कमरेड, कहिले छाड्ने यो घर ?

काठमाडौं, १० भदौ । एक महिनाअघि सम्पन्न एमाओवादीको सातौं विस्तारित बैठकले गरेका निर्णय कार्यान्वयनमा अध्यक्ष पुष्पकमल दाहालले नै रुचि देखाएका छैनन् । लाजिम्पाटमा उनी बस्दै आएको आलिसान घर चाँडै छाड्ने निर्णय बैठकले गरेको थियो । तर, महिना दिन बित्दा पनि दाहालले घर छाड्ने सुरसार देखाएका छैनन् ।

नेताहरूको जीवनशैली विलासी भएको भन्दै कार्यकर्ताले चर्को आलोचना गरेपछि विस्तारित बैठकले दाहालले बस्दै आएको आलिसान घर छाडेर सामान्य घर लिने र सरकारी महँगो गाडी फिर्ता गर्ने निर्णय गरेको थियो । बैठकको २/३ दिनमै अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्दै आएको सरकारी गाडी फिर्ता गरे । त्यसपछि पनि उनी पार्टी स्वामित्वको सुविधासम्पन्न मित्सुबिसी गाडी चढ्छन् । तर, आफैँले घोषणा गरेको घर छाड्ने निर्णय कार्यान्वयन गर्न भने दाहालले खासै चासो देखाएका छैनन् ।
एमाओवादी शान्तिप्रक्रियामा आएपछि दाहाल नयाँबजारमा घर भाडामा लिएर बस्दै आएका थिए । गत माघ पहिलो साता लाजिम्पाटमा आलिसान घर भाडामा लिएपछि उनी नयाँबजारबाट सरेका थिए । एउटै कम्पाउन्डमा रहेका अढाईतले दुईवटा घरको उनले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएका छन् । दाहाल नयाँबजारबाट सर्नुअघि झन्डै दुई महिना लगाएर मर्मत–सम्भार र रंगरोगन गरेर घर सिँगारिएको थियो ।
लाजिम्पाटको सांग्रिला होटल नपुग्दै दायाँपट्टि छिरेर करिब डेढ सय मिटर अगाडि गएपछि दाहालनिवास पुगिन्छ । कम्पाउन्डभित्र साढे दुईतले दुईवटा घर छन् । आँगनमा सिलेट/ढुंगा ओछ्याइएका छन् भने परिसरमा बगैँचा पनि छ । फराकिलो कम्पाउन्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने ठाउँ पनि छ ।
विस्तारित बैठकले अध्यक्ष दाहाल र उपाध्यक्षद्वय प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको निजी सचिवालयका कर्मचारी साटासाट गर्ने निर्णय पनि गरेको थियो । नेताहरूको सचिवालयमा कर्मचारी राख्ने काम पार्टी निर्णयबाट गरिने विस्तारित बैठकको निर्णय थियो । तर, नेताहरू नै कर्मचारी साट्न वा सरुवा गर्न तयार नरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले विश्वदीप पाण्डेलाई स्वकीय सचिव राखेका छन् भने अर्का उपाध्यक्ष श्रेष्ठले भने सुसन कर्माचार्यलाई । सुसन कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यकी भतिजी हुन् । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराई र उपाध्यक्ष श्रेष्ठले पाण्डे र सुसनलाई सचिवालयबाट सार्न मानेका छैनन् । ‘उहाँहरूले सार्न मान्नुभएको छैन । स्वकीय सचिव फेर्दा काम गर्न असजिलो हुन्छ भन्ने उहाँहरूको भनाइ छ,’ एक माओवादी नेताले सौर्यसँग भने ।
अध्यक्ष दाहालका स्वकीय सचिव समीर दाहाललाई भने शुक्रबार मात्रै सरुवा गरिएको छ । उनलाई नेवा: राज्य समितिमा सरुवा गरिएको स्रोतले जनाएको छ । उनको ठाउँमा सन्तु दराईलाई ल्याउने मनस्थिति अध्यक्ष दाहालले बनाएका छन् । दराई पूर्वजनमुक्ति सेनाका कमान्डर हुन् । त्यस्तै, केन्द्रीय कार्यालयमा रहेका शिव खकुरेललाई पनि सचिवालयमा ल्याइएको छ ।
एमाओवादी नेता गिरिराजमणि पोखरेलले विस्तारित बैठकले गरेका सबै निर्णय कार्यान्वयन हुने बताए । ‘अध्यक्षका लागि घर खोज्ने काम भइरहेको छ, मान्छे खटाइएका छन् । विस्तारित बैठकले गरेका अरू निर्णय पनि सबै कार्यान्वयन हुन्छन्,’ उनले भने ।
नारायणकाजी ‘माइनस’
काठमाडौं : विस्तारित बैठकमा पार्टीभित्रको गुटबन्दी अन्त्य गरेर सबै नेता एकढिक्का भएको घोषणा पार्टी नेतृत्वले गरेको थियो । तर, महिना नबित्दै गुटबन्दी अन्त्य हुनुको सट्टा बढ्दै गएको छ ।
पार्टी एकता गरेर एमाओवादीमा प्रवेश गरेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एक्ल्याउन थालेका छन् । विस्तारित बैठकपछि विभिन्न राज्य समितिमा पार्टीले गरेका प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष श्रेष्ठलाई लगेका छैनन् । अधिकांश कार्यक्रममा दाहाल र भट्टराई मात्रै गएका छन् । एमाओवादीले विस्तारित बैठकपछि मगरात, ताम्सालिङ, थारुवान, सेती–महाकाली, नेवा:, कोचिला, लिम्बुवान राज्य समितिमा प्रशिक्षण कार्यक्रम गरिसकेको छ । ती अधिकांश कार्यक्रममा उपाध्यक्ष श्रेष्ठलाई लगिएको छैन ।

स्रोतका अनुसार विस्तारित बैठकमा उपाध्यक्ष श्रेष्ठले ‘बढी राष्ट्रवादी कुरा गरेको’ भन्दै दाहाल र भट्टराई रुष्ट बनेका छन् । श्रेष्ठ र उनी पक्षधर कार्यकर्ताले विस्तारित बैठकमा भारतसित भएको बिप्पाको विरोध गरेका थिए । त्यसका अतिरिक्त कांग्रेस र एमाले पनि यही सरकारमा सहभागी रहेको समयमा पटक–पटक ‘राजीनामा दिन्छु’ भनेर घुक्र्याएको भन्दै अध्यक्ष दाहाल पनि उनीसित असन्तुष्ट रहेको स्रोतको दाबी छ ।
अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले आगामी महाधिवेशनलाई ध्यानमा राखेर उपाध्यक्ष श्रेष्ठलाई प्रशिक्षण कार्यक्रममा सहभागी नगराएको स्रोतको दाबी छ ।
एमाओवादी नेता गिरिराजमणि पोखरेलले भने कार्यव्यस्तताका कारणले मात्रै उपाध्यक्ष धेरै प्रशिक्षण कार्यक्रममा सहभागी हुन नपाएको दाबी गरे । ‘हेर्नोस् मन्त्री भएका मान्छेलाई कार्यक्रममा ल्याउन सजिलो छैन । उहाँ(श्रेष्ठ)लाई जानाजान कटाइएको होइन, एक/दुई कार्यक्रममा प्रधानमन्त्री भट्टराई पनि उपस्थित हुनुभएको छैन, व्यस्तताले हो,’ उनले भने ।

प्रतिक्रिया