“गाई हराएपछि लुकेर बसेँ”

भाइबहिनी हो, मेरो जन्म २००३ साल साउन १५ गते प्युठानको खैरा गाविसस्थित कुसमारुखमा भएको हो । एक बहिनी र सात भाइमध्ये म जेठो हुँ । बुबा पाठशालामा शिक्षक हुनुहुन्थ्यो ।
गाउँमा बिजुली थिएन, खरले छाएका घर हुन्थे । खानेपानीको बडो गाह्रो थियो, फारो गरेर चलाउनुपथ्र्यो । झिमरुक खोला गाउँमै कलकल गरेर बग्थ्यो तर त्यो पानी खाने चलन थिएन । अहिलेजस्तो यातायात साधन नहुँदा हामी फुच्चे जहाँ जाँदा पनि आफ्नै गोडाको गाडीमा सवार भएर लखरलखर हिँड्थ्यौँ ।
कखरा सिलोट र पाटीमा बुबाले लेख्न र चिन्न सिकाउनुभयो । प्युठानमा बुबाले पढाउने पाठशालामा पढ्न जान्थेँ । पछि दाङमा फुपूको घरमा बसी संस्कृत पाठशालामा भर्ना भएँ ।
फुच्चे बेलामा म अन्तर्मुखी स्वभावको दुब्लो, पातलो र छरितो बच्चा थिएँ । घरमा मलाई सबै जना प्यारो गरी बच्चु र बच्चे भनेर बोलाउँथे । समग्र पढाइमा ठीकै भए पनि म कक्षामा तेज खालकै विद्यार्थी थिएँ । दर्शनशास्त्र विषयमा सिपालु र गणितमा फुस्सा अर्थात् अधकल्चो थिएँ । त्यति बेलाका गणितका मास्टरको शारीरिक बुनोट हेर्दा उनी खाइलाग्दा, गठिलो, फुर्तिला र गतिला देखिन्थे । पढाउन थाल्दा बल्ल के थाहा हुन्थ्यो भने ती त हात्ती आयो हात्ती आयो फुस्सा रहेछन् † दुनोट पनि विद्यार्थीलाई नै लेख्न लगाउने, फितला मास्टर पो रै’छन् । त्यसैले धेरैजसो विद्यार्थी गणितमा फेल हुन्थे । पाठशाला जाँदा राम्रो पहिरनको विभिन्नखाले कहिरन हुन्थ्यो । कहिले झोला भिरेर सेतो पाइजामा अनि बुट्टा भएको कमिज लाएर खाली खुट्टा नै पाठशाला जान्थेँ । कहिलेचाहिँ दौरासुरुवाल र हातमा किताबकापी, माथमा टोपी लगाएर खुट्टामा हवाई चप्पल प्याटप्याट पार्दै आधा घन्टा टाढाको पाठशाला जान्थेँ ।
बालवयमा त्यति बेलाका प्रख्यात व्यक्तिमा त्रिभुवन, मोहनविक्रम र भरत शमशेरको नाम सुनेको थिएँ । त्रिभुवन मर्दा सबैले कपाल फालेको देखेर म पनि मुडुलो र चिन्डे भएको थिएँ । भरतशमशेर भाषण दिन दाङ आएका थिए । म पनि भाषण सुन्न गएँ । उनी मोटोघाटो, रातोपिरो खाइलाग्दा हिरोजस्तै थिए । उनले भाषण दिन सुरु मात्र के गरेका थिए, एक्कासि त्यहाँ के भयो कुन्नि मेरो कलिलो दिमागले बुझ्नै सकेन । त्यहाँ त उपस्थित भएका सबैले ढुंगा पो बर्साउन थाले । भरतशमशेरलाई लखेट्न थाले । हामी वाल्ल र ट्वाल्ल परेर लाटोबुंगोझैँ कहिले ढुंगो र कहिले भाग्दै गरेका भरतशमशेरलाई रमितेझैँ हेरिरहेका थियौँ ।
सानो बेलामा घरको काम मनग्गे गर्नुपथ्र्यो । घाँस काट्ने, भकारो सोहोर्ने, खेतबारीमा सघाउने, दूध दुहुने, गाईबस्तु चराउन जानेजस्ता एउटा गाउँले केटाको भागमा पर्ने काम म बडो तदारुकतासाथ सामिल भएर तामिल गर्थें ।
बालवयमा काम गर्ने, खाने र पढ्नेभन्दा पनि खेल्नमा बढी ध्यान र आनन्द आउँथ्यो । गोठालो जाँदा डन्डीबियो र बाघचाल खुबै खेल्थ्यौँ । कहिलेकाहीँ खेलमा कति साह्रो भुल्थ्यौँ भने बस्तुले अर्काको बाली खाइदिन्थ्यो, हामीले मन नलागी–नलागी टन्नै पेटभरि अर्काको गाली खानुपथ्र्यो । अलि ठूलो भएपछि ब्याडमिन्टन, भलिबल र भकुन्डो पनि खेलियो तर सबै खेलमा अरूले जितिहाल्थे । म कुनै खेलमा पनि सिपालु थिइनँ र नजान्ने आलु पनि थिइनँ । ठीकठीकैको कामचलाउ खेलाडी ।
एकपटक गाई हरायो । गाली खाने डरले मुख टाली नबोली बसेँ । हाम्रा दुइटा घर थिए । एउटामा बस्ने र अर्को घरमा सरसामान, गाईबस्तु राखेर रातिराति सुत्ने मात्र । त्यो घर प्राय: खाली नै हुन्थ्यो । गाली खाने डरले त्यही घरमा लुकेर बसेँ । बस्दाबस्दै निदाएँछु । ब्युँझिएपछि सबैले मलाई गाईबारे नै सोधपुछ गर्न थाले । बच्चु पनि कम कच्चु थिइनँ । बोल्यो कि पोल्यो हुने ठाउँमा मौनी बाबाझैँ नबोली बसिराखेँ । गाउँका काका झारफुक गर्नुहुन्थ्यो । उहाँले मलाई ध्यानले नियाल्दै र भीडलाई पन्छाउँदै भन्न थाल्नुभयो, ‘खैखै हावा छाड्, बच्चेलाई भूत लागेछ, भूतलाई मन्छिनुपर्छ ।’ अनि मलाई बोकेर घर लगियो, मैले गाली खानुपर्ने ठाउँमा सहानुभूति पाएँ । बालवयको फुच्चे बच्चु भूतलाई सम्झिँदा मलाई अहिले पनि काउकुती लाग्छ, भाइबहिनीहरू †
सानोमा खेरामा कान्छी आमालाई सर्पले टोकेको देखेको थिएँ । मलाई पनि सर्पदेखि साह्रै डर लाग्थ्यो । विद्यार्थी जीवनमा कसैको बारीको अम्बा, कसैको बारीमा कोसा नसोधी टिपेर पक्कै खाइयो । त्यसलाई चोरी भन्न मिल्दैन, त्यो त विद्यार्थीहरूको हकमा नै पथ्र्याे । दशैँको लामो बिदामा बुबालाई खेतीपातीको काममा सघाउथेँ । तिहारको बिदामा दाङमै बसेर पाठशालाको पुस्तकालयका लागि पुस्तक किन्न भैली खेलेर थैली जम्मा गथें । पाठशाला जाँदा खाजा खाने चलन खासै थिएन । पैसा हुनेहरू खान्थे, नहुनेहरू हेर्थे । कहिलेकाहीँ म पनि खान्थेँ, अरू हेरेर बस्थे । पाठशालामा नाचगान र कवितागोष्ठी हुन्थ्यो । नाचगानमा तर्केर हिँड्थेँ, कवितागोष्ठीमा चाहिँ नाम छुट्ला कि भनेर गुरुतिर फर्केर बस्थेँ । गाउँमा शिक्षकभन्दा ठूलो मान्छे नदेखेको हुनाले सानोमा मेरो पनि शिक्षक बन्ने पुन्टे सपना थियो । स्कुले जीवनको अन्त्यतिर लुकेर चुरोट पनि तान्थेँ । १६ वर्षको उमेरमा रेडियो सुन्ने र बिए पास गरेपछि ‘तिसरी कसम’ भन्ने फिल्म हेर्ने मौका पाएँ ।
पाठशालामा वार्षिक जाँच चल्दै थियो । समयभन्दा पहिलो पाठशाला पुगेँछु । समय कटाउन पाठशालाछेउकै होटेलमा छिरेर चिया खान थालेँ । बेला भएपछि जाँच दिन कक्षाकोठामा गएँ । जाँच सुरु भयो, गुरुले खुरुखुरु प्रश्नपत्र बाँड्न थाल्नुभयो । अरू साथी प्रश्नपत्र पढ्दै धमाधम लेख्न थाले, मचाहिँ प्रश्नपत्र पढ्दै खोक्न थालेँ । मलाई रिँगटा चलेर भाउन्न भयो । टाउको घुम्न थाल्यो, वाकवाकी लागेर बान्ता पनि भयो । केही सीप नलागेपछि म त्यहीँ सुतेँ । जाँच सकिन २०–२५ मिनेट बाँकी हुँदा गुरुले सकेदेखि लेखोस् भनेर मलाई उठाउनुभयो । मैले जाँच दिएँ । पछि चाल पाइयो– एउटा फटाहा, उपद्रे र उट्पट्याङले जाल गर्दै मेरो चियामा भाङ पो हालिदिएको रहेछ । धन्य † दाङमा पढ्दा भाङ खाएर पनि जाँचमा बल्ड्याङ भने खाइनँ । भाइबहिनी हो, २०१९ सालमा १६ वर्षको उमेरमा जनता मावि, बिजौरीबाट पूर्वमध्यमा उत्तीर्ण गरेपछि मेरो पाठशाला जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया