त्रिशूली आयोजनाको क्याम्प खतरामा

डाँडागाउँ (रसुवा), १२ भदौ । चिप्लेटी डाँडाको जमिन धाँजा परेर फाट्दा निर्माणाधीन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको चाइनिज क्याम्पमा खतरामा परेको छ ।
गतवर्षदेखि जमिन धाँजा परेर फाट्न सुरु भएको हो । तर, विगत दुई महिनादेखि धाँजा फाट्ने क्रम बढेपछि चाइनिज क्याम्पलाई खतरा बढ्दै गएको छ । आयोजनामा सिभिल र इलेक्ट्रिोमेकानिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी र परामर्शदाताको काम पनि नर्थ वेस्ट हाइड्रो कन्सल्टेन्सीले गरिरहेको छ । सिभिल कार्यका लागि बनाइएका ती क्याम्पभन्दा ठीकमाथिको चिप्लेटी गाउँको जमिन नै धाँजा परेपछि क्याम्पमा समेत खतरा देखिएको हो । ‘चिप्लेटी गाउँमा जमिनमा धाँजा फाटेपछि आयोजनाको निर्माण कार्यमा सक्रिय चाइनिज कम्पनीका लागि बनाइएका भवनसमेत खतरामा परेका छन्,’ आयोजनाका निर्देशक ऋषिकेश शर्माले भने । उनका अनुसार क्याम्पबाट करिब दुई सय मिटरमाथि जमिन धाँजा फाटेको छ । वर्षामा थप जमिन फाटेर पहिरो गई वा अन्य कारणले क्याम्पमा असर पर्ने सम्भावना बढेपछि अहिले क्याम्पमा असुरक्षित महसुस गर्न थालिएको छ । ‘विगत दुई महिनादेखि चिप्लेटीको जमिनमा धाँजा फाटेकाले हामी असुरक्षित महसुस गर्दैछौँ,’ चाइना कम्पनीका प्रबन्धक वाङले भने, ‘चाँडै यो समस्या समाधान गरेर हामीलाई सुरक्षित बनाउनका लागि आग्रह गर्दछाँै ।’
जमिन धाँजा–धाँजा फाटेपछि त्यसको समाधानका लागि के गर्ने भन्ने अन्योलमा आयोजना देखिएको छ । ‘जमिन धाँजा–धाँजा फाटेको छ, समाधानका लागि के गर्ने भन्ने छलफल भइरहेको छ,’ निर्देशक शर्माले भने, ‘ठूलै समस्या आएमा क्याम्प सार्नुपर्ने अवस्था आउनसक्छ, त्यो आएमा आयोजना समयावधिमा असर गर्नसक्छ ।’ उनका अनुसार त्यसको असरको खतरा रहे पनि अहिलेसम्म आयोजनाको काम प्रभावित भएको छैन भने क्याम्पमाथि बन्ने सुरुङसमेत कुनै असर नगर्ने आशा छ ।
जमिनमा धाँजा फाटेपछि त्यहाँका पाँच घर र चिप्लेटी प्राविमा असर गरिसकेको छ । २८ घरमध्ये पाँच घरलाई अन्यन्त्र सारिएको र अन्य घरलाई समेत उतिकै खतरा छ । दुई वर्षदेखि जमिन धाँजा हुन थालेसँगै स्थानीयबासी विस्थापित हुनथालेको जल तथा उत्पन्न प्रकोप विभागले अध्ययन गरिसकेको छ भने जिल्ला दैवी प्रकोप उद्धार समिति समवन्यमा जिल्ला विकास समिति, गाविस र त्रिशूली आयोजनाले विद्यालय अन्यन्त्र सार्ने तथा विस्थापित परिवारलाई समेत सहयोग गर्न लागेको छ । ‘जमिन धाँजा फाट्दा आयोजनाको क्याम्प तथा स्थानीयबासीलाई पुनस्र्थापना गर्न सक्रिय हुनुपरेको छ,’ निर्देशक शर्माले भने ।
नेपाल विद्युत् प्राधिकरणले चाइनाको एक्जिम बंैकको ऋण सहयोगमा निर्माण गरिरहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य २० प्रतिशत पूरा भएको छ । रसुवा जिल्लाको डाँडागाउँमा बाँध र नुवाकोट जिल्लाको मनकामना गाविसमा निर्माण भइरहेको आयोजना एक वर्षदेखि निर्माण सुरु भएको ६० मेगावाटको उक्त आयोजना मे ०१४ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ । राजधानीबाट ९२ किलोमिटर टाढा रहेको आयोजनाको लागत साढे १० अर्ब छ । ४०९३ मिटर सुरुङ रहेको आयोजनाको अहिलेसम्म ३१७ मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ । १५ महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य प्राधिकरणको छ ।

प्रतिक्रिया