ठगी आरोपमा जनरल फाइनान्सका सञ्चालक पक्राउ

काठमाडौं, ४ भदौ । ‘गुड फर पेमेन्ट’ चेक जारी गरी करोडौँ रुपियाँ ठगी गरेको आरोपमा चाबहिलस्थित जनरल फाइनान्स लिमिटेडका तीन सञ्चालक पक्राउ परेका छन् । प्रहरीले फाइनान्सका अध्यक्ष उपेन्द्रनारायण श्रेष्ठ, सचिव लक्ष्मण श्रेष्ठ र निर्देशक कपुरप्रसाद वैजूलाई पक्राउ गरेको हो ।

यसअघि नै पक्राउ परेका फाइनान्सका महाप्रबन्धक राजुकुमार प्रधानले दिएको बयानका आधारमा अध्यक्षसहित तीनजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक यादव उप्रेतीले बताए । उप्रेतीका अनुसार अभियुक्त प्रधानले ‘गुड फर पेमेन्ट’ चेक जारी गर्न फाइनान्स सञ्चालक समितिले नै आदेश दिएको बयान दिएका थिए ।
प्रधानले सञ्चालक समितिलाई पोलेपछि प्रहरीले सोधपुछ गर्न तीनैजनालाई प्रहरी परिसर काठमाडौंमा बोलाएको थियो । बयानका क्रममा शंका लागेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मंगलबार अदालत लैजाने तयारी भएको प्रहरीले जानकारी दियो । आठ सदस्यीय सञ्चालक समितिमा किशोर महर्जन, सिद्धिदास सायमी, महेन्द्रप्रसाद श्रेष्ठ र अमृतशमशेर थापा पक्राउ परेका छैनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीहरूले नक्कली चेक तथा छाप प्रयोग गरी सात करोड ८२ लाख ५४ हजार नौ सय ७९ रुपैयाँ ठगी गरेका थिए । यस घटनामा ग्लोबल मल्टिप्रपोज इन्टरन्यासनल कम्पनीका प्रोपाइटर विकास पौडेलको समेत मिलेमतो देखिएपछि ब्युरोले पक्राउ गरेको थियो । ब्युरोका अनुसार पौडेलले खातामा पर्याप्त पैसा नहुँदा–नहँुदै पनि ‘गुड फर पेमेन्ट’ छाप लगाइएको चेक संकलन गरेका थिए ।
राष्ट्र बैंकले ठगी प्रकरणमा पौडेल र प्रधानको मात्रै संलग्नता रहेको भनेपछि प्रहरीले उनीहरूलाई मात्रै पक्राउ गरेको थियो । बैंकले फाइनान्सका ‘सिइओ’लाई मात्रै दोषी देखाई सञ्चालक समितिलाई बचाउन खोज्नु रहस्यात्मक भएको पीडितहरूको भनाइ छ ।
फाइनान्सले बलराम उप्रेतीको एक करोड १३ लाख, जितेन खनालको ५५ लाख, डोल्मा लामाको ५० लाख, लक्ष्मणभक्त जोशीको २० लाख, रेणु जोशीको १५ लाख, टेकराज भण्डारीको पाँच लाख ५० हजार, राजेन्द्र थापाको पाँच लाख ५० हजार, नीरा गुरुङको ३० लाख, नरेशबहादुर भुजेलको दुई लाख २० हजार, आशबहादुर भुजेलको तीन लाख ३० हजार, मोहन श्रेष्ठको १० लाख, सीता ढकालको एक करोड ५० लाख रुपियाँ ठगेको थियो । पीडितका अनुसार ठगिनेको संख्या २० भन्दा धेरै छ । फाइनान्सले करिब ६ महिनाको अवधिमा सबैलाई ठग्न भ्याएको खनालले दाबी गरे । उनले भने, ‘ब्याज पाउने आशामा रकम जम्मा गरियो तर लफडामा परियो ।’

प्रतिक्रिया