प्रचण्डको सक्कली अनुहार

नेपालीमा उखान छ ‘पानीमा डुबेको मान्छेले सर्पलाई पनि आफ्नो सहारा सम्झन्छ’ यही उखान अहिले नेपालको राजनीतिक वृत्तमा प्रचण्डको हकमा लागू भएको छ । कुनैबेला पैसा नै तिर्नुपरे पनि तिरेर एकपटक देख्न पाए हुन्थ्यो भन्नेसम्मको हैसियत बनाएका प्रचण्ड खुला राजनीतिमा आएको ६ वर्षमा लगभग राजनीतिक रूपले समाप्त हुनै लागिसकेका छन् । अहिले उनको पार्टी एकीकृत नेकपा
(माओवादी) टुक्रामा विभाजित भएको छ । युद्धकालका सम्पूर्ण कार्यकर्ता पछिल्लोपटक टुक्रिएको मोहन वैद्यको समूहमा लागेको त्यस पार्टीका नेताले दाबी गरिरहेका छन् । अहिले एमाओवादीभित्र मौकाको फाइदा उठाउन गएका आयातीत कार्यकर्ता र अकुत सम्पत्ति कमाएका प्रचण्डको पछि लागे सम्पत्ति लुकाउन सकिन्छ भन्नेहरू मात्र बाँकी छन् । तिनीहरूले प्रचण्डको मुक्तकण्ठले प्रशंसा पनि गरेका छन् । प्रचण्डसँग पैसाको लेनदेन गर्नेहरू अझ धेरै प्रशंसा गरिरहेका छन् । उनी नांगै भइसक्दा पनि आहा, कति सुन्दर भनिरहेका छन् ।
कुनैबेला ‘प्रचण्डपथ’ भनेर आन्दोलन छेडेका प्रचण्ड यतिबेला राजनीतिक दृष्टिले स्खलित भइसकेका छन् । हिजोका दिनमा मोहन वैद्य र डा. बाबुराम भट्टराईलाई जुधाएर सधैँ पार्टीमा प्रमुख पद हत्याउन सफल भएका प्रचण्ड पछिल्ला दिनमा आफ्नै सक्कली अनुहार देखेपछि राजनीतिक गुरु मानिएका मोहन वैद्यबाट समेत एक्लिन पुगेका छन् । मोहन वैद्यको बहिर्गमनपछि राजनीतिक भविष्य नदेखेकै कारण राजनीतिका नाममा अपराध गरेर सात खुन माफ खोज्दै काठमाडौंमा मधेसका नाममा राजनीति गरिरहेका विजय गच्छेदार र राजेन्द्र महतोजस्ता व्यक्तिलाई दायाँबायाँ राखेर असैद्धान्तिक मोर्चा गठन गरी त्यसको संयोजक बनेका छन् । उपेन्द्र यादवले बेलामा बुद्धि नपुर्‍याउँदा राजनीति गर्न पाएका भ्रष्टाचारीहरू अहिले प्रचण्डका सेवक बनेका छन् । प्रचण्डले तिनैलाई शक्तिशाली देखेका छन् र भन्दै छन्, ‘हामीले मोर्चा बनाएका छौँ, सहमति नजुटे हामी सडकमै भिडेर छिनोफानो गर्छौं, कांग्रेस एमाले पनि मोर्चा बनाएर आउन् ।’
२०६३ सालको जनआन्दोलनपछि उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी फोरम नेपाल पार्टीले नै तराइमा आन्दोलनको नेतृत्व गर्‍यो । तराईमा भएको आन्दोलन र त्यसले प्राप्त गरेको राजनीतिक उपलब्धिको श्रेय जान्छ भने उपेन्द्र यादवलाई जान्छ । विजय गच्छदार, राजेन्द्र महतो, जयप्रकाश गुप्तालगायतकाहरू धमिलो पानीमा माछा मार्न मात्र गएका थिए । त्यसैले तराईका नाममा गठन भएको पार्टीलाई टुक्राटुक्रा बनाउने काम गच्छदार, महतो, जेपीलगायत नेताले गरे । अब उनीहरूबाट तराईमा केही हुँदैन भन्ने कुरा जनताले प्रस्ट बुझेका छन् । यस्ताले नेतृत्व गरेका तराईका पार्टी, त्यस्तै जनमत नभएका व्यक्तिगत हैसियतमा पार्टी खोलेका नेपाल परिवार दल, जनता दल, नेपाल राष्ट्रिय दलजस्ताका नेता भनाउदाहरू यसो प्रचण्डका पछि लागे केही पाइहालिन्छ कि भनेर च्याँखे थापेर बसेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले भनेझैँ ‘अपराधिक समूह’ को त्यो मोर्चाको कुनै हैसियत छैन । दस वर्ष सँगै युद्ध लडेका मोहन वैद्य, बादल र ६२/६३ को जनआन्दोलनका सहयात्री सुशील कोइराला, माधव नेपाललाई काम नलाग्ने भनिरहनु तर भ्रष्टाचारी गच्छदार र महतोलाई दायाँबायाँ राख्नुले यही भन्दैन र ? तर, बिचरा प्रचण्ड त्यसैलाई ठूलै उपलब्धि भएको ठानेर कुर्लीकुर्ली अरूलाई पनि मोर्चा बनाउन चुनौती दिइरहेका छन् । यो मोर्चा पानीमा डुबेको मान्छेले सर्पको सहारा लिएजस्तै हो भन्ने कुरा उनले चाहिँ बिर्सेका छन् ।
