एचआइभी संक्रमित भर्ना हुन पाएनन्

काठमाडौं, ३ भदौ । एचआइभी संक्रमित बालबालिका विद्यालय भर्ना भएर औपचारिक शिक्षा लिनबाट वञ्चित भएका छन् । एचआइभी भएको थाहा भएपछि विद्यालयले भर्ना नलिँदा वैकल्पिक विद्यालयमा अध्ययन गर्न बाध्य भएका छन् ।

एचआइभी भएका बालबालिकाले विद्यालयमा पढ्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । कीर्तिपुरस्थित आएआइभी शिक्षा सदनमा अध्ययनरत बालबालिकाले विद्यालयमा पढ्न पाउने वातावरण बनाइदिन आग्रह गरेका हुन् । उनीहरूले पढ्न पाए डाक्टर, पाइलट, इन्जिनियर बन्न सकिने बताए । सहजरूपमा पढ्न नपाउनु र अरूबाट हेपिएको पीडामा रहेका प्रकाश भण्डारीले भने, ‘बाआमाको गल्तीमा हामी निसानामा पर्‍यौँ ।’
एचआइभी एड्सबाट बाबुआमा गुमाएका तथा भए पनि संक्रमित अवस्थामा रहेका बालबालिका औपचारिक पढाइ हुने विद्यालयमा भर्ना नपाएपछि वैकल्पिक विद्यालय सफलता एचआइभी शिक्षा सदनमा अध्ययन गरिरहेका छन् । पीडित बालबालिका भौतिक पूर्वाधारको कमीले सबै एकै ठाउँमा बसेर पढ्न बाध्य छन् ।
एचआइभी संक्रमित भएको थाहा पाएपछि आफन्तबाट समेत तिरस्कारमा परेका बालबालिका विभिन्न जिल्लाबाट केही व्यक्तिको पहलमा काठमाडौं ल्याइएका हुन् । सामुदायिक तथा निजी विद्यालयले भर्ना नलिएपछि सफलता एचआइभी शिक्षा सदन खोलेर संक्रमित बालबालिकालाई पढाउन सुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष राजकुमार पुनले बताए । विद्यालयमा १० एचआइभी संक्रमितले अध्ययन गरिरहेका छन् । दाङ, सल्यान, बैतडीलगायतका जिल्लाबाट आएका बालबालिका पढिरहेका छन् ।
पुनका अनुसार तीन वर्षअघि एचआइभी संक्रमित बालबालिकालाई सामुदायिक तथा निजी विद्यालयले भर्ना नलिएपछि विद्यालय स्थापना गरेर पढाउन सुरु गरिएको हो । यो शैक्षिक सत्रदेखि जिल्ला शिक्षा कार्यालयले वैकल्पिक विद्यालयको रूपमा प्राथमिक तहसम्म कक्षा सञ्चालनको अनुमति दिएको छ । ‘विभिन्न जिल्लाबाट बालबालिका ल्यायौँ तर एचआइभी संक्रमित भन्ने थाहा भएपछि कसैले भर्ना लिन मानेनन्,’ अध्यक्ष पुनले भने, ‘कीर्तिपुरको बालकुमारी माविले मानेर र अरू निजीमा पढाउन खोज्दा पनि व्यापारमा घाटा हुन्छ भनेर पढाउन मानेनन् ।’ ‘पढ्न आउने चाहना राख्ने धेरै छन्,’ पुनले भने, ‘खान त जसरी भए पनि व्यवस्था गथ्र्यौं तर पढाउन भौतिकलगायतका सुविधा कमी छ ।’ दस बालबालिकालाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । पुनले कीर्तिपुरस्थित आफ्नै घरमा बालबालिका राखेर पढाउँदै आएका थिए । कसैको सहयोगविना बालबालिका पढाउँदा ऋण लागेर घर बेचेको र असोजपछि कहाँ राखेर पढाउने समस्या बढेको उनले बताए । उनले भने, ‘सबै कुरा स्पष्ट भन्दा एचआइभी भएको थाहा पाउनेबित्तिकै भाडामा पनि दिँदैनन् ।’
विद्यालयमा आठ बालबालिका बस्ने गर्छन् भने दुई बालबालिका एचआइभी संक्रमित भएको खुल्न नचाहेकाले पढेर जाने गरेका छन् । कतिपय बालबालिकाका बाबुआमा छैनन् भने कतिपयका भए पनि एचआइभी संक्रमित छन् । तीन वर्षदेखिका बालबालिका विद्यालयमा पढिरहेका छन् । ११ वर्षीया मञ्जु चन्द, पाँचवर्षीय हिमराज चन्द, ६ वर्षीय खेमराज खड्का, तीनवर्षीया सिर्जना खड्का, ६ वर्षीय उमेश रानामगर, ११ वर्षीय प्रकाश भण्डारी, आठवर्षीया पुष्पा भण्डारी र उर्मिला अर्याल विद्यालयमा पढिरहेका छन् ।
उनीहरूका लागि मासिक ४० हजार रुपियाँ खर्च हुने गरेको छ । एक एचआइभी संक्रमित महिला बमकला खड्का आफ्ना संक्रमित छोराछोरीका साथ सबै बालबालिकाको हेरचाह गरिरहेकी छन् । उनीहरूलाई पढाउन र स्याहार गर्नका लागि अन्य कर्मचारी पनि राखिएको छ ।
शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले कुनै पनि बच्चालाई विद्यालयले भर्ना गर्दिन भन्न नपाउने बताए । उनले भने, ‘विद्यालयमा आएका बालबालिकालाई भर्ना गर्नु कर्तव्य हो, कसैले गर्दिनँ भन्नै मिल्दैन ।’

प्रतिक्रिया