प्रचण्ड र गच्छदारको पार्टी एउटै हो

तपाईंहरू नयाँ पार्टी गठन गरुन्जेलसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा छाउनुभयो । तर, पार्टी बनेको दुई महिनामै निक्कै सामसुम पो देखिनुभयो ?
राष्ट्रिय राजनीतिमा अहिले तपाईं कुनचाहिँँ पार्टीका गतिविधिहरू देख्नुहुन्छ र ? बर्खाको मौसम छ, खेतीपातीको सिजन छ, राष्ट्रिय चाडहरू आउँदैछन् । यो बीचमा कसैले ठुल्ठूला सडक आन्दोलन वा जुलुस, सभाहरू खोजेको हो भने त्यो एक/दुई महिना अझै सम्भव छैन । अहिले हामी आन्तरिक काममा व्यस्त छौँ । एक चरण केन्द्रीय समिति हुँदै जिल्ला र गाउँसम्म पुग्यौँ । अनि, भर्खरै पोलिटब्युरोको बैठक बस्यो, फेरि १४ गते केन्द्रीय समितिको बैठक बस्छ । त्यसपछि हामी आन्दोलनलाई जोडेर जाने तयारीमा छौँ । राष्ट्रियता, जनजीविका र जनतन्त्रका विषयहरूलाई लिएर हामी आन्दोलनको सुरुआतको प्रक्रियामा छौँ । व्यवस्थित पार्टीविना तपाईंले आन्दोलन पनि व्यवस्थित रूपमा अगाडि लैजान सक्नुहुन्न । त्यसैले व्यवस्थित पार्टी पनि बनाउँदै हामी वस्तुगत सापेक्षताका आधारमा संघर्षका कार्यक्रमहरू ल्याउँछौँ ।
तपाईंहरूको पार्टीको आन्दोलनको स्वरूप कस्तो हुन्छ ?
अहिले ठुल्ठूला आन्दोलन हुन सक्दैनन् । अहिलेको सिजनले पनि त्यो सकिँदैन । त्यसपछि हाम्रो पार्टीको महाधिवेशन पनि हुँदैछ । हामी त्यसमै केन्द्रित छौँ । सदस्यता नवीकरण, पार्टीका भेलाहरू र महाधिवेशन अहिलेको हाम्रो प्रमुख आन्तरिक काम हुन् । त्यसपछि जनवर्गीय, पेसागत, क्षेत्रीय मोर्चाहरूको भेला र सम्मेलन गर्ने योजनामा छौँ । त्यसकारण हाम्रो पहिलो काम शक्ति सुदृढीकरण र संगठन विस्तारमा हुन्छ । त्यो नगरीकन बाहिर केही पनि गर्न सकिँदैन । त्यसपछि राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र राष्ट्रियताका कुराहरूलाई मागपत्र/ज्ञापनपत्रमार्फत अगाडि बढाइरहेका छौँ । त्यसपछि मात्रै हामी धेरैले अपेक्षा गरेजस्तो ठूलो आन्दोलनमा जान्छौँ ।
त्यसो भए अरू पार्टीहरूको विरोध वा आन्दोलनको शैली र तपाईंहरूकामा केही फरक हुँदैन हैन ?
तात्कालिक हिसाबले अरूको जस्तै लाग्न सक्छ । तर, दीर्घकालीन रूपमा हामी नेपालको राज्यसत्तामा कब्जा चाहन्छौँ । सामन्त, दलाल र नोकरसाहीहरूको जुन राज्यसत्ता छ, हामी त्यसमा पूर्णरूपले परिवर्तन चाहन्छौँ । यी सबै गर्दै जाँदा अन्तिम रूपमा आन्दोलनले जनविद्रोहको रूप लिन्छ ।
एकथरीले त तपार्इंहरूले भन्ने गरेको जनविद्रोहको कुरा घुर्की मात्रै हो पनि भनिरहेका छन् नि ?
होइन, त्यसका बारेमा हामीलाई कसैले सर्टिफिकेट दिइरहनु पर्दैन ।
राष्ट्रिय स्वाधीनता, जनताको हितका कुरा त तपाईंहरूको पुरानो पार्टीले पनि गरिरहेकै छ नि, किन नयाँ पार्टी नै चाहिएको ?
