शम्भुजितलाई चित्त बुझेका दर्जन गीत


तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा
२०२८ सालमा रेडियो नेपालमा स्वरपरीक्षा पास गरेको थिएँ । त्यसपछि गीत रेकर्ड गराउनचाहिँ २०३० सालमा मात्र डेट पाएँ । उति बेलैदेखि म गीत लेख्ने र संगीत भर्ने गर्थें । मैले बनाएका घुमेर नाच हे मैच्याङलगायत गीतले केही चर्चा पाइसकेका थिए । यसैक्रममा एकचोटि विराटनगर जाने मौका मिल्यो । विराटनगरको एउटा गेस्ट हाउसमा बसेर मैले तिम्रो त्यो हँसिलो मुहार गीत लेखेँ । त्यसमा संगीत भरेँ ।
२०३३ सालमा त्यति बेला संघर्ष गरिरहेका दीपक खरेललाई त्यो गीत गाउन दिएँ । रेकर्डिङ भयो । यो गीतले निकै लोकप्रियता पायो, मलाई पनि संगीतकारको करियरमा नयाँ मोड दिलायो । उत्साह बढायो । त्यसपछि नै मेरो लेखन र संगीतयात्राले तीव्र गति समात्यो ।
पूर्णिमाको रात पनि औँसीको झैँ लाग्न थाल्यो
म संगीतकारका रूपमा केही चर्चित भइसकेको थिएँ । रत्न रेकर्डिङ संस्थाले उति बेलाका केही चर्चित संगीतकार र गायकलाई गीत रेकर्डिङ गराउन अवसर दिलायो । जसमा म पनि परेँ । त्यही अवसरमा मैले प्रेमभावना तथा जीवनका भोगाइहरूलाई समेटेर यो गीत लेखेँ, भावुक शब्दहरू मिसाएर । संगीत भरेँ । दीपक खरेलले नै गाएका हुन् । यी गीतले यति ख्याति कमायो कि जताततै मेरो चर्चा हुन थाल्यो ।
तिमीले भनेका सारा देव छोएर
यो गीत डा. विश्वम्भर प्याकुरेलले लेख्नुभएको हो । त्यति बेलासम्म मेरो संगीतमा दीपक खरेलले गाएका गीत हिट भएकाले यो गीत पनि उनैलाई दिने भनेर संगीत तयार पारेको थिएँ । तर, दीपकले त्यो गीतमा त्यति इन्ट्रेस्ट देखाएनन्, त्यत्तिकै स्टक राखिरहेको थिएँ । एक दिन रेडियो नेपालमा त्यो गीत त्यत्तिकै गुनगुनाइरहेको थिएँ, नारायण गोपालले सुन्नुभएछ । असाध्यै मन पराउनुभयो र भन्नुभयो– ‘यो गीत म गाउनुपर्ला जस्तो छ ।’ गीतकार प्याकुरेलकै निवासमा लगेर रिहर्सल गराएँ । स्वरसम्राट नारायणगोपालले यो गीत स्वर्णिम सन्ध्यामा पनि गाउनुभयो । पछिसम्म पनि भन्नुहुन्थ्यो– ‘मलाई मनपर्ने गीतमध्ये यो पनि एउटा हो ।’
पर्खिबसेँ आउला भनी मेरो उठने पालो
यो गीत त्यति बेलाको हो, जति बेला नीर शाह र म लामै समय सँगै उठबसमा थियौँ । त्यही सिलसिलामा उहाँले यो गीत कोर्नुभयो । मैले छोटो समयमै त्यसमा संगीत भरेँ । मैले सबैभन्दा छोटो समयमा संगीत भरेको गीत सम्भवत: यही नै हो । उदित नारायणलाई गाउन दिने सोच थियो । उनैलाई कुरेर बसिरहेका थियौँ । कताबाट स्वरसम्राट नारायणगोपालले थाहा पाउनुभएछ । भन्नुभयो– ‘यो गीत मलाई मन पर्‍यो, म आफैँ गाउँछु ।’ हामीले दियाँै । रेकर्डिङपछि यो गीतले यति चर्चा कमायो कि म मात्रै होइन, नीर दाइ र नारायणगोपाल पनि अचम्मित हुनुभयो ।
फेवातालको आँगनमा लैलै माछापुच्छ्र्रे
म पोखरा बारम्बार गइरहन्थेँ । त्यहाँको मनोरम दृश्यले मोहित पारेको थियो । केही सिर्जना गरुँगरुँ लाग्ने वातावरण । त्यसअघि पोखरा र फेवातालका बारे नीर शाह दाइले लेख्नुभएको तिमीसँग डुंगामा घुम्दाघुम्दै फेवाताल गीतमा संगीत भरेको थिएँ । यो गीतको प्रसिद्धिले मलाई पोखराबारे अर्को गीत पनि बनाउन मन लागिरेहको थियो । त्यही बेला पोखरामै दिनेश सुब्बाले यो गीत लेख्नुभयो । मैले डुंगामै बसेर यसमा संगीत सिर्जना गरेँ । प्रकाश श्रेष्ठले गाए । यो गीत अझै पनि उत्तिकै लोकप्रिय छ ।
