नेपाली राष्ट्रियताका महान् स्रष्टा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुन् । जसले पृथ्वीनारायण शाहलाई मान्दैन, त्यस्तो व्यक्ति देशभक्त हुन सक्दैन । डा.बाबुराम भट्टराई नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाहसँग नकारात्मक रहिआएका छन् । २०६९ साउन २८ गतेको कान्तिपुरमा डा.बाबुराम भट्टराईको प्रधानमन्त्रीको हैसियतमा ‘राष्ट्रियता कसैको मागी खाने भाँडो हुन सक्दैन’ भन्ने विवादास्पद लेख लेखेर नेपालको राष्ट्रियताको उपहास गर्दै विदेशीलाई खुसी पार्ने मनसाशाय देखाएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्ता विवादास्पद लेख प्रकाशित गरेर नेपाली राष्ट्रियतामाथि खलल ल्याउने प्रयास गर्नु अक्षम्य कुरा हो । एसियामा नै आफ्नो प्रभुत्व जमाइसकेको त्यत्रो शक्तिशाली बेलायती साम्राज्यका विरुद्ध लडेर, कुनै विदेशी सहयोग नलिई, पृथ्वीनारायण शाहले एकल राष्ट्रिय राज्यको सिर्जना गरेको तथ्यगत इतिहासलाई उपहास गर्न खोज्नु जघन्य राष्ट्रघात हो । यसरी नै उनले २०६६ माघ २१ मा कान्तिपुरमा यस्तै विवादास्पद लेख लेखेका थिए– ‘पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे । पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पीडनमा आधारित थियो ।’ यस्तो गलत कुरा गोर्खामा नै जन्मी हुर्केका एक नेपालीलाई लेख्न शरम् हुनुपर्ने थियो । वास्तवमा दलाल टेक्नोक्य्राटहरूलाई राष्ट्रियताबारेमा गहिरो अध्ययन नहुँदो रहेछ । बाबुराम भट्टराईले राष्ट्रियताको परिभाषा बुझ्ने हो भने बलात्कृत राष्ट्रियताको पीडा बोकेका सिक्किमेहरूलाई भेट्नुपर्छ, भुटानी शरणार्थी शिविरमा रोएर बसेका भुटानीहरूलाई राष्ट्रियताको पीडा सोध्नुपर्छ ।
स्मरण होस्– पृथ्वीनारायण शाह एक मगर कन्याबाट आशीर्वाद लिएर विशाल नेपालको सिर्जनाको सिलसिलामा हिँडेका एक नायक हुन् । उनले काठमाडौं उपत्यका विजयपछि कुमारीको हातको टीका ग्रहण गरेर विशाल नेपालको परिकल्पना गर्दै, चार जात छत्तीस वर्णको फूलबारीको परिकल्पनामा सम्पूर्ण जातिको भाषा, धर्म र संस्कृतिलाई एक नेपाली संस्कृति र अनेकौँ जातमा विभाजित एकीकृत सम्पूर्ण जातिलाई एक नेपाली जातिमा परिणत गरेका थिए । मगर, गुरुङ, शेर्पा, बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, मुसलमान आदि इत्यादि सबै जात थरको सहयोगमा पृथ्वीनारायण शाहले पूर्वमा टिस्टा, पश्चिममा काँगडा र दक्षिणमा गंगासम्मको भूभागलाई बचाए । उनले यसक्षेत्रको अस्मितालाई जोगाउँदै अनेकतामा एकताको भावनाबाट उत्प्रेरित गर्नुका साथै एक सुदृढ नेपाली राष्ट्रियताको सिर्जना गरेका थिए । त्यसलाई मागी खाने भाँडोको संज्ञा दिनु बाबुराम भट्टराईलाई सुहाउँदैन । ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीतिले सबै राज्यका जनतामा विश्वासको भावना जागेको थियो । अनेकौं जातीय भाषाहरूको बीचमा नेपाली भाषा व्यापक भइसकेको छ । सबै नेपालीहरूको साझा भाषालाई राज्यको सरकारी भाषाका रूपमा रूपान्तर गरिएको र गोरखा राज्यको सट्टा नेपाल अधिराज्य घोषणा गरिएको थियो । बाबुराम भट्टराई दिउँसै आँखा चिम्लेर रात परेको भ्रममा हुनुहुँदोरहेछ । नेपालको राष्ट्रियतालाई बुझ्न उनले एकपटक पृथ्वीनारायण शाहको दिव्योपदेश अध्ययन गर्नु राम्रो हुन्छ ।
हिन्दू र बौद्धको अस्तित्व समाप्त पार्दै क्रिस्चियनीकरण गर्नु, राष्ट्रिय पोसाक हटाउँदै विदेशी पोसाक लगाउनु, एकीकृत राज्यलाई जातीय संघीय–राज्यहरूमा परिणत गराएर राष्ट्र विखण्डन गराउन अन्तराष्ट्रवादको संरक्षणमा नेपाललाई पुर्याउनु नेपालको राष्ट्रियता हुन सक्दैन । बाबुराम भट्टराईका व्यक्तिगत आयातीत विचारलाई नेपालको राष्ट्रियतामा कुनै स्थान छैन । उहाँले बुझे हुन्छ– हिमाल पहाड, उपत्यका, तराईमा बसोबास गर्दै आएका नेपालीहरू नेपाली राष्ट्रियतालाई विभाजन गर्न चहँदैनन् । पृथ्वीनारायण शाहभन्दा अगाडि कहाँ थिए नेपालमा जातीय राज्यहरू ? काठमाडौं, भक्तपुर, ललितपुर मल्ल राजाहरू, गोर्खा, बाइसी–चौबिसी राज्य, सेनवंशी राज्य आदि इत्यादि राज्यहरू मात्र थिए । नेवार, गुरुङ, मगर, लिम्बू, राई, थारू, राजवंशी, तामाङ, शेर्पा राज्यहरू कहाँ थिए ? सबै साना राज्यहरूमा विविध जातिहरूको बसोबासो थियो ।
फन्टुस व्यक्तिहरूलाई नै विदेशीले आफ्नो खेताला बनाउँदा रहेछन् । बाबुराम भट्टराई, कृष्ण सिटौलाजस्ता फन्टुस व्यक्तिलाई भारतीय गुप्तचर संस्था ‘रअ’ ले बाघ बनाएर नेपालको अन्धकार भविष्यका लागि प्रयोग गर्यो । यी दुवैको भनाइमा लागेर नेपाली कांग्रेस, एमालेका नेताहरू भारतीय ढलमा फसे । कृष्ण सिटौला र बाबुरामको छुट्टाछुट्टै पार्टी भए तापनि यिनीहरूको राजनीतिक घर भारतीय गुप्तचर संस्था ‘रअ’ नै रहेछ । बाबुराम भट्टराई जस्तो राष्ट्रिय राजनीतिमा शून्य ज्ञान भएका फन्टुस टेक्नोक्य्राट कसरी देशको प्रधानमन्त्री भए ? पिएचडी गर्दैमा मान्छेमा सिङ उम्रिने हो र ? यस्ता पिएचडीहरू, नेपालको राष्ट्रियताबारेमा चिन्तिन गर्ने दुई–चारजनाबाहेक, विदेशी पैसा खाएर नेपाल बेच्न खोज्ने कति छन् कति । लोकराज बराल पनि पिएचडी हुन् । तर, उनको पिएचडीको थेसिस सबै डा. ईश्वर बरालले लेखिदिएको कुरा उनले हामीलाई भन्थे । त्यस्तै पिएचडीमध्येका बाबुराम भट्टराई हुन् । नेपालविरोधी कुख्यात एसडी मुनीले यिनैलाई प्रयोग गरेर भारतबाटै माओवादी पार्टीको नाम जुराएको थियो भनिन्छ ।