हामीलाई नेतृत्वले गम्भीर धोखा दियो । नेतृत्वबाट धोखा पाएपछि हामी सम्बन्धविच्छेद गरेर आएका हौँ । प्रचण्ड–बाबुरामहरूले अहिले राष्ट्रिय स्वाधीनताको कुरा गरेर कसले पत्याउँछ ? गच्छदार (विजयकुमार) सित गठबन्धन गरेर, राजेन्द्र महतोहरूसित गठबन्धन गर्दै उहाँहरूले राष्ट्रिय स्वाधीनताको कुरा गरेर राष्ट्रलाई स्वाधीन बनाउन सक्नुहुन्छ ? उहाँले क्रान्तिकारी भूमिसुधार व्यवस्था लागू गर्न सक्नुहुन्छ ? उहाँले जनजीविकाका सवालहरूमा काम गर्न सक्नुहुन्छ ? सक्दै सक्नुहुन्न ।
तपाईंका अनुसार त प्रचण्ड–बाबुरामजीहरूको पार्टी गच्छदार वा राजेन्द्र महतोजीहरूको पार्टीजस्तै भयो ?
हो नै त्यस्तै । प्रचण्ड आफैँ हाम्रो पार्टीएकता हुन सक्छ भनेर बोल्दै हिँड्नुभएको छ । मोर्चा पनि त्यसैको आधार हो भन्नुभएको छ । त्यत्तिकै त उहाँले बोल्नुभएको होइन । अब त्यस्तो पार्टी कस्तो पार्टी होला ? त्यो पार्टीलाई जनताको पार्टी भन्न सकिन्छ ? त्यस्तो पार्टीले श्रमजीवी, महिला, दलित, पिछडिएको क्षेत्रलाई मुुक्ति दिन सक्छ ? अहिले मुलुकमा देखिएको समस्याको निकासको बाटो के हो ?
हामीले गोलमेच सभाबाट निकास दिन सकिन्छ भनेका छौँ । गोलमेच सभाबाटै सहमति गरौँ भनेका छौँ । त्यो भएन भने सडक आन्दोलनबाट निकास निकाल्नुपर्छ । हामीले त्यसका लागि पहल पनि गरेका छौँ । एकपटक सबै दललाई राखेर छलफल पनि गरेका थियौँ । उक्त छलफलमा २४ वटा पार्टी सहभागी थिए ।
सरकारमा भएका दल एउटा मोर्चा बनाएर हिँडेका छन्, कांग्रेस–एमालेहरूको अर्कै गठबन्धन छ, तपार्इंहरूको छुट्टै मोर्चा छ । तीनतिर फर्केका दलहरू कसरी एकैठाउँ आउँछन् ? जनताले कसको कुरा पत्याउने र कसलाई विश्वास गर्ने ?
जसले काम गर्छ उसैको कुरा पत्याउने नि जनताले । बोलेको कुरा व्यवहारमा जसले लागू गर्छ उसैले भनेको मान्ने हो । प्रचण्ड–बाबुरामको मोर्चाले केही गर्दैन भन्ने कुरा जनताले राम्ररी बुझिसकेका छन् । सत्ताभन्दा बाहिर नजाने र सत्ताकै माग कांग्रेस–एमालेले गरिरहेको छ । अस्ति भर्खरै पनि केही दिनका लागि सरकारमा पुगेर फर्केका हुन् उनीहरू । यो कुरा त सबैले बुझिसकेका छन् नि ।
तपाईंहरूचाहिँ सरकारमा जानुहुन्न ?
होइन, किन नजाने ? हामीले त सहमतीय सरकारको कुरा गरिरहेका छौँ । सहमतिको सरकार बन्यो भने हामी सरकारमा जान्छौँ । त्यस्तो सरकारको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ भनेर दाबीसमेत गरिरहेका छौँ ।
केही दलहरूले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्छ । प्रधानमन्त्रीले नमाने राष्ट्रपतिले उनलाई हटाउनुपर्छ भनिरहेका छन् । तपार्इंको पार्टीको धारणा के हो यस सम्बन्धमा ?
