पञ्चायतबाट सरेको भ्रष्टाचार

२०१७ साल पुस १ गते राजा महेन्द्रले बहुदलीय व्यवस्थाको अन्त्य गरी एक दलीय पञ्चायती व्यवस्था लागू गरे । त्यसपछि सम्पूर्ण शक्ति राजामा केन्द्रित भयो । राज्यका विभिन्न निकायमा राजाले नै मनोनित गर्न थाले । राजाको गुणगान गाउनेहरूले राज्यका ठुल्ठूला पद हत्याउन सफल भए । राष्ट्रिय पञ्चायतमा बालिग मताधिकारका आधारमा निर्वाचित भई आउने सदस्य पनि राजाको इच्छाअनुसारकै व्यक्तिले चुनाव जिताउने वातावरण बनाइन्थ्यो । र त्यस्तै व्यक्तिले चुनाव जित्थे । राजा र व्यवस्थाको बखान गर्नेले धेरै कुरामा छुट पाउँथे । त्यसैले तिनले अन्य दलका नेता, कार्यकर्ता र सरकारी कार्यालयमा आफ्नो प्रभाव देखाउँथे । यति हुँदा हुँदै पनि उनीहरूमा डर थियो । कुनै किसिमले त्यस्तो खबर राजाकोमा पुगे कारबाही व्यहोर्नुपथ्र्यो । मनपरि गर्न पनि डराइडराइ गर्नुपथ्र्यो । भ्रष्टचार थियो तर डर पनि थियो ।
०४६ सालको जनआन्दोलनसँगै नेकां, वाममोर्चा र राजाबीच सहमति गरी बहुदलीय व्यवस्था ल्याएपछि ०४७ सालको संविधानले संवैधानिक राजतन्त्रको व्यवस्था गर्‍यो । राजा संवैधानिक भएपछि राजामा रहेको शक्ति दलका नेतामा सर्‍यो । त्यसपछि पञ्चायतकालमा भ्रष्टाचार थियो भन्नेहरूले पञ्चायतलाई पनि बिर्साउने गरी भ्रष्टाचार गर्न थाले । कमाउने मौका यही हो भन्न थाले । सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाले यसको नेतृत्व गरे । उनकै पालामा ०६३ भन्दा अगाडि देशमा सबैभन्दा धेरै भ्रष्टाचार भयो । सरकारकै नेतृत्व गरेका व्यक्ति भ्रष्टाचारमा लागेपछि सरकारमा रहेका अन्य व्यक्तिलाई भ्रष्टाचार गर्न रोक्ने हिम्मत कसैले गर्न सकेन । त्यसैको फलस्वरूप ०४६ सालपछिको समय देशमा भ्रष्टाचार मौलाउने समय बन्यो । त्यति बेलाका हस्ति मानिएका गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता, खुमबहादुर खड्कालगायतका कांग्रेस नेताहरूको बोलावाला थियो । यिनले जे गर्न पनि छुट पाएजस्तो गरेका थिए । पञ्चायती व्यवस्थाको अन्त्य गरेको कांग्रेसका नेतालाई सम्पत्ति जोड्नकै लागि हो कि जस्तो थियो । जसरी गणतन्त्र ल्याएपछि माओवादीले लुट मच्चाएको छ । त्यस्तै लुट ०४६ सालपछि कांग्रेसका नेताले गरेका थिए । त्यतिबेला कांग्रेसका कार्यकर्ता केही बोलेनन् । बरू तिनकै जय जय गर्न लागे ।
केही समय अगाडि चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी जेल हालेको अवस्था छ भने गोविन्दराज जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । आज अर्का नेता खुमबहादुर खड्कालाई पनि सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । उनले ९४ लाख ७४ हजार एक सय २२ बराबरको अचल सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको छ । यो सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेकाले भ्रष्टाचार निवारण ऐन ०४९ को दफा २०(१) बमोजिम कसुर गरेको ठहरिने फैसला गरिएको छ । बिगो र कसुरको मात्रा विचार गरी एक वर्ष कैद र खड्का मन्त्री हुँदा सांसद पदमा रहेको समयमा कसुर गरेको देखिँदा दफा २४ बमोजिम थप ६ महिना कैद हुने ठहर्छ भनिएको छ । सार्वजनिक पदमा बसेको ११ वर्षमा उनको आम्दानी २० गुनाभन्दा बढी भएको ठहर सर्वोच्च अदालतले गरेको छ । सर्वोच्चको यो निर्णयपछि उनका सर्मथकले सडक जाम गर्ने, सवारीसाधन तोफोड गर्ने काम गरे । कांग्रेसको झन्डा लिएर भ्रष्टाचारीको समर्थन गर्ने कार्यकर्ता कस्ता हुन्, जसले नेताले भ्रष्टचार गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेका छन् । यस्ता कार्यकर्ताबाट देशले कस्तो अपेक्षा गर्ने ?
