साहित्य हात्तीछाप चप्पलजस्तो होइन

रामेछापको मन्थलीमा जन्मेका, जनकपुर, काठमाडौं र विदेशमा शिक्षा लिएका र २० को मध्यदशकदेखि नेपाली साहित्यमा प्रवेश गरेका उपन्यासकार, कथाकार, कवि जगदीश घिमिरे जीवनको उत्तराद्र्धमा मात्र साहित्य लेखनमा पुन: क्रियाशील भए । लेखनमा विद्रोहको टड्कारो हस्ताक्षर घिमिरेका कथाहरू अझै पनि सान्दर्भिक र सामयिक लाग्छन् । उनका ‘लिलाम’, ‘साबिती’, उपन्यास, ‘अग्निसूत्र’ कवितासंग्रहलगायत कृति प्रकशित छन् । माइलोमा क्यान्सर पीडित उनले जब ‘अन्तर्मनको यात्रा’ नामक आत्मालाप लेखे, उनलाई पुरस्कार र सम्मानले पछ्याउन थाले । बढी वाक्पटु जगदीश छोटा र धारिला वाक्य रचनाका कारण चर्चामा छन् । उनी अहिले चोभारमा बस्छन् र लेखनमा समर्पित रही साहित्यिक कार्यक्रममा उपस्थित भइरहन्छन् ।

अहिले के लेख्दै हुनुहुन्छ ?
उपन्यास ।
कुन अवस्थामा छ ?
असोजको पहिलो सातामा लोकार्पण गर्ने योजनामा छु ।
के नाम राख्नुभयो ?
‘सकस’ ।
सकस ?
हो सकस–कठोर दु:ख, पीडा अनि कष्ट ।
त्यसको ‘जिस्ट’ के होला ?
यसमा मैले नेपालको करिब अढाई सय वर्षदेखिको ‘द्वन्द्व’ ले गर्दा नेपाली जनसाधारणले पाएको सकसको कथा लेख्ने प्रयत्न गरेको छु ।
ठूलै छ कि ?
विषयले त मैले लेखेजस्तो दसवटा उपन्यास माग्छ होला । तर, मैले एक लाख जति शब्दमा लेखेको छु ।
‘सकस’को सफलताका लागि अग्रिम बधाई । अब अरू विषयमा प्रवेश गरौँ कि ?
हुन्छ ।
तपाईंको लेखाइमा नितान्त निजी कुरा बढी हुन्छ भनिन्छ । त्यो पढेर पाठकलाई के लाभ होला र ?
त्यसो भन्नेले मेरो ‘अन्तर्मनको यात्रा’ बाहेक अरू आठवटा पुस्तक र अनेक फुटकर रचना पढेको छैन । अर्को कुरा, साहित्य लेखन र पठन लाभहानिको व्यापार होइन । सर्जकले आफ्नो मनखुसीले लेख्छ । पाठकले आफ्नो मनखुसीले पढ्छ वा पढ्दैन । पुस्तक उत्पादनको लागत हुन्छ । त्यसको व्यापार हुन्छ । साहित्यको व्यापार हुँदैन । कुन साहित्यकारले साहित्यको व्यापार गरेको छ ? कसैले गरेको छ भने त्यो त्यसको व्यापारी अवतार हो, साहित्यकारको अवतार होइन, महाभारतमा त्यसका लेखक व्यासले उनका बा पराशर र आमा सत्यवतीको कसरी/कहाँ भेट भयो, र किशोरी सत्यवतीले नमान्दा नमान्दै बूढा पराशरले कसरी झलमल्ल घाम लागेको बेला वारी पारीका मुनीहरूले हेर्दा हेर्दे डुँगामा समागम गरेर उनी जन्मिए भनेर लेखेका छन् । अनि उनले कसरी जिउभरि घिउ दलेर विधवा बुहरी र दासीलाई नियोग गरेर धृतराष्ट्र, पाण्डु र विदुरलाई जन्माए भनेर लेखेका छन् । त्यो व्यासको कति ‘नितान्त निजी’ कुरा हो कि होइन ? धेरैले मेरो ‘अन्तर्मनको यात्रा’ मात्र पढेर मूल्यांकन गर्न चाहन्छन् । मानौँ मैले अरू केही लेखेकै छैन । त्यो मेरो आत्मसंस्मरण हो । आत्मसंस्मरणमा आफ्ना कुरा नभए कसका हुन्छन् ? नेपाली भाषाको एउटा सर्वश्रेष्ठ कविता कुन हो ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ । त्यो नितान्त निजी कविता हो । साहित्यमा निजी वा ननिजी प्रश्न भन्ने हुँदैन । गतिलो र नगतिलो भन्ने मात्र हुन्छ ।
तपाईंलाई कुनबेला पुरुषत्व प्राप्तिको भान हुन्छ ?
भानको अर्थ भ्रम हो । मलाई पुरुषत्वको भ्रम छैन । म जन्म र कर्मले पुरूष हुँ ।
तपाईंको लेखाइ वास्तविकता हो कि जीवन यस्तो भइदिए हुन्थ्यो भन्ने कल्पना हो ?
हो र होइन । आजसम्म कसैले जीवन जस्तो छ ठ्याक्कै तेस्तै लेख्न सकेको छैन । जीवन र साहित्यको फरम्याट मिल्दैन । कसैले कसैलाई मार्‍यो वा माया गर्‍यो भनेर लेख्दा न मारेको देखाउन सकिन्छ, न माया गरेको देखाउन सकिन्छ । केवल शब्दले वर्णन गर्न सकिन्छ । त्यसमा सन्दर्भअनुसार वास्तविकता वा यस्तो भएदिए हुन्थ्यो भन्ने भावना हुन्छ पनि हुँदैन पनि । त्यो सन्दर्भमा भर पर्छ, फर्मुलामा होइन ।
लेखाइमा अभिव्यक्त गरिने सबै कुरामा काव्यात्मक सहभागितालाई कति स्वीकार गर्नुहुन्छ ?
