चिनियाँ सुन्दरीलाई ‘मिस वल्र्ड’ को ताज

बेइजिङ : चिनियाँ सुन्दरी वेन्जिया यु नयाँ विश्वसुन्दरी भएकी छन् । चीनको ओर्डोसस्थित दङसेङ रंगशालामा शनिबार साँझ भव्य प्रतियोगिताबीच विश्वभरबाट छानिएका १ सय १५ प्रतिस्पर्धीलाई पछि पारेर वेन्जिया सन् २०१२ का लागि ‘मिस वल्र्ड’ ताज जित्न सफल भइन् । मिस वेल्स सोफिया एलिजाबेथ फस्र्ट रनरअप भइन् भने मिस अस्ट्रेलिया जेसिका मिसेल कहावाटीले सेकेन्ड रनरअपमा चित्त बुझाउनुपर्‍यो ।
ताज जित्ने अनुमान गरिएकी भारतीय सुन्दरी भान्या मिश्रा अन्तिम सातमा पुगे पनि फाइनल कोइसन राउन्डभन्दा अगाडि बढ्न सकिनन् । यद्यपि उनले दुई पुरस्कार ‘ब्युटी विथ द पर्पोज’ र ‘सोसल मिडिया अवार्ड’ भने हात पारिन् । निवर्तमान मिस वल्र्ड भेनेजुएलाकी इभियान सार्कोसले नयाँ विजेता वेन्जियालाई ताज पहिर्‍याइन् । वेन्जियाले ‘ट्यालेन्ट क्याटागोरी’ तर्फको पनि उपाधि जितिन् । मिस वल्र्ड विश्वकै सबैभन्दा पुरानो र ठूलो ‘ब्युटी पेजेन्ट’ हो । एरिक मोर्लीले अमेरिकामा सन् १९५१ मा यो प्रतियोगिता सुरु गरेका थिए । सन् २००० मा एरिकको निधन भएपछि उनकी श्रीमती जुलिया मोर्ली यस प्रतियोगिताको सहअध्यक्ष छिन् ।
स्विडेनकी किकी हाकान्सोन पहिलो मिस वल्र्ड हुन् । मिस वल्र्डमा सबैभन्दा बढी प्रभाव जमाएको भेनेजुएलाले छ पटक यसको ताज जितेको छ भने भारत र बेलायतले पाँच/पाँच पटक । यसपटक ‘बिच फेसन’ मिस वेल्स र ‘टप मोडल’ मिस सुडानले जितिन् । नेपालसुन्दरी सृष्टि श्रेष्ठले यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनको प्रदर्शन उल्लेखनीय रहन सकेन । (एजेन्सी)

प्रतिक्रिया