लिलिपुट लीला

चिउरीडाँडाका लीला कामी अलि पुड्का थिए । सानैमा आमा मरेकी, बाबुले अर्को विवाह गरेका । सौतेनी आमाको घरमा हुर्केका लीलाका आºनै दु:ख थिए । उनी सानैदेखि नै समस्यामा बाँचेको गाउँका अरूलाई थाहा थिएन । सानीआमाले जन्माएको सानो भाइ बढेर उनीभन्दा ठूला भइसकेका थिए तर लीला पुड्को नै रहे । उनी हलक्क बढ्न सकेनन् । गाउँमा सबै उनलाई जिस्काउँदै लिले भन्थे भने रिस उठ्दा लिलिपुट भन्थे । सबैले हेपचेप गरे पनि लीला केही भन्दैनथे, सहेर बस्थे । अरू विकल्प पनि थिएन । म किन लिलिपुट भएँ भनेर लीला निकै सोच्थे । उनलाई आफूभन्दा भाइ किन ठूलो भयो भनेर डाह हुन्थेन । किन सानो रहेँ भनेर सोच्थे, उनीसँग जवाफ पनि थिएन । कसैलाई सोध्न पनि उनलाई असाध्यै डर लाग्थ्यो । घरमा केही कुरा सोध्दा त सानीआमाले कहिले तातो चिम्टाले पिटेर तर्साउँथिन्, बाबुलाई केही भने उल्टै झपार्थे र पिटेर रुवाउँथे । त्यसैले लीला कसैलाई सोध्न त के बोल्नसमेत डराउँथे । डरपोक थिए । १२ वर्ष हुँदा पनि अरूभन्दा निकै कमजोर र होचा भएका लीला गाउँमा पनि कम निस्कन्थे ।
एक दिन गाउँमा एउटा युवक आए । गाउँका सबैले उनलाई अंकल भने । गाउँका बालबालिकालाई मीठामीठा कथा सुनाएर पढाइप्रति रुचि जगाउने र बालबालिकालाई विद्यालय पठाउने अभियानका लागि उनी आएका रहेछन् । सुशान्त अंकल थियो उनको नाम । उनी गाउँका सबै बालबालिकालाई विद्यालय गएर पढ्नुपर्छ भनेर सम्झाउँथे । भर्खरका बालबालिकालाई त पढ्न जान सजिलो थियो, लीलाको भने विद्यालय जान समय नाघिसकेको थियो । तर, उनलाई पनि विद्यालय जान मन लागेको थियो । भाइ मात्रै पढ्न जान्थे । उनी सधैँ आरनमा काम गर्थे । बाबुलाई तातो फलाम कुट्ने काममा सघाउँथे । उनले कहिल्यै पनि बाबुलाई स्कुल जान्छु भन्न सकेनन् र बाबुले पनि विद्यालय जा भनेको थाहा थिएन ।
बालबालिका भेला भएर सुशान्त अंकलको कुरा सुनेर सबै घर गए । तर, लीला बसिरहे । उनी केही भन्न खोजिरहेका थिए । अंकलले बिस्तारै हात समात्दै उनलाई सोधे, ‘के भयो लिलु घर गएनौ ?’ लीला केही बोलेनन् । उनलाई बोल्न हिम्मत पनि आएन । बरु डर लाग्यो, कतै पिट्ने हुन् कि † किनभने उनलाई पिटाइसँग निकै डर थियो । घरदेखि गाउँका सबै उनलाई पिट्थे । उनी रोएर दिन बिताउँथे । लीला चुपचाप लागेको देखेर अंकलले चक्लेट दिँदै भने, ‘ल यो चक्लेट खाऊ र मलाई सबै कुरा भन तिम्रो बारे ।’ लीलाले चक्लेट त समाते तर उनलाई चक्लेटको र्‍यापर खोल्न आएन । अनि अंकलले नै र्‍यापर खोलेर दिए । लीलाले पहिलोपटक मीठो, स्वादिलो चक्लेट खाए । ‘अंकल किन मानिस पुड्को हुन्छ ?’ लीलाले डराएर प्रश्न गर्‍यो । सुशान्त अंकलले खुसी हुँदै भने, ‘स्याबास, तिमीले राम्रो कुरा सोध्यौ ।’ अंकलले सबै कुरा सुनाए । जुन कुरा लीलाको जीवनसँग ठ्याक्कै मेल खायो । जन्मेर आमाको दूध पर्याप्त खान नपाएपछि बालबालिका स्वास्थसँग हुर्कन पाउँदैन । तागतिलो र पोसिलो खानेकुरा खान नपाउँदा पनि उमेरअनुसार बालबालिकाको शरीर विकास हुन पाउँदैन, समस्या आउँछ । बालबालिका होचा, पुड्का हुन्छन् । त्यसपछि उमेरअनुसार लगाउनुपर्ने विभिन्न खोपको मात्रा पनि पूरा भएन भने बालबालिकाको शरीरमा अनेक रोग लाग्छ । त्यस्तै बालबालिकालाई घरमा मायालु र समाजमा मैत्री वातावरण हुनुपर्छ । अनि मात्र एउटा बालकको बौद्धिक र शारीरिक विकास हुन्छ । नत्र त लिलिपुट भइहाल्छ नि † सुशान्त अंकलले भनेको कुरा चाख लिएर सुने लीलाले ।
अंकलले भनेका सबै कुरा लीलाको जीवनसँग मेल खाएका थिए । अंकलले भनेभन्दा फरक थिएन उनको अहिलेसम्मको अनुभव । उनलाई बालबालिकाले लगाउने खोप लगाएको थाहा थिएन । अहिले पनि गाउँमा पोलियो र भिटामिन खुवाउने भन्दा उनी छक्क पर्थे । कसैलाई सोधे तँ लिलिपुटलाई के थाहा भनेर गाली गर्थे । त्यसैले लीला कसैलाई सौध्दैनथे । तर, लीलालाई आज आºनो जीवनबारे धेरै कुरा थाहा भयो । अंकललाई सोधे, ‘मलाई पनि पढेर असल मान्छे हुने रहर छ, के पुड्को मान्छे पढेर असल हुन सक्दैन ?’
लीलाका कुरा सुनेर सुशान्त अंकलले गाला सुम्सुम्याउँदै भने, ‘तिमीलाई पढ्ने व्यवस्था म गर्छु बाबु ।’ त्यसपछि सुशान्त अंकलले लीलाका बुबालाई भेटेर सबै कुरा सम्झाए । सुरुमा त उनका बुबा मानेका थिएनन् । तर, पछि छोरा पढाउन तयार भए । त्यसपछि लीलाले पढ्न थाले । उनले सुरुमा घरमै बसेर स्वअध्ययन गरे । उनको पढाइ तेज थियो । केही समयमै उनी पढाइमा अब्बल भए, एकैपटक विद्यालयमा कक्षा चारमा पढ्ने भए । कक्षामा उनी सबैभन्दा जान्ने भए । हिजो उनलाई जिस्क्याउने, हेप्नेहरू साथी भन्न थाले । गाउँमा अरू दलितका छोराछोरी, होचापुड्कालाई पनि पढाउनुपर्छ भन्दै लीला जनचेतना फैलाउन थाले । उनी गाउँमा बालक्लबका अध्यक्ष भएर अहिले सामाजिक अभियन्ता भएर हिँडेका छन् । सुशान्त अंकल पनि आºनो मेहनत सफल भएकामा खुसी छन् ।
राम्रो काम गरेकाले अचेल गाउँका सबै लीलालाई लिले र लिलिपुट भनेर जिस्काउँदैनन् । घरमा पनि सानीआमा, बुबाले माया गर्छन् । राम्रो काम गर्न सके सबैले राम्रो भनेर माया गर्छन् भनेर लीलाले थाहा पाएका छन् । गाउँमा अचेल सबै लीलाबाबु भनेर बोलाउँछन् । हिजो उनलाई जिस्काउनेलाई चैँ लिलेको लिलिपुट भइस् भनेर अभिभावक गाली गर्छन् । लीला उनीहरूका आमाबाबुलाई पनि लिलिपुट भनेर होच्याउन हुन्न भनेर सम्झाउँछन् । लीला गाउँका सबै बालबालिकाका प्रतिनिधि पात्र भएका छन् । गाउँका सबै अचेल बालबालिकालाई लीलाजस्तो ज्ञानी र अशल मान्छे हुनुपर्छ नत्र त लिलिपुट भइन्छ भनेर सम्झाउँछन् ।

प्रतिक्रिया