अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र न्यूजिल्याण्ड बिजयी अफगानिस्तान बाहिरियो

मेलबर्न, ३१ साउन । समूहका सबै खेलमा सानदार जित हात पार्दै साविक विजेता अस्ट्रेलिया मंगलबार आइसिसी यु–१९ विश्वकप लिगचरणमा समूहविजेता भएर ‘सुपर–एट’ प्रवेश गरेको छ ।
इंगल्यान्ड र नेपालविरुद्ध सानदार जित हात पारेपछि मंगलबार आफ्नो तेस्रो तथा अन्तिम समूह खेलमा आयरल्यान्डविरुद्ध उत्रिएको घरेलु टोली अस्ट्रेलिया ६ विकेटले विजयी भयो र तीन खेलबाट ६ अंक बटुल्दै समूहविजेता बन्यो ।
समूह ए अन्तर्गत दुई खेलबाट दुई अंक जोडेको इंगल्यान्ड दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको आयरल्यान्ड र एक खेल खेलेको नेपालले अंक जोड्न सकेका छैनन् । समूहका शीर्ष दुई टोली सुपर–एट प्रवेश गर्नेछन् । पहिलो खेलमा इंगल्यान्डविरुद्ध ६ विकेटले विजयी भएको अस्ट्रेलियाले दोस्रो खेलमा नेपालविरुद्ध २१२ रनको जित हात पारेको थियो ।
सहज जित हात पार्ने क्रममा अस्ट्रेलियाले पहिला ब्याटिङ गरेको आयरल्यान्डलाई १२९ रनमा समेटेको थियो । ४०.३ ओभरमा चार विकेट गुमाउँदै अस्ट्रेलियाले लक्ष्य पूरा गर्‍यो । पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको अस्ट्रेलियाका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान विलियम बोसिस्टोले सर्वाधिक ३६ रनको योगदान गरे ।
मंगलबार नै भएका अन्य खेलमा विजयी हुँदै दक्षिण अफ्रिका र न्युजिल्यान्डले लगातार दोस्रो जित हात पारेका छन् भने भारतले पहिलो जित दर्ता गर्‍यो ।
समूह डी अन्तर्गत आफ्नो दोस्रो खेलमा नामिबियाविरुद्ध भिडेको दक्षिण अफ्रिका २०९ रनले विजयी भयो । प्रारम्भिक ब्याट्सम्यानद्वय क्विन्टन डे ककको १२६ तथा चाड बोएसको ११५ रनको योगदान गरेपछि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्ने क्रममा ३५९ रन जोडेको थियो । विशाल लक्ष्य पछयाउने क्रममा नामिबिया ४६ ओभरमा १५० रनमा सीमित भयो । नामिबियालाई अलआउट गर्ने क्रममा थेउनिस डे ब्रायनले चार विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि ३१.५ ओभरमा २१२ रनको साझेदारी गरी विशाल योगफलको आधार तयार गरेको थियो ।
समूह बी मा लगातार दोस्रो विजयप्राप्त गर्ने क्रममा न्युजिल्यान्ड आठ विकेटले विजयी भयो । १९९ रनको लक्ष्य पछयाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा १९० रन मात्र जोड्न सक्यो । अफगानिस्तानलाई दबाबमा राख्ने क्रममा न्युजिल्यान्डका ज्याकब डफी र म्याथ्यु क्विनले समान चार विकेट लिए । कुनै समय २६–५ को स्थितिमा रहेको अफगानिस्तान साताँै नम्बरमा ब्याटिङ गर्न आएका नाजिवुल्लाह जर्दानले ६९ र आठाँै नम्बरमा ब्याटिङ गर्न आएका अफ्सार खानले ४२ रनको योगदान गरेपछि जिततर्फ उन्मुख देखिएको थियो । अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक हुँदा अफ्सार दोस्रो बलमै आउट भएपछि अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट टोलीलाई हराएर प्राप्त गर्ने सफलताबाट टाढिएको थियो । लगातार दोस्रो हारसँगै अफगानिस्तान समूहचरणबाटै बाहिरिएको छ । समूहमा न्युजिल्यान्ड र पाकिस्तानको समान ४ अंक भएपछि एक मात्र खेल खेल्न बाँकी रहेको अफगानिस्तान समूहचरणबाटै बाहिरिएको हो । यस प्रतियोगितामा एसियाका टेस्ट मान्यता नपाउने टोलीमध्येबाट अफगानिस्तान र नेपाल सहभागी छन् । पहिलो खेलमा पाकिस्तानसँग पराजित अफगानिस्तान अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ ।
चार खेलाडीले मात्र दोहोरो अंक छुन सकेको न्युजिल्यान्डको इनिङमा मध्यक्रमका दुई ब्याट्सम्यानको प्रदर्शन मात्र स्मरणीय रहयो । रोबर्ट ओडोनेल (६९) र हेनरी वाल्स (५२) ले चौथो विकेटका लागि १०८ रनको साझेदारी गरे ।
समूह सी अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको भारत दोस्रोमा जिम्बावेलाई ६३ रनले हराएर अघिल्लो चरण प्रवेशको आशा कायम राख्न सफल भयो । २६२ रनको लक्ष्य पछयाएको जिम्बावे ४४.१ ओभरमा १९८ रनमा सीमित भयो । मेल्कम लेकले ११८ रनको इनिङ खेले पनि टोलीका नौ खेलाडी दोहोरो अंकमा रन जोड्न नसकेपछि निराश बन्नुपर्‍यो ।
३०–४ को स्थितिमा लेकले चौथो विकेटका लागि २९ रन जोडेका लुक जोंग्वेसँग ८७ रनको साझेदारी गरेका थिए । बलिङतर्फ भारतका कमल पासी एक्लैले ६ विकेट लिए । पहिलो विकेटका लागि १३९ रनको साझेदारी गर्दै भारतले निर्धारित ५० ओभर खेलेर चुनौतीपूर्ण योगफल तयार पारेको हो । प्रारम्भिक ब्याट्सम्यानद्वय प्रशान्त चोप्राले ५७ तथा उन्मुक्त चन्दले ७८ रनको योगदान गरे । समूहको अन्तिम खेलमा भारतले पपुआ न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

प्रतिक्रिया