किताब माने जिन्दगी

थोत्रो कोट लगाऊ, नयाँ पुस्तक किन †’ छड्के पारेर काटेको बाँसको चोयाले मसिमा चोपेर सादा कागजमा लेखेर पानाभरिको यो उक्ति मैले मेरो कोठामा भित्तामा टाँसेको थिएँ । तर, जतिबेला ती उक्तिहरू मेरा कोठाको भित्तामा टाँसिएका थिए, त्यसबखत न त म थोत्रै भए पनि कोट लगाउन सक्ने हैसियतको थिएँ, न त नयाँ पुस्तक किन्न सक्ने हैसियतमै । खासमा भन्नुपर्दा घरमा पठन संस्कृति थिएन । यहाँसम्म कि स्वस्थानी व्रतकथाको किताबसमेत फापेन भनेर छिमेकलाई दिएका रहेछन् । मैले अहिलेसम्म स्वस्थानीको कथा पनि आंशिक रूपमा मात्र सुनेको वा पढेको छु । तैपनि, खै कसरी हो सायद ममा पुस्तक वा अध्ययनप्रति एक प्रकारको मोह चाहिँ रएछ । त्यसैले मैले भित्तामा कसैको, कतैको देखासिखी गरेर टाँसेछु, ‘थोत्रो कोट लगाऊ, नयाँ पुस्तक किन †’
हाम्रो घरको जुन तलामा भान्छा हुन्थ्यो सामान्यतया त्यसैको एक कुनामा पिताजीको पूजाकोठा रहन्थ्यो । पूजाकोठा नै त हुँदैनथ्यो, एउटा कुनोचाहिँ त्यसका लागि सुरक्षित हुन्थ्यो । मैले तीन कक्षा पास गर्दैगर्दा मेरो व्रतबन्ध भएको थियो । त्यसपछि बुबाको अनुपस्थितिमा मैले आक्कल झुक्कल पुजाकोठा सम्हाल्न थालेँ । एउटा भुइँ टेबल थियो जसको भित्तापट्टि अर्को सानो खटिया जस्तोमा केही थान शालिग्राम, केही साना धातुका मूर्ति र ठीक माथि भित्तामा देवीदेवताका एक दुई तस्बिर । जम्माजम्मी तिनै थिए, मेरा पिताजीका भगवानहरू । उक्त भुइँ टेबलको दाहिनेतिरको छेउमा कपडाको रुमालजस्तोले बाँधेका तर पूरै नढाकिएका त्यस्तै छ/सात थानजति मोटा मसिना किताबहरू पनि थिए । नवरात्रिका बेलामा जमरा राखेको समयमा पूजाकोठा अलि भव्य लाग्थ्यो मलाई । र, पिताजी धेरै समय पूजाआजामा बिताउनुहुन्थ्यो । हो, त्यतिबेला मात्र उहाँले त्यसमध्येका केही किताब निकालेर ठूला स्वरमा पढेको सुनेको थिएँ । नत्र ती पुस्तक त्यही पोकोमा नै रहन्थ्यो । पूजा गर्दा सायद त्यसमा पनि अक्षता चन्दनादि चढाउनुहुन्थ्यो कि † र, शालिग्रामलाई स्नान गराउँदा (हामीचाहिँ त्यसलाई देउता पखाल्ने नै भन्थ्यौँ) वा जल चढाउँदा होला सायद ती किताबमा पानी परेर कक्रक्क परेका हुन्थे । झन् चन्दन, अबिरको छिर्के रंगहरूको प्रभावले ती कुनै पुरातात्त्विक अवशेषहरू जस्ता भइसकेका थिए ।
