छानबिन आयोगको प्रतिवेदन कागजमै सीमित

काठमाडौं, ३२ साउन । नेपालमा हरेकजसो हवाई दुर्घटनापछि छानबिन आयोग गठन हुने गर्छ र आयोगले सम्बन्धित निकायलाई विभिन्न सुरक्षा सुझाव पनि दिन्छ । तर, हवाई दुर्घटना कम हुनुको साटो बढिरहेको छ । अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षासम्बन्धी सुझावलाई सम्बन्धित निकायले बेवास्ता गर्दा दुर्घटना नरोकिएको विज्ञ बताउँछन् ।
हवाई दुर्घटना प्रतिवेदनको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनअनुसार नेपाली आकाशमा प्रतिएक लाख घन्टा उडानमा दुईदेखि तीनवटासम्म दुर्घटना भएको पाइएको छ । प्रतिवेदनअनुसार नेपाली आकाशमा हुने दुर्घटना कहिले घट्ने र कहिले ह्वात्तै बढ्ने प्रवृत्ति देखिएको छ । सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा नराख्दा दुर्घटना हुनेगरेको प्रतिवेदनको ठहर छ । सिंगल इञ्जिनयुक्त साना जहाजका कारण पनि दुर्घटना बढेको भन्दै प्रतिवेदनले यस्ता जहाज दर्तामा रोक लगाउन सुझाव दिएको छ । छानबिन आयोगको सुरक्षा सुझाव बेवास्ता गर्ने निकायमध्ये पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सबैभन्दा अगाडि देखिएको छ । मन्त्रालयले ३५ प्रतिशत सुझाव मात्र पालना गर्ने गरेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई कम्पनीले भने ७० प्रतिशत सुझावको कार्यान्वयन गर्ने गरेको प्रतिवेदनले उल्लेख गरेको छ । जाँचबुझ आयोगले दिने सुझावको पूर्णपालना हुनसके जहाज दुर्घटनामा कमी आउने प्रतिवेदनमा उल्लेख छ ।
हालसम्म विभिन्न छानबिन आयोगले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित जहाज कम्पनीलाई तीन सय ७२ सुझाव दिएका छन् । प्राधिकरणले पाएका सुझावमध्ये ७० प्रतिशत, मन्त्रालयले ५५ प्रतिशत र जहाज कम्पनीले ६५ प्रतिशत सुझाव कार्यान्वयन गरेको प्रतिवेदनमा उल्लेख छ । ३० प्रतिशत सुझाव आंशिक कार्यान्वयन भएको देखिएको छ । सुझाव कार्यान्वयन हुँदा कसरी त्यस्तै प्रकृतिका घटना भए भन्नेबारे भने प्रतिवेदन मौन छ ।
समितिको प्रतिवेदनअनुसार उपयुक्त नीति नियमको अभावमा मन्त्रालयले जहाज कम्पनीलाई सही निर्देशन दिनसकेको छैन । ‘सुझावहरू नीतिमा समावेश गरी समयसापेक्ष संशोधनका लागि दिइन्छ तर त्यसको सम्बोधन भने हुँदैन ।’ प्रतिवेदनमा भनिएको छ । हालसम्मका सबैजसो अध्ययन प्रतिवेदनले प्राविधिक त्रुटि, पाइलटको गलत निर्णय तथा खराब मौसमलाई जहाज दुर्घटनाको मुख्य कारकका रूपमा देखाएका छन् । हवाई सुरक्षा सुनिश्चित गर्न विगतका दुर्घटनाबारे गठित जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयन गर्न सरकारले गत वर्ष बेग्लै कार्यदल गठन गरेको थियो । नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक मेदिनीप्रसाद शर्माको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलमा प्राधिकरणका उपमहानिर्देशक (हाल महानिर्देशक) त्रिरत्न मानन्धर, पर्यटन मन्त्रालयका उपसचिव (हाल अवकाशप्राप्त) प्रभा वैद्य, नेपाल वायुसेवा निगमका निर्देशक दिगम्बर राजभण्डारी र सेनानीस्तरका पाइलट सदस्य थिए ।