मन्दिरमा छ कि मूर्तिमा माया
चलचित्र मायाका लागि गीतकार किरण खरेलले यो गीत लेख्नुभएको हो । अनि नेपालमै रेकर्ड भएको पहिलो चलचित्रगीत पनि हो । यसको संगीतलाई चलचित्रको विषयवस्तुसँग मेल गराउन प्रकाश थापा दाइले मलाई व्याख्या गरिदिनुभएको थियो । साहित्यकार वासु शशिको लेखनमा यो चलचित्र बनेको हो । यो गीत पनि नारायणगोपालले गाउनुभएको हो । खुब मेहनत गर्‍यौँ हामीले । गायक, म र निर्माणपक्ष बसेर धेरैपटक छलफल गर्‍यौँ । नारायण दाइ अशक्त हुनुहुन्थ्यो तैपनि निकै मेहनत गरेर गाउनुभयो । निकै चल्यो । नारायणदाइले आफूलाई मनपर्ने गीतको सूचीमा यसलाई पनि समावेश गर्नुभएको थियो ।
तीनपाते डाँडा काटेर
यो गीत राजनीतिज्ञ कमल थापाले लेख्नुभएको हो । आधुनिक गीतका रूपमा संगीत भर्न उहाँले मलाई यो गीत दिनुभएको थियो । उहाँले यो गीत दिँदा म दुई–तीन दिनदेखि चलचित्र युगदेखि युगसम्मको गीत कम्पोजिसनमा थिएँ । चलचित्रका लागि गीत खोज्दै जाँदा त्यही गीत उपयुक्त लाग्यो । निर्माताहरू पनि ‘होइन, हाम्रै चलचित्रमा राखौँ न’ भन्न थाले । चलचित्रमै राखियो । यति चल्यो कि फिल्म हिट हुनुमा यो गीतको पनि धेरै हात छ ।
मेरी वसन्ती प्यारी वसन्ती
चलचित्र वसन्तीका लागि नीर शाह दाइ र म मिलेर यो गीत तयार पारेका हौँ । त्यति बेला संगीतकै सिलसिलामा म ६ महिना नेपाल, ६ महिना मुम्बई बस्थेँ । मुम्बई मात्र के बस्नु अब नेपालमै गर्नुपर्छ सबैथोक भनेर नेपाल आएका बेला चेला स्वरूपराज आचार्यलाई यो गीत सिकाएको थिएँ । सुरुमा यो गीत शम्भु प्रधानको चलचित्रका लागि तयार पारिएको थियो । उहाँले मन पराउनुभएन । पछि नीर दाइलाई दिएँ । यो गीत दीप तुलाधरको स्टुडियोमा रेकर्डिङ गरायौँ । चलचित्रगीत भए पनि यसमा सुगम संगीत भरेको थिएँ । डायमनशमशेरको कथामा आधारित नीर शाहको महत्त्वाकांक्षी चलचित्रमा यो गीत समावेश भयो । यो गीतबाट मैले आफूलाई थप म्युजिकल फिल गरेको थिएँ ।
यो माया के हो आगो हो कि पानी हो
यो गीत करिष्मा मानन्धरको ढुकढुकी चलचित्रका लागि तयार पारिएको हो । उहाँले प्रेमभावना झल्कने एकदमै पीडामिश्रित गीत बनाउनुपर्‍यो भन्नुभयो । अनि चलचित्रको कथाको प्रसंग पनि व्याख्या गर्नुभयो । त्यसैअनुरूप यो गीत तयार पारेँ । रेकर्डिङ मुम्बईमा गरियो । भारतीय गायक रूपकुमार राठौरले गाएका हुन् । संगीत तयार गर्दा वा गाउन लगाउँदा मैले अधिक पीडाको भावना फिल गरेको गीत यही हो । यही मर्मस्पर्शिताका कारण यसले चर्चा पनि राम्रै पायो । यो गीत अहिले पनि दु:खका प्रसंगहरूमा उत्तिकै मेल खान्छ ।
म त अब रिसाउँछु बोल्दै बोल्दिनँ