साहित्य सिर्जनामा काव्यात्मकता हुन्छ नै ।
कसका लागि लेख्नुहुन्छ ?
आफ्नो र पाठकका लागि ।
कथाका पात्रहरूलाई बोधगम्य बनाउन कत्तिको जरुरी ठान्नुहुन्छ ?
म बुझिने लेख्नुपर्छ भन्ने मान्यता राख्छु ।
अधिकांश कथाकार घटना मात्र प्रस्तुत गर्छन् । कतिपयचाहिँ घटनाबाट टाढा भएर सिद्धान्त मात्र फलाक्छन् । साहित्यमा सिद्धान्त र आख्यानको सन्तुलन कसरी तय गर्ने ?
अरूका कुरा अरूसँग सोध्नु उचित हुन्छ । म सिद्धान्त सिरान हालेर साहित्य सिर्जना गर्दिनँ । रचनात्मक लेखन कला हो । रचनात्मक साहित्य सिर्जना गर्ने कलाकार हो ।
साहित्य र धर्मबीचको साँधसिमाना खुट्याउनु कत्तिको जरुरी छ ?
धर्म संस्कृतिको अंश हो । मान्छेको जीवनको समग्रता लेख्दा धर्म अधर्मका कुरा पनि आउँछन् । साहित्य कला हो, कला सिर्जना गर्दा हरेक ठाउँमा धर्म घुसार्नु पर्दैन । यो पनि प्रसंग र सन्दर्भमा भर पर्ने कुरा हो ।
‘ठूला’ भनाउदा लेखकहरूले सामथ्र्य भएका नयाँ लेखकलाई उठ्न दिएनन् भन्ने आरोप छ नि †
ठूला भनाउदा लेखक को हुन् र तिनले नयाँ लेखकलाई कसरी थिचेर उठ्न दिएका छैनन्, त्यो मलाई थाहा भएन ।
यहाँ कस्तो साहित्य लेखियो भन्दा पनि कसले लेख्यो भन्नेमा बढी चासो राखिन्छ । यस्तो किन हुन्छ ?
मलाई त्यस्ता गफमा चासो छैन । जसलाई चासो छ उसलाई थाहा होला ।
लेखक बजारअनुसार चल्नुपर्छ कि आफैँ बजार क्रिएट गर्नुपर्छ ?
हात्तीछाप चप्पल बजारअनुसार, ग्राहकका गोडाको नापअनुसार निर्माण गरिन्छ, साहित्य होइन । साहित्य ‘मार्केट रिसर्च’ गरेर उत्पादन, वितरण गरिने वस्तु होइन ।
कथा/कविता लेखनका पुराना दिनहरू कस्ता थिए ?
गज्जबका थिए । थोरै पत्रिका थिए । थोरै लेखक थिए । सबैजसोसँग चिनजान, मैत्री हुन्थ्यो ।
नेपाली कथामा के खट्किरहेको छ भन्ने लाग्छ ?
कथामा मात्र होइन, नेपालमा मात्र होइन, संसारैभरिका भाषा र साहित्यका सबै विधामा संख्याको अनुपातमा गुणस्तरको कमी हुन्छ । नेपाल मात्र अपवाद छैन । जे पनि राम्रा थोरै हुन्छन् । राम्रा धेरै हुनु राम्रो हो ।
आफ्ना कथाहरूको लामो आयुप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
त्यस कुराको मलाई चासो छैन । मेरो वशमा मेरो राम्रो लेख्ने प्रयत्न मात्र हुन्छ, अरू कुरा होइन ।
तपाईंले लामो समय विदेशी एनजिओ/आइएनजिओमा बसेर काम गर्नुभयो । त्यहाँ बिताएका व्यक्तिगत भोगाइ लेखाइमा कत्तिको आउँछन् ?
तिनमा ‘नितान्त निजी’ कुरा हुन्छन् भनेर नलेखेको । लेख्ने अरू धेरै महत्त्वपूर्ण कुरा छन् भनेर जनसाधारण कुरा– ‘सकस’ उपन्यास लेखेको ।
कथामा आवेग जरुरी हुन्छ कि विवेक ?
त्यस्तो केही ‘फर्मुला’ हुँदैन । कथ्य हुन्छ, शिल्प हुन्छ, पात्र र परिस्थिति हुन्छन् । तिनीहरूसँग न्याय गर्न सक्नुपर्छ ।
नयाँ पुस्तामा त्यस्ता लेखक को छन्, जसलाई तपाईंले दिमागी पत्रे–चट्टानमा सुरक्षित राख्नुभएको छ ?
कति छन् कति । गनिसाध्य छैन । त्यसैले कसैको पनि चर्चा नगरौँ ।
नेपाली आख्यानले राजनीतिलाई कसरी प्रभावित पारिरहेको छ ? र, हाम्रो साहित्य यो मामिलामा कत्तिको प्रभावकारी छ ?
संसारको कुनै आख्यानले पनि विवेकहीनलाई प्रभाव पार्न सकेको छैन ।
तपाईंलाई जीवनले बढी लखेट्छ कि मृत्युले ?
मलाई केहीले, कसैले पनि लखेट्दैन । म आरामसँग बसेको छु । आरामसँग साहित्य सिर्जना गरिरहेको छु ।
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया