केएफसी अनिश्चित कालका लागि बन्द

काठमाडौं, ३१ साउन । मजदुर हडतालका कारण राजधानीमा सञ्चालित बहुराष्ट्रिय रेस्टुरेन्ट केएफसी र पिज्जाहट बन्द भएको छ । व्यवस्थापकलाई आक्रमण गरेको भन्दै सञ्चालक देवयानी इन्टरनेसनल प्रालिले रेस्टुरेन्ट बन्द गरेको हो ।
त्यहाँ कार्यरत मजदुरले कम्पनीका मानव संशाधन विभाग प्रमुख कृष्ण शर्मालाई आक्रमण गरेको कम्पनीले बताएको छ । केएफसी र पिज्जाहटका दरबारमार्ग र थापाथलीमा छन् । विदेशी लगानीमा सञ्चालित ती रेस्टुरेन्ट अनिश्चित कालका लागि बन्द गरिएको व्यवस्थापन पक्षले विज्ञप्ति निकालेर जानकारी गराएको हो । कम्पनीमा एक सय ८० नेपाली कामदार संलग्न छन् ।
देवयानी इन्टरनेसनल नेपाल प्रालिका नाममा सञ्चालित रेस्टुरेन्टमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजको लगानी छ । यो समूहको लगानीमा बसुन्धरामा पार्क भ्यु होराइजन नामको मुलुककै ठूलो अपार्टमेन्टसमेत निर्माणको चरणमा छ । अमेरिकन चेन रेस्टुरेन्ट केएफसी र पिज्जाहट भने ०६७ मंसिरदेखि दरबारमार्गमा सञ्चालित छ । संसारभरि केएफसी र पिज्जाहटका ३५ हजारभन्दा बढी शाखा छन् ।
सरकारले सन् ०१२ लाई लगानी वर्ष घोषणा गरेको भए पनि बारम्बार बहुराष्ट्रिय कम्पनी बन्द भइरहेका छन् । यसअघि युनिलभर, सूर्य नेपाल र बर्जर पेन्ट्स पनि मजदुर आन्दोलनका कारण बन्द भएका थिए ।

प्रतिक्रिया