यो गीत किरण खरेल दाइले लेख्नुभएको हो, शम्भु प्रधानको चलचित्र स्वर्गका लागि । किरण दाइ र म हारमोनियम र बँदेलको मासु लिएर शम्भु दाइको घर पुग्यौँ । मासु खाँदै गीत तयार गर्दै थियौँ । शम्भु दाइ सरस्वतीको सिर्जना पनि के मासु खाएर गर्नु भनिरहनुभएको थियो । किरण दाइ शब्द कोर्दै हुनुहुन्थ्यो, म संगीत भरिरहेको थिएँ । बाहिर पानी परिरहेको थियो । त्यही बेला किरण दाइ बाहिर निस्कनुभयो । पानी रोकिएर आकाश छ्याङ्ङ खुलेको थियो । त्यही देखेर गीतको एउटा लाइन फुरिहालेछ उहाँलाई– पानी परेपछिको आकाश खुलेझैँ । गीत राम्रो बन्यो, भारतीय गायक कुमार सानुलाई गाउन लगायौँ । कुमारलाई यो गीत सिकाएर गाउन लगाउन ठ्याक्कै एक दिन लाग्यो । यो ब्रिज मेलोडी प्रयोग गरिएको गीत हो । गीत सुन्ने सबैका मनमा फिलिङ्स जगाउन अनेक प्रयास गरिएका छन् ।
गैह्री खेतको शिरै हान्यो वर्षायामको दरौँदीले
यो गीत निर्देशक एवं गीतकार यादव खरेल दाइले लेख्नुभएको हो । चलचित्र हो, प्रेमपिण्ड । यो चलचित्रका गीत तीन जना संगीतकारलाई भाग लगाइएको थियो– म, शक्ति बल्लभ र न्ह्यु वज्राचार्य । मेरा भागमा दुइटा गीत थिए– चैत मास खडेरीमा र सपना हो यो । यो गीत मलाई दिइएको थिएन । पछि मलाई चारवटा गीत जिम्मा लगाइए । सबै गरेँ, यादव दाइले मन पराउनुभयो । म एकेडेमीमा थिएँ, यादव दाइ आउनुभयो र आएर गैह्री खेतमा पनि संगीत भरेर देखाउन भन्नुभयो । उहाँले धुन सुन्न खोज्नुभयो, दस मिनेटमा नेपालीपनको गीत कम्पोज गरेँ । उहाँले मलाई भारतीय कल्चर डुमरी र मुजराजस्तो गर्नु भन्नुभएको थियो । मैले कथाअनुसार लोकमा ढालेर सुनाएँ, उहाँले
मन पराउनुभयो । तत्कालै प्लेनमा मुम्बई पुग्यौँ र गीत रेकर्ड गरायौँ, आशा भोसलेको स्वरमा । गीतको केही अंशचाहिँ मैले प्लेनमै रहँदा कम्पोज गरेको थिएँ । यसै गीतका कारणले पनि प्रेमपिण्ड चर्चामा रह्यो । यो गीतले देशविदेशका विभिन्न अवार्ड हात पार्‍यो ।
रातो टीका निधारमा टलक्क टल्कियो
यो गीत मैले चलचित्र दैवसन्जोगका लागि बनाएको हुँ । तर, निर्माता मञ्जुकुमारले मन पराइदिएनन् । स्टक राखिरहेको थिएँ, पछि अशोक शर्माको अल्लारे चलचित्रमा प्रयोग गरिएको हो । उमेश पाण्डेको स्वरमा रेकर्ड गराइयो ।
एक दिन बिहानै घुम्न निस्किएको थिएँ । एक सैनिक बटालियनलाई निधारमा रातो टीका लगाएर हिँडिरहेको देखेँ । निकै व्यस्त थिएँ त्यति बेला, भ्याइनभ्याइ थियो । त्यही टीका टल्केको विषयलाई गीत बनाएँ । मञ्जुलाई सुनाएँ, उनले मनै पराएनन् । अशोक शर्माले चाहिँ अल्लारेका लागि यसलाई फिट बनाए । यो चलचित्रको कथा म आफैँले लेखेकाले पनि फिट भएको हुन सक्छ । गीत निकै हिट भयो । विदेश जाँदा पनि थुप्रै ठाउँमा बजेको सुनेको छु । विशेषगरी शुभ अवसरमा यो गीत बजाएको पाउँछु ।

किरण दाइ र म हारमोनियम र बँदेलको मासु लिएर शम्भु दाइको घर पुग्यौँ। मासु खाँदै गीत तयार गर्दै थियौँ। शम्भु दाइ सरस्वतीको सिर्जना पनि के मासु खाएर गर्नु भनिरहनुभएको थियो। बाहिर पानी परिरहेको थियो। त्यही बेला किरण दाइ बाहिर निस्कनुभयो। पानी रोकिएर आकाश छ्याङ्ङ खुलेको थियो। त्यही देखेर गीतको एउटा लाइन फुरिहालेछ उहाँलाई– पानी परेपछिको आकाश खुलेझैँ।
प्रस्तुति : कुवेर गिरी

प्रतिक्रिया