सोझासाझा जनतालाई ठुल्ठूला सपना बाँडेर युद्धका नाममा लडाएर दसौँ हजार नेपालीको रगतमा होली खेले । आफूहरू भने भारतमा घरज्वाइँ बस्दाझैँ बसे । समाजमा रहेको वर्गीय असमानतालाई हटाउने भने तर आफैँ ज्ञानेन्द्रभन्दा बढी सामन्ती बने । जनताका अगाडि आफू सधैँ भारतीय विस्तारवाद र साम्राज्यवादविरोधी नेताका रूपमा राष्ट्रिय स्वाधीनताको पक्षमा लडेजस्तो गरेको नाटकको मुकुन्डो पनि उतारेर असली अनुहार एसडी मुनीले देखाइदिए । त्यसै कारण उनी बेलाबेलामा बर्बराउँछन् र भन्छन् ‘मोर्चामा रहेका बाहेक अरू सबै संघीयताविरोधी हुन् ।’ जनतालाई झुक्याउने सारा कुरा सकिएपछि पछिल्लोपटक प्रचण्डको पार्टी एमाओवादीले जातीय राज्यको नाटक रचेको छ । आफूबाहेक अरूलाई संघीयताविरोधी बनाउन खोज्दै छन् । त्यसबाट केही समय जनजातिलाई झुक्याएर नेता हुन खोज्दै छन् । बांगा कुरा गरेर केही मान्छेलाई एक–दुईपटक अलमल्याउन सकिन्छ तर सधैँभरि सबैलाई अलमल्याउन सकिँदैन । जनताले प्रचण्डको विलासी र चटके चरित्रलाई देखिसकेका छन् भने जनजाति मात्र अनभिज्ञ होलान् त ? उनले किन जातीय राज्यको नारा लगाउँदै छन् ? त्यसको पनि छिट्टै पर्दाफास अवश्य हुनेछ ।
प्रचण्डमा राजनीतिकभन्दा पनि व्यापारीक सोच बढी भएको देखिन्छ । उनी पैसामा धेरै रमाउँछन् र पैसा आउने बाटोको खोजी गरिरहन्छन् । युद्धताका राज्य र जनताको सम्पत्ति लुटेर थुपारे । खुला राजनीतिमा आएपछि लडाकु शिविरमा नक्कली पात्र बनाएर राज्यकोषको अर्बौं रुपियाँ कुम्ल्याए । प्रचण्डका लागि सुनको अण्डा पार्ने गरेका लडाकु शिविरहरू जब राज्यको मातहतमा आए त्यसपछि उनको ध्यान जनजातितर्फ मोडिएको छ । यो देशमा जनजातिका नाममा विदेशीले सबैभन्दा धेरै लगानी गरेका छन् । जनजातिका नाममा विदेशीले दिने पैसामा उनको आँखा गएको छ । त्यसैले जनजातिले जातीय राज्यको माग गर्न छाडे पनि जनजातिभन्दा कैयौँ गुणा अगाडि बढेर जातीय राज्यको हवाला दिँदै छन् । जनजातिका नाममा राजनीति गरी लुटी खान पल्केका केही नेता र तिनैका नाममा एनजिओ चलाउने धनाढ्यहरू ‘तै नि भइहाले पद खाऊँला’ भनेर पछि–पछि लागे पनि कार्यकर्ताले प्रचण्डलाई शिरदेखि पाउसम्म चिनेका छन् । अब प्रचण्डका पछाडि कोही लाग्नेवाला छैनन् । साँचो अर्थमा प्रचण्डका पछाडि लागेकाहरू आज को पछुताएका छैनन् र ? अब पनि जो–जो उनको टुनामुनामा लाग्छन् तिनको हालत पनि सहिद परिवारको जस्तै हुने छ । यो बुझिसकेपछि पदको आशामा पछाडि लागेका जनजातिले पनि छाड्नेछन् त्यसपछि प्रचण्ड राजनीतिक क्षितिजबाट हराउनै लाग्दा आफैँले तयार पारेको गौतम बुद्धको नाममा एनजिओ चलाउन थाल्नेछन् । त्यहाँ पनि उनको सक्कली अनुहार देखिएपछि काठमाडौंका रेस्टुरेन्ट र डान्सबारको डन भएर बस्नेछन् । अहिले गठन गरेको गणतान्त्रिक मोर्चा त्यसैको सुरुआत हो । यसलाई अन्यथा नलिए हुन्छ ।

प्रतिक्रिया