सायद म पाँच वा ६ कक्षातिर थिएँ । एक दिन मैले त्यो पोको खोलेँ । त्यहाँ एउटा पकेट साइजको गीतासहित अन्य तीन–चार धार्मिक किताब र साथमा ललितजंग सिँजातिको ऐतिहासिक कथासंग्रह, पं. बदरीनाथ भट्टराईको पौराणिक कथासंग्रह र नेपाली भाषान्तरणसहितको चाणक्य नीतिको किताब पनि रहेछ । मैले जतनपूर्वक ती किताब निकालेँ । खजमज परेका पानाहरू मिलाएँ र राष्ट्र बैंकको क्यालेन्डरका पाना च्यातेर तिनमा जिल्ला लगाएँ । अनि, क्रमश: ती पढ्न थालेँ । रुचिकर लाग्दै जान थाल्यो । तिनैलाई दोहोर्‍याएँ । र, मैले विद्यालयमा पढाइने पाठभन्दा परतिरको पुस्तकको रुचि निर्माणतिरको पाइला चालेँ ।
हुर्कंदै गर्दा मेरो टोलको ज्ञान प्रभात पुस्तकालय र चाबहिलको मित्र वाचनालय नै मैले सबैभन्दा पहिले धेरै पुस्तकलाई एकैपटक देखेका ठाउँहरू थिए । ज्ञान प्रभातमा नेपाली साहित्यका पुराना किताब, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सत्यमोहन जोशी, भीमनिधि तिवारी, गुरुप्रसाद मैनाली, लैनसिंह वाङ्देल, रमेश विकललगायतका किताब पढ्न पाइन्थ्यो । त्यो प्रारम्भिक काल थियो मेरा लागि । त्यतिबेला पढ्न खुब रुचिकरचाहिँ भीमनिधि तिवारीका सामाजिक कहानी संग्रहको शृंखला लाग्दथ्यो ।
चाबहिलस्थित मित्र वाचनालयचाहिँ नेपालीलगायत भारतीय, रुसि, चिनियाँ साहित्यका लागि समेत राम्रो स्रोत थियो । चाबहिल क्षेत्रको बौद्धिक र राजनीतिक इतिहासमा उक्त मित्र वाचनालयको विशिष्ठ स्थान थियो । माध्यमिक तह भर्खर पार गर्दै गरेको मेरा लागि प्रेमचन्द, निर्मल वर्मा, महाश्वेता देवी, यशपाल आदि भारतीय लेखकका कृति थाहा पाउनु र पढ्न पाउनुले मेरो साहित्यिक रुचिलाई पनि परिष्कृत गरिदियो जस्तो लाग्छ । त्यस्तै मक्सिम गोर्की, लियो टल्सटय, आन्तोन चेखब, पाब्लो नेरुदा, निकोलाई आस्त्रभोस्की आदि रुसी साहित्यकारलाई थाहा पाउन र पढ्न त्यस मित्र वाचनालयले नै सिकायो । लुसुनका रचनाहरू र अनुदित चिनियाँ कथाहरूसँगको परिचय त्यति नै बेला भएको थियो । त्यतिबेला अर्थात् विक्रमको ३० को दशकको अन्ततिर र ४० को दशकको सुरुतिर पढेका ‘आमा,’ ‘अग्निदीक्षा,’ ‘युवाहरूको गीत,’ ‘चक्कर क्लब’, ‘आदिविद्रोही,’ ‘हजार चौरासी ओं कि मा’, आदि मेरा लागि अहिलेसम्मकै प्रिय कृतिका रूपमा रहेका छन् । ती पुस्तकले मेरो साहित्यप्रतिको मोह र राजनीतिक चेतना निर्माणमा पनि सहयोग गरेका थिए । यद्यपि, ती पुस्तकका प्रभावले न मलाई साहित्यको मुकामसम्म न राजनीतिको खालसम्म डोर्‍याउन सके †
