ल्हासा यात्राका अन्तरकुन्तर

सिगात्सेस्थित जांगबु पोर्ट (खासा) को अत्यासलाग्दो कालो पहाड छिचोल्दै बनाइएका नगाबेली आकारका सडकले हामीलाई नांगा डाँडातिर डोर्‍याउँदै छ । ती सडकमा दायाँबायाँ ठडिएका अग्ला पहाडबीच कालो धुवाँ ºयाँक्दै हुइँकिरहेका दुईवटा मिनिबसमा विभाजित छौँ हामी । १५ भाइ नेपाली र तीन चिनियाँ सवार हाम्रो बस साठीको स्पिडमा उकालो चढ्दै छ । खाल्डाखुल्डी बिरलै देखिने चिल्ला अनि चौडा सडक पछ्याउँदै अघि बढेको हाम्रो बसले डरलाग्दा पहाड कोपेर बनाएका सयौँ घुम्ती पार गर्छन् । तर, भयको सानो झिल्कोले पनि मनलाई छोएको छैन । बसभित्र सवार सबैका आँखा क्षितिज छुँलाझँै ठडिएका नांगा पहाडमा अड्किएका छन् । निकै रोमाञ्चक छन्, दृश्य । डिजिटल क्यामेरा क्लिक–क्लिक गर्दै ती दृश्य कैद गर्दैछन् ।
करिब चार घन्टाको निरन्तर यात्रापछि समुद्री सतहबाट करिब १६ हजार फिटको उचाइमा हाम्रो बस छ । हामी लखतरान छौँ, सायद, अक्सिजन नपुगेर लेक लागेझैँ भएको छ र १५ थान टाउको रन्किएका छन् । मलाई थाहा छ, हामी ल्हासासम्म पुग्नेछौँ, त्यो (सांग्रिला) भूस्वर्ग जहाँ बौद्धमार्गीहरूको वाणीको उच्चारणले बतासलाई, रूखहरूलाई नचाइरहेका हुन्छन् । एउटा यस्तो भूमि जहाँ वैदिक ऋचाका ध्वनिहरूले वातावरणलाई रिफ्रेस गरिरहेका हुन्छन् ।
०००
रातको करिब २ बजे सिगात्सस्थित मानसरोवार होटल पुगेर बेलुकाको खाना खायौँ । ‘भोक र लेक’ को दोहोरो चक्करले लखतरान बनेका हामीलाई थकानले निकै बढी गाँजेको थियो । भोलिको यात्रा तुलनात्मक रूपमा अझ कठिन हुने जानकारी हात–हातमा थमाइएका यात्रासूची (सेड्युल) ले दिइरहेको थियो । किनभने, गन्तव्यसम्म पुग्न हामीले अझै एक दिनको यात्रा तय गर्नुछ । हाम्रो गन्तव्य हो– ल्हासा ।
तिब्बत सरकारको निमन्त्रणमा १० दिनको सद्भावपूर्ण भ्रमणमा निस्किएको हो, हाम्रो टोली । यसपटक हामी नेपाल, चीन हिमालयमैत्री समाज (नेचिप्स)को छातामा संगठित छौँ । हाम्रा टोली नेता हुन्, पूर्वसांसद तथा नेचिप्सका अध्यक्ष आनन्द पोखरेल । भोलिपल्ट ब्रेकफास्टसँगै थप यात्राका लागि तयार भयाँै । थप यात्रा सम्झिँदै थलिएका हाम्रा मस्तिष्क झल्याँस्स ब्युँझिए । आँखा अब सिगात्से सहरको अद्भुत विकासमा रमाउन थाल्यो ।
हामी तासिलांग्बु मोनास्ट्री (गुम्बा) पुग्यौँ । हाम्रा लागि खटाइएका दोभाषेले यो मोनास्ट्री तिब्बतकै चौथो ठूलो गुम्बा भएको बताइरहेकी थिइन् । हामीले एक घन्टामा गुम्बा फेरो मार्‍यौँ । साताँै शताब्दीमा सम्राट् स्रङचङगम्पोसँग विवाह गरेर तिब्बत पुगेकी नेपाली चेली भृकुटीबाट भएको सांस्कृतिक स्थानान्तरणको प्रभाव गुम्बामा देखिन्थ्यो । गुम्बाको छाना होस्, या