गोविन्दराज जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि उनको गृह जिल्ला तनहुँमा कांग्रेसको झन्डा लिएर उनका समर्थकले अदालतको निर्णयको विरोध गरे । त्यस्तै क्रियाकलापलाई सहयोग पुर्‍याउने उद्देश्यले केही समयअगाडि कांग्रेस समर्थक तरुण दल, नेविसंघलगायतले अख्तियारले कांग्रेसका नेतालाई छानी छानी भ्रष्टाचारको आरोप लगाउने तर राज्यको अर्बौं लुट्ने माआवादीलाई कारबाही नगर्ने भन्दै खुमबहादुर खड्कालाई भ्रष्टचारी ठहर गरे आन्दोलन गर्ने भन्नेसम्मका भनाइ राखे । कांग्रेस कस्तो प्रजातान्त्रिक पार्टी हो जसले भ्रष्टाचारीलाई कारबाही गरे आन्दोलन गर्ने भन्ने ? एकातिर उसैका नेता र कार्यकर्ता माओवादीले भ्रष्टाचार गर्‍यो पनि भन्ने अर्कातर्फ आफ्नै नेताले गरेको भ्रष्टचारको संरक्षण गर्ने यो सुहाउने कुरा हो ? भ्रष्टचारी कुनै पार्टी जात, लिंग, धर्मको हुँदैन त्यो त राष्ट्र र जनताका लागि गद्दार हो । त्यस्तालाई कारबाही गर्नुपर्छ भन्ने सोच किन आजसम्म आउन सकेन ? बम्बैको कोठीमा बेचिन पुगेकी चरीमाया त्यहाँबाट उम्केर आएपछि महिला बेचबिखनका विरुद्धमा आन्दोलन नै छेडेर आज चर्चाको शिखरमा छिन् । राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्काबाट सम्मानित भएकी छिन् । त्यसै गरी चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता, खुमबहादुर खड्का र गोविन्दराज जोशीलाई पनि भ्रष्टाचार गर्नु ठूलो पाप रहेछ हामीले गल्ती गरेकै रहेछौँ भन्दै भ्रष्टाचारका विरुद्ध आवाज उठाउनुस् भन्ने सल्लाह दिँदा राम्रो होइन र ?
जनयुद्धका नाममा १० वर्षसम्म अकुत सम्पति कमाएको माओवादीभित्र पनि भ्रष्टाचारको कुरा जोडतोडका साथ उठिरहेको छ । कार्यकर्ताका आँखामा छारो हाल्नकै लागि भए पनि माओवादीले छानबिन समिति बनाएको छ । लुट्नकै लागि प्रशिक्षण दिएको पार्टीभित्र त त्योसम्मको कुरा भएको छ भने आफूलाई प्रजातन्त्रको ठेकेदार नै ठान्ने कांग्रेसका कार्यकर्ताले अदालतका विरुद्ध आन्दोलन गर्नु कतिसम्मको निकृष्ट व्यवहार हो ? अब माओवादीका नेताले गरेको भ्रष्टाचारविरुद्ध आवाज उठाउने नैतिक आधार
कांग्रेस कार्यकर्तालाई रहन्छ कि रहँदैन ? त्यसैले अदालतले भ्रष्टाचारी ठहर गरेका व्यक्तिलाई जोगाउन होइन, भ्रष्टाचारविरुद्ध आवाज उठाउन नैतिक बल मिल्ने काम गर्नुपर्छ । होइन भने नेपाली आमाका होनहार युवालाई क्यान्टोनमेन्टमा थुनेर माआवादीले गरेको भ्रष्टाचारलाई वैधानिकता दिएको ठहर्छ । भ्रष्टाचारी ठहरिएका नेताले यो दिन आउला भन्ने कल्पना पनि गरेका थिएनन् तर आज जेल जानुपरेको छ । त्यसैगरी आज माओवादीका नाममा भ्रष्टाचार गर्नेहरू पनि एक दिन जेल जान बाध्य हुनेछन् । त्यसैले भ्रष्टाचारविरुद्धमा आवाज उठाऊ, व्यक्ति होइन, व्यवहार हेरौँ । बाबुरामको सरकार भ्रष्टाचारमै रमाएको छ । भ्रष्टाचारकै मामलामा बाबुरामको शासनकाल स्वर्ण युग नै बनेको छ । कांग्रेस कार्यकर्ताको त्यो कामले यसलाई पनि वैधानिकता मिल्दैन र ?
खुमबहादुरले भ्रष्टाचार गरेको रकममध्ये केही आउरे बाउरेले पाएका थिए होलान् तर सिंगो नेपाली जनतामाथिको बेइमानीपूर्ण काम थियो । अहिले उनी यसैको परिणाम भोग्दै छन् । ०४६ सालदेखि आजसम्म सत्तामा पुगेकाहरू भ्रष्टाचार गर्ने थुप्रै छन्, तिनको आत्माले पनि शान्ति अवश्य पाएको छैन होला र पाउने पनि छैन । पाप धुरीबाट कराउँछ । समय गतिशील छ हेर्दै जाऊँ अझै कतिले जेलको हावा खाने हुन् ।

प्रतिक्रिया