पछि आइएस्सी पढ्दाताका र त्यसपछि ‘बोर्डिङ स्कुल’मा पढाउन थालेपछि अंग्रेजी सिक्ने धुनमा अमेरिकन लाइब्रेरी र ब्रिटिस काउन्सिलतिर जाने गरियो । अमेरिकी पुस्तकालय न्युरोडमा थियो । त्यहाँ पत्र—पत्रिका र केही विज्ञानसम्बन्धी म्यागाजिन हेर्न गइन्थ्यो भने ब्रिटिस काउन्सिलमा चाहिँ सदस्य नै थिएँ । त्यसैले कनीकुथी गरेरै भए पनि अंग्रेजीमा पढ्ने बानी बसाल्न सहयोग गर्‍यो । ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड,’ ‘ओल्ड म्यान एन्ड द सी,’ ‘टु सर विथ लभ,’ ‘द गुड अर्थ,’ ‘एनिमल फार्म,’ ‘अ ब्रेभ न्यु वल्र्ड,’ ‘डन क्विसोट,’ ‘रस्सेल्स वेस्ट,’ आदि मैले प्रारम्भिक चरणमा अंग्रेजीमा पढेका किताबमध्येका थिए । जुन मेरो रुचिको किताब सूचीमा आजसम्म पनि रहिरहेकै छन् । तीमध्ये केही मैले पछि दोहोर्‍याएर पनि पढेँ ।
फैलँदो बाम राजनीतिबाट प्रभावित मेरा स्थानीय अग्रजहरू, उनीहरूका पठन रुचि र मेरो सामाजिकीकरणका कारण माथि उल्लेख गरेजस्ता किताब र व्यक्तिमा मेरो परिचय गराइयो र पछि त्यही मेरो पनि रुचि बन्यो भन्ने मलाई लाग्दछ ।
स्नातकोत्तर पढ्न थालेपछि मेरो पढ्ने रुचिमा पनि विविधता आयो । अर्थात् पढ्न पर्ने र पढ्न मन लाग्ने किताबहरूमा विविधता देखापर्न थाल्यो । अहिले मेरो पेसागत आवश्यकताले साहित्य पढ्ने रुचिलाई त्यत्तिको सघाउँदैन । तर, म सधैँ प्रयत्नरत हुन्छु, मेरो आवश्यकता र मेरो रुचिबीच तादात्म्य खोज्न । आवश्यकताको लठारो एकातिर छँदाछँदै पनि बजारमा चर्चामा रहेका साहित्यका कृतिहरू पढ्न नपाउँदा निकै छटपटी हुन्छ । भरसक नेपाली आख्यान साहित्यचाहिँ नछुटोस् भन्ने चाहन्छु । पछिल्ला वर्षका ‘शरणार्थी’, ‘उलार,’ ‘प्रेतकल्प’, ‘हेच्छाकुप्पा,’ ‘उर्गेनको घोडा,’ ‘कर्नाली ब्लुज’जस्ता उपन्यास, ‘सोह्र साँझहरू’जस्ता नियात्रा र, ‘गोधुली संसार,’ ‘एब्स्ट्राक्ट चिन्तन प्याज,’ ‘सम्झनाका कुइनेटाहरू,’ ‘आफ्नै आँखाको लयमा,’ ‘चम्पारन ब्लुज’ जस्ता निबन्धसंग्रह मेरा रुचिका साहित्य हुन्, जसले समयको पदचापलाई सुन्न र पक्रन सकेका हुन्छन्, मेरा मनहरूलाई गिरफ्तार गर्न सकेका हुन्छन् । भूपी शेरचन, विक्रम सुब्बा, हरि अधिकारी, विमल निभा, श्यामल, श्रवण मुकारुङ, उपेन्द्र सुब्बा, स्व. स्वप्नील स्मृति आदिका केही कविता मैले मन पराएर पढेको छु र पढेर मन पराएको छु । कुनै खास किताब पढेर मेरो जीवनमा कुनै उल्लेख्य परिवर्तन ल्याइदियो भन्ने उदाहरण त मसँग छैन तर मेरो सहित्य पढ्ने रुचिले मेरो कर्मक्षेत्र र विधागत आवश्यकतालाई हानि गरेको छैन, बरु थप सहयोग नै गरेको छ । गैरसाहित्य क्षेत्रकाहरूले साहित्य पढ्ने र साहित्य क्षेत्रकाहरूले गैरआख्यानका किताब पढ्नाले दुवै क्षेत्रले लाभ लिन सक्छन् भन्नेचाहिँ मेरो अनुभव छ ।

अन्त्यमा, प्रसंगवश म यतिबेला मारियो भार्गास लोसाको ‘दि स्टोरी टेलर’ र साथमा योगेश राजको ‘हिस्ट्री याज माइन्डस्ेकप’ पढिरहेको रहेछु ।
(लेखक मानवशास्त्री हुन्)

प्रतिक्रिया