय मिटरको दूरीमा छ । अस्पतालका नवनियुक्त निमित्त प्रमुख डा.विनोद खेतानले बाँकेका सिडिओ पोख्रेललाई ताला खुलाइदिन एक साताअघि नै जानकारी गराइसकेको बताए । ‘तर अहिलेसम्म केही प्रक्रिया चालिएको छैन,’ खेतानले भने, ‘अस्पताल एउटा व्यक्तिको बन्धक बनिरहेको छ ।’ पूर्वनिमित्त प्रमुख डा.रायले अस्पताल प्रमुखको कार्यकक्षमा ताला लगाएर साँचो आफैसँग लगेपछि नवनियुक्त निमित्त प्रमुख खेतान कार्यालयमा छिर्न पाएका छैनन् । उनी कहिले डाक्टरको बैठक कोठा त कहिले अन्य विभागीय कार्यकक्षमा बसेर दैनिक अस्पतालमा हुने गरेका प्रशासनिक कामकाज गरिरहेका छन् । भिडभाड र होहल्लाबीच अरूको कोठामा बसेर काम गर्दा समस्या भइरहेको खेतानले बताए ।
‘स्वास्थ्य मन्त्रालयले स्पष्टरूपमा मलाई निमित्त प्रमुखको जिम्मेवारी दिइसकेपछि राय डाक्टर सा’बले कार्यालयको साँचो दिन मान्नुभएको छैन,’ खेतानले भने, ‘डेढ महिना पुग्यो कार्यालयमा एकचोटि बस्न पाएको छैन ।’ प्रमुखको कार्यकक्ष एक महिनादेखि बन्द भएपछि डा.खेतानले अस्पतालको प्रशासनिक तथा सेवासम्बन्धी महत्त्वपूर्ण कागजातको अध्ययन गर्न पाएका छैनन् ।
डा.राय एक वर्षअघि भेरी अञ्चल अस्पतालको निमित्त प्रमुखमा नियुक्त भएका थिए । उनी अस्पताल प्रमुखमा नियुक्त भएपछि अस्पतालमा विवाद बढेको थियो । भ्रष्टाचार, कर्मचारीलाई जथाभावी सरुवा गरेको भन्दै रायको विरोधमा कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिएपछि मन्त्रालयले १ साउनमा अर्को व्यवस्था नभएसम्म उनलाई मन्त्रालयमा काज बोलाएको थियो । (सौस)

प्रतिक्रिया