नेफ्स्कुनद्वारा सदस्यता शुल्क मिनाहा

काठमाडौं, १ भदौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) २४ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नेफ्स्कुनले भदौभर आफ्नो संस्थामा आबद्ध हुने सहकारी संघसंस्थालाई सदस्यता शुल्क मिनाहा गर्ने भएको छ ।

२५औँ वार्षिकोत्सव कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सहकारीमार्फत घरजग्गामा लगानी बढेकोप्रति ध्यानाकर्षण भएको बताए । सहकारीमार्फत घरजग्गा कारोबार रोक्न सरकारले नीति बनाउने उनले जानकारी दिए । ‘सहकारीमार्फत भएको घरजग्गाको कारोबार नियन्त्रण गर्न नीति बनाउँछौँ,’ मन्त्री ढकालले भने । देशको आर्थिक उन्नतिका लागि सरकारले सहकारीलाई प्राथमिकता दिएको ढकालको भनाइ थियो । सहकारीलाई प्रवद्र्धनका लागि समयानुकूल ऐन, कानुमा सुधार र नीतिगत व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।
कार्यक्रममा संघले स्थापनाकालदेखिका सञ्चालकलाई सम्मान गरेको थियो । यसैगरी उत्कृष्ट सहकारी र जिल्ला संघको समेत घोषणा गरिएको थियो । उत्कृष्ट घोषित सहकारीलाई संघको साधारणसभामा पुरस्कृत गरिने जनाइएको छ । रजत जयन्ती महोत्सव एवं २५औँ स्थापना दिवसका अवसरमा एक महिनाका लागि यस्तो छुट दिने निर्णय गरिएको नेफ्स्कुनका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए । नेफ्स्कुनमा आबद्ध हुँदा सम्बन्धित संघसंस्थाले सदस्यता शुल्कबापत एक हजार रुपियाँ तिर्नुपर्ने व्यवस्था छ ।
३२ साउन ०४५ मा भोजराज घिमिरेको अध्यक्षतामा ‘बचत समूह राष्ट्रिय संघ तदर्थ समिति’ को नाममा नेफ्स्कुन गठन भएको थियो । यसमा हाल ४२ वटा जिल्ला संघ र १ हजार २ सय प्रारम्भिक सहकारी संस्था गरी करिब १ हजार ३ सय सदस्य छन् । नेफ्स्कुनमा करिब १० लाखभन्दा केही बढी व्यक्तिगत सदस्यले वित्तीयलयागत अन्य विभिन्न किसिमका सेवा प्राप्त गर्दै आएको छ । स्थापनाकालमा संघको कुल सम्पत्ति २ हजार ९ सय ४९ रुपियाँ रहेकामा हाल बढेर ४५ करोड रुपियाँ पुगेको छ । गत वर्ष सेयरधनीलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको यो संघले चालु आवमा पनि सोही अनुपातमा प्रतिफल वितरण गर्न सकिने जानकारी दिएको छ ।
नेफ्स्कुन सन् १९९८ देखि एसियाली ऋण महासंघ, सन् २००४ देखि कृषि बैंकिङमा अन्तर्राष्ट्रिय सहयोग एवं तालिम केन्द्र र सन् १९९३ देखि राष्ट्रिय सहकारी संघको नियमित सदस्य रहँदै आएको छ । सहकारीको उद्देश्य, सिद्धान्त र अवधारणाबारे जनचेतना वृद्धि गरी संस्थाको प्रवद्र्धन, सम्वद्र्धन एवं विकास गराउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सदस्य संस्थाको सम्बन्ध विस्तारका लागि पहल गर्ने, सदस्य संस्थाहरूको सहभागितामा व्यक्ति, समुदाय, समाज र राष्ट्रको सामाजिक तथा आर्थिक विकासका लागि परियोजना सञ्चालन गर्ने, अन्तरलगानी कार्यक्रममार्फत संस्थाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेलयागत उद्देश्य नेफ्स्कुनले लिएको छ ।
हाल नेफ्स्कुनले अन्तरलगानी सेवा, साकोस स्तरीकरण (एक्सेस), सहकारी सुरक्षा योजना, सफ्टवेयर सेवा, लघुवित्त सेवालगायत सुविधा प्रदान गर्दै आएको छ । यसैगरी, वित्तीय पहुँचबाट वञ्चित आठवटा अतिदुर्गम जिल्लामा युरोपियन युनियन तथा युके एडको सहयोगमा र मसिर्कोर नेपालसँग साझेदारीमा अनौपचारिक समूहलाई मूल प्रवाहीकरणमा ल्याउने कार्यक्रम परियोजना सञ्चालन गर्दै आएको नेफ्स्कुनले बताएको छ । २५औँ वार्षिकोत्सव वर्षैभरि मनाउने योजना रहेको नेफ्स्कुनले जनाएको छ । यस क्रममा बिहीबार आयोजित कार्यक्रममा उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था (साकोस), उत्कृष्ट सहकारी अभियन्ता महिला र पुरुषलाई पुरस्कृत गरेको छ । रजत जयन्तीका उपलक्ष्यमा विभिन्न किसिमका सहकारी शिक्षासम्बन्धी जनचेतनामूलक र संस्थागत एवं वित्तीय सुशासनका विभिन्न कार्यक्रम वर्षभरि नै सञ्चालन गर्ने नेफ्स्कुनले जनाएको छ । ‘जीवनस्तर परिवर्तनका लागि साकोसको निर्माण’ नारा रहेको नेफ्स्कुनले त्यसका लागि यो वर्षभरि नै साकोसको संस्थागत र दिगो विकासमा जोड दिइने बताएको छ ।

प्रतिक्रिया