मल पाउनबाट किसान वञ्चित

सिरहा, २८ साउन । धान रोपाइँ गर्ने समयमा सिँचाइको अभाव झेल्दै आएका सिरहाका किसानले अझै रासायनिक मल पाउन सकेका छैनन् । किसानलाई सहज र सुलभरूपमा मल उपलब्ध गराउने जिम्मा पाएको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालयले किसानलाई मलखाद समयमै उपलब्ध गराउन नसक्दा उनीहरू अन्योलमा छन् ।

सरकारले समयमा मल उपलब्ध नगराउने र भारतीय बजारबाट किसानलाई खरिद गरी मलखाद ल्याउन पनि नदिनेजस्ता कार्यले आफूहरू अन्योलमा परेको सिरहाको मोहनपुर गाविसका रामचन्द्र मण्डल बताउँछन् । ‘एक बोरा मलका लागि बिहानदेखि पाँच घन्टासम्म लहानस्थित कृषि सामग्री कम्पनीको कार्यालयमा लाइन बसेँ तर पनि पाउन सकिनँ,’ उनले भने । चर्काे घाममा एक बोरा मलका लागि घन्टौँ लाइनमा बस्दासमेत मल नपाएपछि सरकारसँग गुनासो गर्नुबाहेक अरू केही नभएको उनको दु:खेसो छ । विगत वर्षजस्तै यो वर्ष पनि सरकारले आफूलाई समयमा मलखाद उपलब्ध गराउन नसकेको उनी बताउँछन् ।
एक बोरा मलका लागि दस किलो मिटर हिँडेर आउँदासमेत नपाएको, सिरहा महेशपुरका गुलम साह बताउँछन् । धान रोपाइँ गर्ने समयमा पर्याप्त वर्षा भएन, जसोतसो खेतमा रोपाइँ गरियो तर रोपाइँ गरिएको जग्गामा मल छर्न नपाउनु किसानमाथि अन्याय भएको उनको बुझाइ छ ।
सिरहामा बर्सेनि सिँचाइ र मल अभावमा धान उत्पादनमा कमी आइरहँदासमेत सरकारले त्यसतर्फ कुनै चासो नदेखाएको गुनासो जलउत्पन्न संघ सिरहाका अध्यक्ष पाण्डवकुमार मण्डलको छ । किसानको समस्याप्रति सरकार गम्भीर नभएकाले सरकारलाई थप दबाब दिन २९ साउनदेखि सिरहा, सप्तरी र उदयपुरका किसानले संयुक्तरूपले आन्दोलन गर्ने पनि उनले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा लहानका प्रमुख तेज कार्की सिरहामा चाहिनेजति मलखाद उपलब्ध नहँुदा आफूलाई समेत वितरण गर्न समस्या भइरहेको बताउँछन् । सिरहाका एउटा गाविसमा ६ हजार बोरा मल आवश्यक भए पनि यो वर्ष तीन सय टन युरिया र तीन सय टन डिएपी मल जिल्लाका एक सय ६ गाविस र दुई नगरपालिकाका किसानलाई क्षेत्रफलका आधारमा वितरण गर्नुपर्ने बाध्यता रहेको प्रमुख कार्की बताउँछन् । आवश्यकताअनुसार रासायनिक मल आपूर्ति नहँुदा यो वर्ष सिरहामा खाद्यान्न संकट आउने आशंका गर्दै उनले मलखाद आपूर्ति भए किसानलाई राहत महसुस हुने र कालोबजारीमा समेत कमी आउने बताए ।

प्रतिक्रिया