घुन (कविता)

घुन
विश्व सिग्देल

नित्सेको
भगवान मरेको घोषणा लगत्तै
ठूलो खडेरीको साल
हाम्रा जीबाले मकै खोस्ट्याउँदा
एक होइन, दुई होइन
बीसौँ बीसौँ
काला ईश्वरहरू
गोडा हुँदी उँभो उँभो लागे अरे
पानी मरेका सुख्खा गरा गरा आँखामा
जन्मँदी बालिकाको अस्तित्व ‘च्याहाँ’ जस्तै
एउटा आश, एउटा विश्वास
भोका छोरा छोरी नजिकै राखेर
उहाँ बोल्नु भएछ
“अन्न रहुन्जेल घुन,
घुन रहुन्जेल अन्न
घुन त शुभ सङ्केत हुन्”

ईश्वर मरेको घोषणा
फेरि सुन्नु परेन मेरा बाले

दश नङ्ग्रीले माटो खोस्रिँदा
ड्याङ पार्दा, सम्याउँदा
र फरुवाको डोबबाट
भर्खर जन्मेको भुवाजस्तै नानी
मकैले मुन्टो उठाउँदा
उहाँ भन्नुहुन्थ्यो,
“बीसौँ, बीसौँ काला ईश्वरहरू
मेरो पाखुरीलाई चुम्न
सलबल सलबल गर्दै गोडा हुँदी
उँभो लागेजस्तो लाग्छ
उठेका देख्दा यी मकैका नानी शिरहरू”

मसम्म आइपुग्दा
ईश्वर र काला ईश्वरका सम्बन्धमा
धेरै बहस भए
सिद्धान्त जन्मिए
विचार, केही विचार, केही सेल्फस
पालना गरिए गराइए
म मान्न तैयार छैन घुनलाई लुटेरा
किसानको पेटमा कैँची चलाउने
मृगौला चोर डाक्टरजस्तै
कुनै घृणास्पद प्रतीक
म मान्न तैयार छैन
कुनै आस्तिक वा नास्तिकको उपदेश
समात्नु छैन कुनै वादी÷प्रतिवादीको हात
र राख्नु छैन सेल्फसका चक्कीहरू
प्रचुर जीवन बोकेका मकैहरूमा, गहुँहरूमा
र छैन मार्नु
बाजे बराजुदेखि पुज्दै आएका
काला ईश्वरहरूलाई

सेल्फस हाम्रा गहुँ मकैमा किन ?
चिकेन विङग्स्  पेप्सी बेच्ने के.एफ.सी.
पिज्जा हटको आयातित गहुँको पिठो
क्यू.एफ.एक्स. र बीग सिनेमा
मल र सेन्टरहरू
हँसिया, हथौडा, फाली र फरुवा बनाउने
मल्टिनेशनल कम्पनी
ऐन कानुन संबिधान …………….
यी सब छोडेर
सेल्फस हाम्रा गहुँ, मकैमा किन ?

किसानका लागि
एउटा कालो ईश्वर हो घुन
अन्न रहुन्जेल घुन र घुन रहुन्जेल अन्न
घुन नरहेको दिन
एउटा सेल्फस
पृथ्वीको एउटा घुन !
उग्रचण्डी–५,काभ्रे

प्रतिक्रिया