राष्ट्रपतिले सरकार बनाइदिने होइन, ‘बनाऊं भन्ने हो । संवैधानिक राष्ट्रपतिले कार्यकारी अधिकार प्रयोग गर्ने होइन । सहमति कायम गरेरै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । त्यो नभए सडक आन्दोलन नै हो विकल्प । अधिकार नभएका राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर भनेर हामी भन्दैनौँ ।
तपाईंहरूले पनि त सार्वजनिक रूपमै बाबुरामले बालुवाटार नछाडे गलहत्याएर निकाल्नुपर्छ भनेर भनिराख्नुभएको छ नि ?
हामीले त्यसो भनेका छैनौँ । हामीले सहमतिको कुरा नै गरेका छौँ । बाबुराम एक मिनेट पनि कुर्सीमा बस्नुहुन्न भनेर भनेका छौँ । अहिले पनि उनी सहमतिमा नआएर कुर्सीमै टाँस्सिरहने हुन् भने सडक आन्दोलनबाट हटाउनुपर्छ ।
तपाईंहरूले त बाबुराम भट्टराईलाई इतिहासकै नालायक प्रधानमन्त्रीका रूपमा दर्ज पो गरिरहनुभएको छ नि ?
उहाँ इतिहासकै नालायक पात्र हो । किनभने व्यवस्थापिका–संसद्समेत नरहने गरी संविधानसभा भंग गरे, योभन्दा जनविरोधी काम अरू के हुन सक्छ ? हिजो बिपी कोइरालाले गण्डक, मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा कोसी, गिरिजाप्रसाद कोइराला हुँदा टनकपुर, एमालेको समर्थनमा एकीकृत महाकाली भनेर पञ्चेश्वर भारतलाई सुम्पिने काम भयो । बाबुरामले त एकैपटकमा राष्ट्रका साधन स्रोत, राष्ट्रिय स्वाधीनता सबै गुमाए त । अपर कर्णालीदेखि अरुण तेस्रोसम्म, उच्चकोसी बाँध पनि दिने कुराको तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा भारतलाई दिने कुरा गरे । सुरक्षा व्यवस्था नै भारतको जिम्मा लगाउनु भनेको सबै कुरा दिनु हो । बिप्पा गर्नु भनेको नेपालको सबै अर्थतन्त्र भारतलाई बुझाउने कुरा हो । यति धेरै राष्ट्रघात त कसैले पनि गरेनन् । यो त नेपाललाई नयाँ सिक्किम बनाउने काम हो । नयाँ लेन्डुप दोर्जेको भूमिका बाबुरामजीले निर्वाह गरिरहेका छन् ।
अनि, बाबुराम भट्टराईको पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भूमिका नि ?
उहाँ ती सबै कामको पूरक हो । योजना सबै बाबुरामका हुन्, ती सबैलाई संरक्षण गरेर लागू गराउन भूमिका खेल्ने प्रचण्ड पनि हुन् ।
भनेपछि हिस्सेदारी बराबरी भयो ?
होइन, त्यति पूरै त होइन । अहिले भएका राष्ट्रघात र जनघातको नायकत्व त बाबुरामले नै गरेका छन् । सरकारले गरेका कामको सबै जिम्मा प्रचण्डले लिन सक्ने भएनन् । सरकारबाहिरका गतिविधि, जस्तो: संविधान लेख्न नदिनेलगायतका विषयमा प्रचण्डजीको नेतृत्व हो ।
दुवै माओवादीले पार्टीएकताको कुरा पनि गरिराखेकै छन् । पार्टीएकता सम्भव छ ?
हामीले प्रचण्ड–बाबुरामजीको सुधारवादी नवसंशोधन कार्यदिशा मानेनौँ र सम्बन्धविच्छेद गरेर आएका हौँ । अब प्रचण्ड–बाबुरामहरू नेकपा–माओवादीको विचार र कार्यदिशा मानेर आउनुभयो भने हामी स्वागत नै गर्छौं ।
त्यस्तो सम्भावना होला र ?
संसारमा सम्भावना त जेको पनि हुन्छ, त्यसैले अहिल्यै सम्भावना छैन भनेर नभनौँ । मानेर आए ठीकै छ ।
पार्टीको सम्पत्ति बाँडफाँड गर्न दुवै पार्टीका सदस्य रहेको कार्यदल बनाउनुभएको थियो । कहाँ पुग्यो अंशबण्डाको कुरा ?