०५५/५६ सालसम्म मैले पनि बाबुराम भट्टराईलाई एक देशभक्तका रूपमा लिएको थिएँ । राम्रै होलान् जस्तो लाग्थ्यो । तर, उनी रहेछन्– कुहिएको कुभिन्डो जस्तो, सिक्किमका ल्यान्डुपभन्दा खतरनाक । यिनी खतरनाक अपराधी रहेछन्– जसले कथित जनयुद्धको नाममा हजारौँ नेपाली जनताको हत्या गर्ने, अर्बौं मूल्यका राष्ट्रका पूर्वाधार नष्ट गर्ने, गाई काट्ने, देवमन्दिर भत्काउन लाउने, स्वास्नी मान्छेका सिन्दुर–पोते धुत्ने, किरियापुत्री, स्वतन्त्र पत्रकारहरू मार्न लगाउने, पृथ्वीनारायण शाहको शालिक भत्काउने र सत्तामा आएपछि राष्ट्रिय एकता दिवस नमान्ने, राष्ट्रिय पोसाक खारेज गर्ने, त्रिभुवनको शालिक भत्काउन निर्णय गर्ने, विक्रम संवत् हटाएर इस्वी संवत् लागू गर्न निर्णय गर्ने, संविधानसभा भंग गराएर संविधानविपरीत सत्तामा टाँसिइरहने, त्रिभुवन विमानस्थल सुरक्षाको जिम्मा भारतीयलाई दिन निर्णय गर्नेे, भारतको इसारामा सुपुदर्गी ऐन पारित गराउने, भारतमा बिप्पा सम्झौता गर्ने आदि इत्यादि राष्ट्रघाती निर्णय गरेर बाबुराम भट्टराईले आफूलाई विदेशी दलालका रूपमा आफँै प्रमाणित गराएका छन् ।
अत: यस्तै १५–२० जना कांग्रेस, एमाले, माओवादीभित्रका दलालहरूका कारण नेपाल खतरनाक मोडमा पुगेको हो । भारतपरस्त यी माओवादी नेता, २०५८ सालदेखि भारतीय प्रधानमन्त्रीसमक्ष बिन्तिपत्र हालेर नेपाललाई बिपत्तिमा फसाउन भारतीय गुप्तचर संस्थाका दाइने हात बनेर अझै नेपालीहरूको बीचमा साखिलो बन्न खोज्दै छन् । माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्रीसमक्ष भारतविरोधी गतिविधि नगर्ने र भारतीय स्वार्थअनुरूप नै काम गर्ने कबुलनामा गरेको खुलासा भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’ का पूर्वप्रमुख पिके हर्मिसले प्रचण्डले बाबुराम भट्टराईलाई साथ दिएर भारतको हितमै काम गरिरहेको भारतीय समाचारपत्र इन्डियन एक्सप्रेसमा पुष्टि गरेका छन् । यसरी राष्ट्रघातको कलंकबाट माओवादी नेता मुक्त हुन सक्ने अवस्थामा छैन । संविधानसभा खारेज भएपछि अन्तरिम संविधान पनि मरिसकेको छ । देश अहिले संविधानविहीन अवस्थामा छ । हैसियत गुमिसकेपछि पनि रामवरण यादव कुर्सीमा टाँसिएर बसेका छन् । यस अवस्थामा प्रधानमन्त्रीको समेतको हैसियत समाप्त भइसकेको हुँदा यी सबै कलंकहरूबाट मुक्त हुन बाबुराम भट्टराई चाहन्छन् भने अब उनीसँग एक मात्र उपाय छ– २०४७ सालको संविधानअनुसार राजा ज्ञानेन्द्रसमक्ष सत्ता हस्तान्तरण गर्नुु ।
प्रतिक्रिया