नेपालगन्जमा बढे चोरीका घटना

नेपालगन्ज, १३ भदौ । चाडपर्व नजिकिएसँगै नेपालगन्जमा चोरीको घटना बढेको छ ।

नेपालगन्जमा साउनयता पन्ध्रभन्दा बढी सानाठूला चोरीका घटना भएका छन् । चोरले सुनचाँदी पसलदेखि इलेक्ट्रोनिक्स सामानका पसलमा चोरी गरेका छन् । सर्वसाधारणका घरमा दिउँसै चोरी भएको प्रहरीले बताएको छ । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
पछिल्लोपटक सोमबार राति नेपालगन्जको धम्बोजी सुर्खेतरोडमा रहेको न्यू नेपाल ट्ेरडर्स र कान्तिपुर सञ्चार सेवाबाट लाखौँ मूल्यका सामान चोरी भएका छन् । न्यू नेपाल ट्ेरडर्सका सञ्चालक रत्न शर्माका अनुसार, चोरले राति सटर फोरेर १८ थान ल्यापटप, ३७ थान हार्डडिस्क र पेनड्राइभ लगेको छ ।
‘झन्डै १० लाख रुपियाँबराबरको सामान चोरी भयो,’ पीडित शर्माले भने । पसलको सुरक्षाका लागि प्रहरीको गस्ती भइरहने सुर्खेतरोडमा पसल राखे पनि सुरक्षा नपाएको उनले दु:खेसो पोखे । सोमबार राति नै धम्बोजीमा रहेको कान्तिपुर सञ्चार सेवाबाट मोबाइल चोरी भएको छ । एक लाख रुपियाँभन्दा बढी मूल्यका २० थान मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । पसलमा दोस्रोपटक चोरी भएको हो । केही दिनअघि मात्र भेरी प्राविधिक शिक्षालयबाट त्यहाँ रहेका कम्प्युटर चोरी भएको उजुरी प्रहरी कार्यालयमा पुगेको छ ।
चोरीका उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय धाउनेको भिड बढेको छ । मंगलबार भेरी प्राविधिक शिक्षालयदेखि कान्तिपुर सञ्चार सेवा, न्यू नमस्ते ट्ेरडर्सका सञ्चालकहरू जिल्ला प्रहरी कार्यालयमा उजुरी लिएर गएका थिए । शृंखलाबद्ध चोरीका घटना भइरहे पनि प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको छैन । प्रहरीले पनि चोर पक्राउ गर्न नसकेको स्वीकार गरेको छ । डिएसपी उदय तामाङले भने, ‘ठूला अपराध नियन्त्रण भइरहेका बेला नेपालगन्जमा चोरी बढेको छ ।’ नेपालगन्जका चोरहरूले सजिलोका लागि भारतीय चोरलाई बोलाएर चोरीमा प्रयोग गरिरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार, चोरी सफल भए भारतीय र स्थानीय चोरबीच रकमको बाडफाँड हुने गरेको छ । चोरी गरेका सामान नेपालगन्जमै बिक्री भइरहेको प्रहरीको आशंका छ । ‘चोरी भएका सामान बिक्री गरेर पैसा बनाउँछ । त्यस्ता सामान स्थानीय बजारमा बिक्री गर्छन् उनीहरू,’ तामाङले भने ।

प्रतिक्रिया