बाँडफाँड भनेको यस्तो थियो, जो जहाँ बसेका थिए, त्यसले त्यहीँको सम्पत्ति प्रयोग गरे पुगिहाल्छ भन्ने थियो । तर, केही ठाउँमा उहाँहरू (एमाओवादी) सरकारको बल प्रयोग गरेर आक्रमण गर्न आएपछि घटनाहरू भए । हामीले यस्ता घटना नघटाऔँ, सबैलाई मिलाएर अगाडि जाऔँ भनेर भनेका हौँ । वार्ता गरौँ भन्ने कुरा भयो, वार्ताबाट कार्यदल बनाइयो । कार्यदलले विभिन्न गृहकार्य गरेको छ । अनि, अहिले दुईवटा पार्टीका अध्यक्ष बसेर त्यसलाई फाइनल गर्दै छन् ।
भनेपछि दुई भाइ छुट्टिँदा बराबरी अंश लिएजस्तो आधा सम्पत्ति लिनुहुन्छ ?
निश्चित रूपमै लिन्छौँ । सबैको सम्पत्ति हो त्यो । प्रचण्ड कमरेडले घरबाट ल्याएर जोडेको सम्पत्ति होइन, त्यतिबेला पार्टीमा सबैभन्दा कम सम्पत्ति भएको व्यक्ति प्रचण्ड हो । बाबुरामजीले पनि केही ल्याएका होइनन् । त्यो सबै आन्दोलनमा सबैको त्याग, तपस्या, बलिदानबाट कायम भएको हो । पार्टी विभाजन भएपछि समानुपातिक ढंगले त्यसको वितरण हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यस्तो गर्दा के बिग्रिन्छ र †
कति छ एकीकृत माओवादीको सम्पत्ति ? तपाईंहरूले कति पाउँदै हुनुहुन्छ ?
यो कुराको त्यहीँ हिसाब हुन्छ । हामी समानुपातिक वितरण होस् भन्ने चाहन्छौँ, त्यत्ति हो ।
महाधिवेशनको मिति तोक्नुभएको छ । महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्न नयाँ व्यक्ति आउँछ कि मोहन वैद्यलाई नै फेरि नेता बनाउँछ ?
यो अहिले नै गर्ने कुरा होइन । हामी महाधिवेशनमा लागेका छौँ । त्यहाँबाट नेतृत्व छान्ने र छानिने काम हुन्छ । पार्टी जीवनमा महाधिवेशन भनेको सर्वोच्च निकाय हो । त्यो सर्वोच्च निकायले भोलि गर्ने निर्णय मैले अहिले नै कसरी भन्न सक्छु ? भन्न पनि मिल्दैन । तर पनि किरण (वैद्य) हाम्रो नेता हुनुहुन्छ ।
अहिलेसम्म त उहाँ (वैद्य) नै हुनुहुन्छ कि, महाधिवेशनबाट पार्टीको कमान युवाले लिने हुन् कि भनेको ?
पार्टीमा युवा नेता अहिले पनि छन् नि । कसैले रोकेको छैन युवालाई । युवा, अलि वृद्ध र वृद्ध सबै छन् । महाधिवेशनले लिने निर्णय र निकाल्ने निष्कर्ष म अहिले नै कसरी भन्न सक्छु र ? भने पनि त्यही हुन्छ भन्ने हुँदैन ।
तपाईंहरूको पुरानो पार्टीमा त नेताको सम्पत्ति छानबिन गर्ने काम भइरहेको छ त ?
त्यो सब नाटक हो ।
कसरी नाटक भयो र त्यो ?
किन होइन नाटक ? छानबिन नै गर्ने हो भने अध्यक्षलाई, उपाध्यक्षलाई निलम्बन गरेर पो छानबिन गर्नुपर्‍यो । छानबिनको सामान्य प्रक्रिया पनि त्यही हो । अहिले हेर्नोस् त, अध्यक्ष उपाध्यक्षहरूको सम्पत्ति छानबिन उनीहरूकै मातहतका व्यक्तिले गर्ने रे । उहाँहरू पदमै रहेका बेला ती बिचरा पोलिटब्युरो सदस्यहरूले के छानबिन गर्छन् ? त्यसकारण सबै नाटक मात्रै हो ।
प्रस्तुति : खगेन्द्र पन्त

प्रतिक्रिया