धान उत्पादन बयालीस प्रतिशत घट्ने

जनकपुर, ८ भदौ । प्रतिकूल मौसमका कारण चालू आवमा धनुषा जिल्लामा मात्रै करिब ४२ प्रतिशत धान उत्पादन घट्ने भएको छ ।
मौसमको प्रतिकूल अवस्थाले गर्दा जिल्लामा भदौको पहिलो सातासम्म ६० प्रतिशतमात्र रोपाइँ भएकाले धान उत्पादन घट्ने निश्चित भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार कमला नदीका वरिपरिका भेगमा रोपाइँ भए पनि पूर्वी, उत्तरी र दक्षिणी भेगमा अधिकांश खेत बाँझै छ ।
धनुषाको ६५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा यो वर्ष मौसमको प्रतिकूलता र मल अभावका कारण पनि उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । जिल्लामा धानबालीमा हाल्न बर्सेनि १२ हजार मेट्रिक टन मल माग रहेकामा कृषि सामग्री कम्पनीले एक तिहाई मात्रै आपूर्ति गरेको थियो ।
वर्षा नभएका कारण धान रोपाइँ गर्न नसकेका किसानलाई यो वर्ष मजदुर अभावले पनि ठूलो समस्या निम्त्याएको थियो । कृषि विकास कार्यालयका योजना प्रमुख सुरेन्द्र गोइतका अनुसार मजदुर अभावका कारण खेतको पानी सुकेर धान रोपाइँ हुन नसकेकाले पनि समस्या जटिल बनेको हो ।
अर्का किसान रामलोचन मण्डल मल, मौसम र मजदुरका कारण यस वर्ष धनुषा जिल्लामा धान उत्पादनमा ह्रास हुने बताउँछन् । कम्पनीले वितरण गरेको युरिया र डिएपी मल जनकपुरसहित ग्रामीण बजारमा चर्काे मूल्यमा बिक्री भइरहेकाले पनि आफूहरूलाई मल खरिद गर्न समस्या परेको उनको भनाइ छ ।
यसैबीच, विराटनगरबाट सौर्य सहकर्मीले पठाएको समाचारअनुसार मोरङमा पानी अभावका कारण यस वर्ष धानखेतीमा २५ प्रतिशतले उत्पादन कम हुने अनुमान गरिएको छ । कुनै किसिमको रोग तत्काल देखानपरे पनि पानीको अभावले धानको बाली विकास नभएको र बोट खेतमै सुक्नथालेको छ ।
मोरङमा एक लाख तीन हजार हेक्टरमा धानखेती हुने गरेको भए पनि सिँचाइ अभाव र समयमा पानी नपर्दा ९५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । त्यस्तै, मोरङको दक्षिणी क्षेत्रमा सिँचाइ सुविधा कमी तथा जमिन अग्लो स्थानमा हुँदा पानी जम्न नपाउँदा झुर्किया, महादेवा, बुधनगर, नोचा र मझारे गाविसमा धान रोपाइँ न्यूनरूपमा भएको कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
समयमा मल नपाइएको तथा पानी कम पर्नाले पनि धानखेती ह्रास भएको बताउँदै सो कार्यालयका प्रमुख मनोज यादव अझै पनि पानी नपरे धानखेती समस्यामा पर्ने बताउँछन् । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन कम हुने उनको कथन छ । गत वर्ष तीन लाख २२ हजार ६ सय ४० मेट्रिक टन बर्खेधान तथा ५८ हजार ६ सय ४० मेट्रिक टन चैतेधान उत्पादन भएको थियो ।
मोरङमा ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा छ । वर्षभरि ३७ हजार २० हेक्टर जमिनमा सिँचाइ सुविधा तथा ३१ हजार पाँच सय ७० हेक्टर जमिनमा आकासेपानीका भरमा धानखेती हुने गरेको सो कार्यालयको तथ्यांकमा उल्लेख छ

प्रतिक्रिया