ढोकामा कुँदिएका बुट्टा, सबैमा नेपालीपन पाइन्थ्यो । गुम्बाका भित्ताभरि रंगिएका नेपाली मोडलका थांका तथा गौतम बुद्धको चित्रले बताउँथ्यो, एउटा नेपाल यहाँ पनि छ । ग्याङ्जे सहरस्थित अर्को ठूलो बारखोल चोल्देन गुम्बा ग्रेटवालझैँ ठूला पर्खालले घेरिएका थिए । तत्कालीन ब्रिटिस सेनाको आक्रमणबाट बच्न यहाँका सम्राट्ले बनाउन लगाएको पर्खाल भन्दै जानकारी दिइरहेका थिए हाम्रा दोभाषेले ।
हामी खारोला ग्लासियर (हिम पहाड) नजिक थियौँ । सामुन्ने खम्बोला हिम पहाड उभिएको छ । हिउँ पग्लिएर पहाडबाट निस्किएका पानीका धारा निकै रोमाञ्चक छन् । अक्सिजनको समस्याले यहाँ पनि गाँज्यो । बाटोमा भेटिने सुन्दर तथा शान्त तिब्बती बस्ती, त कहिले लहलहाउँदो जौ बारीलाई दाहिने र देब्रे पार्दै करिब दुई घन्टाको यात्रापछि ल्हासा सहरभन्दा करिब ६० किलोमिटर टाढाको ल्हासा बिमानस्थलनजिक पुग्यौँ । विमानस्थललाई दाहिने पार्दै झन्डै २५ मिनेटको पुल यात्राबाट ब्रह्मपुत्र नदी पार गरियो । सामुन्ने देखियो, विशाल पहाड छिचोली बनाइएका सुरुङ मार्ग । ८० को स्पिडमा सुरुङ पार गर्न बसलाई झन्डै पाँच मिनेट लाग्यो । बल्ल देखिन थाले, ल्हासा सहरका अद्भुत विकासको नमुना ।
०००
६ लेनको फराकिलो सडक । सोलार जडान गरिएका सडकबत्तीका आकर्षक लाइन र असपासमा लहलहाएका जौका बोटले यात्राका थकानलाई मेट्दै थिए । सामुन्ने आइपुगेको अर्को सुरुङमार्गलाई पार गरेपछि बल्ल ल्हासा सहर देखियो । शान्त, सुन्दर ल्हासा सहर चकमन्नतामा लुसुक्क सुतेको थियो । हामी ल्हासा सहरको मध्यभाग पुगेका छाँै । आधुनिक भवन, ६ लेनका फराकिला सफा सडक, बस, मोटरसाइकल गुड्ने छुट्टै सडक, पैदल यात्रीका लागि छुट्टै पेटी, सडक डिभाइडरबीच बनाइएका बगैँचा, दुवै किनारा कैँची लगाइएझैँ मिलेका रूखबृक्ष ।
साताँै शताब्दीदेखि नै नेपालको तीब्बतसँग सम्बन्ध प्रगाढ थियो । त्यसबेला तिब्बतसँग नेपालको व्यापार चल्थ्यो । उब्जाउ जमिन कम भएको तिब्बत त्यसबेला नेपालभन्दा गरिब थियो । यो स्थिति सन् १९५१ सम्म पनि कायम थियो । तर, अहिले तिब्बतको विकास गुडेको मात्रै होइन, दु्रत गतिमा उडेको छ । र, संसारलाई भनिरहेको छ– विकास गर्न भूगोलले छेक्दैन ।
सन् १९५१ मा तिब्बतीयन सरकार र चीन सरकारबीच तिब्बतलाई स्वशासित बनाउने सम्झौता भयो । त्यसको आठ वर्षपछि अर्थात् सन् १९५९ मार्चमा धर्मगुरु दलाई लामाले मुलुक छाडे । सन् २००१ बाट तिब्बतमा विकास पसेको हो । सन् २००१ देखि २०१० सम्म मात्रै चीन सरकारले तिब्बतको वित्तीय पुँजी र भौतिक विकासमा मात्रै तीन खर्ब दस अर्ब चिनियाँ युआन लगानी गरेको तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया