बाँकेका उद्योग भारतीय मजदुरमा निर्भर

नेपालगन्ज, ४ भदौ । हजारौ नेपाली रोजगारीका लागि भारतमा गइरहेका बेला बाँकेका उद्योगधन्दा भने भारतीय मजदुरमा निर्भर छन् । स्वदेशी कामदार नपाउँदा कतिपय उद्योगधन्दा बन्द हुने अवस्थामा छन् । पर्याप्त र दक्ष मजदुर नपाउनाले यहाँका उद्योग सञ्चालनमा कठिनाइ आइरहेको छ । योबाहेक जिल्लामा सञ्चालित अन्य उद्योग पनि भारतीय मजदुरमाथि नै निर्भर छन् ।

मजदुरकै अभावमा यस क्षेत्रका उद्योग बेलाबेला बन्द हुने गरेका छन् । चाहेजति मजदुर नपाउँदा उद्योग पूर्णरूपमा सञ्चालन हुन सकिरहेका छैनन् । जसलेगर्दा उत्पादनसमेत कम हुने गरेको छ । उद्योगमा माथिल्लो तहका मजदुर भारतबाट ल्याइन्छ भने तल्लो तहका मजदुर नेपालकै हुनेगरेका छन् । नेपालका मजदुरमा प्राविधिक ज्ञान र सीपका कमीले उद्योगमा प्रयोग गरिने प्राविधिक क्षेत्रका सबै मजदुर भारतबाट नै ल्याइने गरिएको उद्योग सञ्चालक बताउँछन् । बाँके जिल्लाको गनापुरमा रहेको यती सिमेन्ट र स्टार सिमेन्ट उत्पादन गर्दै आएको जय मंगलम् सिमेन्ट प्रालि पश्चिम नेपालको पहिलो सिमेन्ट उद्योग हो । मजदुर अभावकै कारणले यसले पनि बेलाबखत उत्पादन रोक्ने गरेको छ ।
उद्योगका प्राविधिक जति सबै भारतीय मजदुर नै छन् । यी प्राविधिक चाडपर्व, व्यक्तिगत तथा घरायसी काममा घर गएमा उद्योगमा समस्या आउने गरेको जय मंगलम् सिमेन्ट प्रालिका सञ्चालक सञ्जय अग्रवाल बताउँछन् । उनका अनुसार उद्योगको मुख्य समस्या भनेकै मजदुर रहेको छ । ‘हामी उद्योग चलाउनेहरू भारतीय मजदुरमा नै निर्भर छौँ । उनीहरूलाई अलिकति पनि यताउता भयो भने उद्योगमा समस्या आइहाल्छ,’ अग्रवाल भन्छन् । उनले गुणस्तर उत्पादनका लागि भारतीय मजदुरबाहेक अर्को विकल्प नभएको बताए । ‘मेरो उद्योगमा दक्ष र अर्धदक्ष मजदुर सबै भारतकै छन् । अन्य मजदुर नेपालकै छन्,’ अग्रवाल भन्छन् । गुणस्तरीय उत्पादनका लागि गुणस्तरीय मजदुर चाहिने उनको अनुभव छ । सोहीकारण भारतीय मजदुरको भर पर्नुपरेको उनको कथन छ ।
अग्रवालको मात्र होइन, यो समस्या यस क्षेत्रका सबै उद्योगले झेलिरहेका छन् । नेपालगन्जको खुजुरा रोडमा अवस्थित एसएम प्लाइउड इन्डस्ट्रिजमा अधिकांश भारतीय मजदुर छन् । उनीहरू चाडपर्व वा अन्य काममा घर गए भने उद्योग नै बन्द हुने गरेको छ । एसएम प्लाइउड इन्डस्ट्रिजका सञ्चालक सिकन्दर हलवाई योबाहेक अरू केही गर्न नसक्ने बताउँछन् । मजदुर अभावकै कारण उद्योग बेलाबेलामा बन्द गर्नुपरेको दु:खेसो सञ्चालक हलवाईको छ । त्यति मात्र नभई पर्याप्त मजदुर नपाउँदा पूर्णरूपमा उद्योग सञ्चालनसमेत हुन नसकेको उनको बुझाइ छ । ‘मजदुर नै पाइँदैनन् कसरी पूरै समय उद्योग चलाउने,’ हलवाईले भने, ‘कम मजदुर छन् त्यसैअनुसार थोरै समय उद्योग चलिरहेको छ ।’ भारतबाट पनि मजदुर सहजै नेपाल आउन मान्दैनन् । उनीहरूलाई ल्याउन पनि उद्योगले निकै दु:ख गर्नुपर्छ । नेपाल आउने भन्नेबित्तिकै पैसाको मोलमोलाई हुने गरेको यहाँका व्यवसायी बताउँछन् । मजदुर अभावमा पटकपटक दु:ख झेल्नु परेको हलवाईको अनुभव छ । ‘भारत गई खोजेर पैसाको मोलमोलाई गरेर ल्याउनुपर्छ । उनीहरूसँग ज्ञान, सीप छ उनीहरूलाई नल्याए हाम्रो उद्योग चल्दैन । त्यही भएर बढी पैसा दिएर भए पनि हामी ल्याउन बाध्य छौँ,’ हल्वाईले भने ।

प्रतिक्रिया