हिमशिखर को–अपरेटिभका अध्यक्षद्वारा तीन करोड हिनामिना

काठमाडौं, २६ साउन । खारेज भएको हिमशिखर को(अपरेटिभ लिमिटेडका अध्यक्ष गंगाबहादुर कार्कीले निक्षेपकर्ताको तीन करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ । संस्थाका अध्यक्ष फरार भएकाले निक्षेपकर्ता हारगुहार माग्दै डिभिजन सहकारी कार्यालय काठमाडौं र प्रहरी कार्यालय धाइरहेपछि डिभिजन कार्यालयले लिक्विडेटर नियुक्त गरेको थियो । लिक्विडेटर अधिवक्ता रामबहादुर थापाले संस्थालाई लिक्विडेसनमा लगेर हरहिसाब गर्दा सो रकम हिनामिना भएको देखिएको हो ।
लिक्विडेटर कार्यालयले अध्यक्ष कार्की, सचिव महेश्वर शर्मा, सञ्चालक किशोरबहादुर कार्की र महेशप्रसाद अर्याललाई सात दिनभित्र संस्थामा आउन सूचना जारी गरेको छ । अध्यक्ष कार्कीले हिनामिना गरेको रकम र संलग्नताका सम्बन्धमा हरहिसाबसहित स्पष्टीकरण दिनुपर्ने लिक्विडेटर थापाले बताए । ‘सो अवधिमा पनि उपस्थित नभए हिनामिना गरेको रकम किटान गर्नेछौँ,’ उनले भने, ‘त्यसपछि अनुसन्धान गर्ने निकायमा ठगी मुद्दाको जाहेरी दरखास्त दायर गरी घरघरान जायजेथाबाट हसुलउपर गरिनेछ ।’
सबै प्रक्रिया पूरा भएपछि निक्षेपकर्तालाई निक्षेप फिर्ता गर्ने उनको भनाइ छ । ‘संस्थाको ऋण उठ्न पनि बाँकी छ ।’ उनले भने, ‘संस्था खारेजी र सञ्चालक नै फरार भएपछि ऋण उठ्न गाह्रो हुन्छ ।’ केही दिनमा संस्थाको चलअचल सम्पत्ति पनि लिलामी गर्ने तयारीमा रहेको उनले बताए । संस्थाको नाममा चपली हाइटमा रहेको जग्गासमेत लिलामीमा लैजाने तयारी रहेको संस्थाका कोषाध्यक्ष हेमचन्द्र महतोले बताए । ऋण उठाउने प्रक्रिया पनि अघि बढाइएको उनी बताउँछन् । संस्था खारेजीमा परेको कुरा सञ्चालकलाई समते थाहा नभएको उनको भनाइ छ ।
२० चैतदेखि अध्यक्ष कार्की निक्षेपकर्ताको तीन करोड रुपियाँ लिएर सम्पर्कविहीन बनेका हुन् । संस्थाका उपाध्यक्ष बालकृष्ण शाही, कोषाध्यक्ष हेमचन्द्र महतो र सञ्चालक सदस्य आशाकाजी महर्जन भने सम्पर्कमा छैनन् । करिब चार हजार दुई सय निक्षेपकर्ताको करिब तीन करोड रकम अध्यक्ष कार्की सम्पर्कविहीन भएपछि डुबेको हो । पीडित पक्षले ३ वैशाखमा महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त गौशाला र डिभिजन सहकारी कार्यालय, काठमाडौंमा जाहेरी दिएका थिए । डिभिजन सहकारी कार्यालय, काठमाडौंका अनुसार ०६७ सालमा संस्था खारेज गरिएको थियो । संस्था खारेजीमा परिसकेपछि पनि संस्था भने सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया