आफैंलाई नचिनेको कांग्रेस

झन्डै चार महिनाअघि पाँचबुँदे समझादारी गरेर सरकारको नेतृत्व गर्ने पालो कुरेर बसेको नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड र उनको दलको वास्तविक चेहरा बल्ल देखेको हुनुपर्छ । आफूभित्र अपार विषको घडा राखेर अमृत चुहाउँदै हिँड्ने नेपाली राजनीतिका सर्वाधिक अविश्वसनीय पात्र दाहालले वैद्यको नयाँ राजनीतिक दलद्वारा आयोजित गोलमेच कार्यक्रममा व्यक्त गरेका विचारले एकपटक फेरि नेपाली जनतालाई सस्तो मनोरञ्जन प्रदान गरेको छ । राजनीतिमा बेइमानीको उच्च स्थान हुन्छ भन्ने मान्यता बोकेका प्रचण्डको पछिल्लो अभिव्यक्तिले कांग्रेसलाई आफ्नो बाटो तय गर्न र लोकतन्त्रको सुनिश्चितताको अन्तिम लडाइँको तयारी गर्न मार्गप्रशस्त गरेको छ । खासगरी देश र दुनियाँले स्पष्टै थाहा पाउने गरी आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने भनेर गरिएको पाँचबुँदे समझदारीको औचित्य सकिएको र सडकबाट हिसाब किताब चुक्ता गर्ने उनको भनाइ गैरजिम्मेवारीको पराकाष्ठा हो । दुनियाँमा असान्दर्भिक भएको राजनीतिक मूल्य मान्यताका पक्षपातीहरूको यो गर्जन सहर पसेको चितुवाको गर्जनभन्दा माथि केही पनि हुन सक्दैन तथापि प्रचण्डको सम्मोहनमा लठ्ठिएको दल कांग्रेसले यो घटनालाई कसरी लिन्छ, हेर्न बाँकी छ । तर, कांग्रेससामु सत्ताको तुरुप फ्याँकेर आफ्नो दल दुई फ्याक भइसक्दा पनि ठूलो दलको पगरी गुथेर बसेका प्रचण्ड–बाबुरामहरूको वास्तविकता प्रकट भइसकेपछि आफ्नो यात्रा तय गर्ने अवसर आएको छ । संसारमा जसले कम्युनिस्टहरूलाई विश्वास गर्‍यो, ऊ निश्चित रूपमा भड्खालोमा पर्‍यो पर्‍यो । सबै कुरा अरूलाई झुक्याएर प्राप्त गर्ने नीति र दर्शन बोकेको राजनीतिक दलसँगको सहयात्राको परिणाम यस्तै नै हुन्थ्यो ।
कांग्रेसले आफ्नो शक्ति चिन्न सकेन । बिपी कोइराला चाउएनलाई र जवाहरलाल नेहरूका समकक्षी राजनेता हुनुहुन्थ्यो । चीनले सगरमाथामाथि दाबी गर्दा होस् या नेहरूले आफ्नो सिमाना हिमालसम्म भन्दा डटेर सामना गर्ने, सगरमाथामा आफ्नो स्वामित्व कायम राख्ने, नेहरूलाई माफी मगाउने क्षमता थियो उहाँमा । लोकतन्त्र र जनअधिकारका निम्ति कसैसँग सम्झौता नगर्ने बरु राष्ट्रियताका मामिलामा राजासँग घाँटी जोड्न तयार हुने विलक्षण गुण बिपीले प्रदर्शित गर्नुभयो । १५ वर्षको उमेरमा भारतीय स्वतन्त्रता संग्रामको दौरानमा जेल परेर सुरु भएको उहाँको जटिल राजनीतिक यात्रा जीवनभर कष्टकर रह्यो । प्रधानमन्त्री र गृहमन्त्रीका रूपमा पुगनपुग दुई वर्षबाहेक उहाँ कहिल्यै सत्तामा बस्नुभएन । जेल, प्रवास र क्यान्सर उहाँको जीवनका अभिन्न अंग बने । सुख, सुविधा र सत्तासँग कहिल्यै मिलाप भएन । त्यस्तो राजनेताले नेतृत्व गरेको दल आज माओवादीसँग आश गरेर बस्नु साँच्चै लाजमर्दो कुरा हो । प्रचण्डले शान्ति ल्याउँछन्, जनतालाई लोकतान्त्रिक संविधान दिन्छन् भन्ने कुरा नांगो बादशाहले राम्रा लुगा लगाएको छ भन्नु जस्तै हो । उनी आफ्नो राजनीतिक ‘ट्याक्टिस’ अनुसार चाल चलिरहेका छन् । यो यथार्थ बुझ्न कांग्रेसले साँच्चै नै ढिलो गर्‍यो । कम्तीमा संविधानसभा निर्वाचनपश्चात्का सवा चार वर्षमा उसका क्रियाकलाप मात्रै पनि उसलाई बुझ्न काफी थिए । उसको धुत्र्याइँ, चलाखी, कपट र षड्यन्त्रमूलक क्रियाकलाप सबैसामु छर्लंग हुँदाहुँदै पनि कांग्रेसले प्रचण्डमोह नछोड्नु उदेकलाग्दो नै थियो । सायद पछिल्लो राजनीतिक विकासक्रमबाट भने गतिलो पाठ पढेको हुनुपर्छ । हामी नेपालको इतिहासको सर्वाधिक संकटपूर्ण कालखण्डमा छौँ । अझ गम्भीर प्रश्न त के छ भने नेपाल तीव्र भुटानीकरणको प्रक्रियामा छ । आफ्नो पहिचान र स्वतन्त्रता नै नरहने हो या रहे पनि नाम मात्रको रहने हो भन्ने खतरा बढिरहेको छ । हाम्रो छिमेकी राष्ट्र भारतको अस्वाभाविक चासो र हस्तक्षेप हाम्रा लागि गम्भीर चिन्ताको विषय बनेको छ । यस्तो घडीमा कांग्रेस नेपाली जनताको आशाको केन्द्र किन बन्न सकिरहेको छैन ?
आज मुलुकमा समानान्तर रूपमा दुईथरी बहसहरू चलिरहेका छन् । एक, कांग्रेसबाहेक कुनै पनि तागतले (शक्तिले) मुलुक सञ्चालन गर्न सक्दैन । दुई, अब कांग्रेसको जीवनदायिनी शक्ति समाप्त भयो, यो दल असान्दर्भिक भइसक्यो । यी बहसहरूको गहिराइमा जान अत्यन्त जरुरी छ । के यो दलले मात्र मुलुक चलाउन सक्छ वा यसले आफू मियो बनेर अरू सबै दलहरूलाई विश्वासमा लिएर अघि बढ्न सक्छ या साँच्चै असान्दर्भिक भएर समाप्त हुन्छ ? कांग्रेस यथास्थितिमा चल्ने हो भने र सत्ता या प्रधानमन्त्रीको कुर्सीलाई अर्जुनदृष्टि लगाएर बस्ने हो भने पछिल्लो बहसले सार्थकता पाउने निश्चित छ । हामीले देखिसक्यौँ, २०४६ पछिका १२ वर्षलाई राम्ररी उपयोग गर्न नसक्दा नेपाली राजनीतिमा ठूलो दुर्घटना व्यहोर्नुपर्‍यो । सत्ताले के गर्‍यो ? प्रधानमन्त्रीको पदले के गर्‍यो ? हामी आफैँले जन्माएको लोकतन्त्र बचाउन सकेनौँ । लोकतान्त्रिक व्यवस्थामा अनेक खालका विकृति र विसंगति मौलाए, तिनलाई रोक्न सकेनौँ । निरंकुश मनसुवा बोकेर बसेको राजतन्त्र र चरम अधिनायकवादी चरित्र भएको माओवादी दुवै हामीमाथि हाबी हुन पुगे र अन्तत: पुन: जनतासँग हारगुहार माग्नुपर्‍यो । निकै ठूलो प्रयासबाट मात्र लोकतन्त्र पुनर्बहाली भयो । तर, दुर्भाग्य एउटा निरंकुशता ढले पनि अर्को अधिनायकवादलाई रोक्न सकेनौँ । यी सबै कमजोरी हामीबाट भएका छन् । तसर्थ अब हामीले उठ्ने कला नसिक्ने हो भने साँच्चै नै असान्दर्भिक हुन पुग्छौँ । राजनीति भनेको इतिहासको रटान या पुराणको वाचन होइन । विगतका गौरवहरूले वर्तमान त थेग्लान् तर भविष्य धान्न सक्दैन । भविष्यका लागि नयाँ गौरव र कीर्तिमान सिर्जना गर्न सक्नुपर्छ तर त्यो दिशामा छौँ त हामी ? गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ ।
जनतासँगको जीवन्त व्यवहारिक सम्बन्धले मात्र हामीलाई पुनर्जीवन दिन सक्छ । त्यसैले राष्ट्र र जनताको विश्वासिलो धरोहर बनिरहनका लागि वर्तमानका चुनौतीहरूसँग सामना गर्ने योग्यता विकसित गर्नुपर्छ । जनतालाई उनीहरूका सरोकारका हरेक विषयमा आश्वस्त तुल्याउन सक्नुपर्छ । विगतमा भएका गल्तीका लागि घर दैलोमा गएर माफी माग्नुपर्छ । जनताले राजनीतिक दलबाट न्यानो छहारी खोजेका छन्, आफ्नो दु:ख दर्दको ओखती खोजेका छन् र आफ्ना लालाबालाको सुनिश्चित भविष्य खोजेका छन् । यसको सुनिश्चितता कांग्रेसले गर्न सक्नुपर्छ । सँगसँगै एमालेलगायतका दलहरूसँग विश्वासिलो गठबन्धन बनाउनुपर्छ । साँच्चै प्रचण्डले जोरी खोजेकै हो भने उनलाई कांग्रेसको इतिहास सम्झाउँदै भविष्यको तयारी पनि देखाउनुपर्छ । यतिबेला हामीसँग बिपी, गणेशमान र गिरिजाबाबु छैनन्, एमालेसँग मनमोहन र मदनभण्डारी पनि छैनन् । आफ्नो राष्ट्रको भविष्यका लागि लड्न तयार लाखौँ युवा तम्तयार छन् । यही तागतमा स्वदेशी, विदेशी सबैखाले राष्ट्र विरोधीहरूलाई तह लगाएर समुन्नत र लोकतान्त्रिक नेपाल निर्माण गर्न आजैबाट यात्रा थाल्नुपर्छ ।

प्रतिक्रिया