हवाई सुरक्षा हेर्न प्राधिकरणअन्तर्गत हवाई उड्डयन सुरक्षा विभाग छ । यसले हरेक वर्ष वायुसेवा कम्पनीको सुरक्षा अडिट गर्छ । तोकिएको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाउने गरेको र कम्पनीले तालिकाअनुसार नियमित रूपमा जहाजको पार्टपुर्जा फेर्ने र मर्मत गर्ने काम गरेको विभागको दाबी छ ।
सन् १९५० को दशकदेखि नै जहाज दुर्घटनापछि प्रत्येकपटक छानबिन आयोग बनेका छन् तर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग भने केही मात्र प्रतिवेदन छन् । सन् १९५७ देखि हालसम्म नेपालमा ७० वटा हवाई दुर्घटना भएको र साढे ६ सयभन्दा बढीको मृत्यु भइसकेको तथ्यांक छ । पछिल्लोपटक गत जेठमा अग्नि एयरको डोर्नियर जहाज मुस्ताङको जोमसोम विमानस्थलनजिक दुर्घटना भएको थियो ।
नेपाली आकाशमा ट्विनअटर, डोर्नियर, एभ्रो, एटिआर, बोइङ, एयरबस र पछिल्लो समयमा निर्माण भएको उच्चस्तरको प्रविधि र सम्भाव्य जोखिम न्यूनीकरणका लागि यान्त्रिक सूचक भएको बिचक्राफ्ट र जेटस्टिम जहाज एवं प्राय: सबै प्रकारका हेलिकोप्टर दुर्घटना भइसकेका छन् ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतम हवाई सुरक्षा मन्त्रालयको प्राथमिकतामा रहने बताउँछन् । ‘सडक दुर्घटना तीव्र रूपमा बढिरहेकाले हवाई यातायातमा आकर्षण बढेको छ । यसलाई सुरक्षित, नियमित र विश्वसनीय बनाउन चुनौतीपूर्ण छ,’ गौतमले भने । सेवा प्रदायकले सुरक्षामापदण्ड पूरा गरे/नगरेको बारे कडाइका साथ अनुगमन गरिने उनले बताए ।
खराब मौसम र कमजोर प्राविधिक अवस्थाका बीचमा पनि चालक र वायुसेवा सञ्चालकले जहाज उडान गराउने गरेको दुर्घटनापछिका प्राय: सबै प्रतिवेदनमा उल्लेख हुने गरेको छ । तर वायुसेवा सञ्चालक संघ नेपाल (आओन) का प्रवक्ता सागर आचार्यले भने सबै वायुसेवा कम्पनीले आफ्ना पाइलटलाई मौसमको अवस्था हेरीकन निर्णय लिन स्वतन्त्र छाडेको बताए । कम्पनीले पाइलटलाई कुनै दबाब दिने नगरेको उनले दाबी गरे । ‘नेपाली कम्पनीले अन्तर्राष्ट्रियस्तरको हवाई सुरक्षा मापदण्ड कायम गरेका छन्,’ उनले भने । छानबिन आयोगले दिएका सुझाव कम्पनीले पालना गर्नैपर्ने भन्दै उनले यसो नभए प्राधिकरणले कारबाही गर्नसक्ने बताए । हरेक वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको हवाई सुरक्षा कमजोर रहेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । विश्वमै हवाई सुरक्षा कमजोर भएका मुलुकको सूचीमा नेपाल छ । आइकाओले उड्डयन नियमको कार्यान्वयन, उड्डयन सुरक्षामा भइरहेको काम, सुरक्षा निगरानी, प्राविधिक जनशक्तिको योग्यता र तालिम, हवाई सेवाप्रदायकलाई दिनुपर्ने निर्देशन, उड्डयन इजाजतपत्र प्रदान गर्दा अपनाउने विधि, अनुगमन र उड्डयन सुरक्षाको प्रतिबद्धताजस्ता बँुदालाई आधार बनाएर मूल्यांकन गर्छ ।

प्रतिक्रिया