न्युजिल्यान्डविरुद्ध नरेशको शतक

काठमाडौं, २५ साउन । आसन्न आइसिसी यु–१९ विश्वकपको अभ्यास खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेको छ । बुधबार भएको आफ्नो दोस्रो अभ्यास खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४८ रन जोडयो यद्यपि नेपाल १९ रनले पराजित भयो ।
२६८ रनको लक्ष्य पछयाउने क्रममा नरेश बुढाएरले शतकीय इनिङ खेले । उनले ११४ रन बनाए । त्यस्तै प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर सुभाष खकुरेलले उत्कृष्ट लयलाई कायम राख्ने क्रममा ५९ रन जोडे । यसअघि पपुआ न्युगिनीविरुद्ध खेलिएको पहिलो अभ्यास खेलमा पनि सुभाषले अर्धशतकीय इनिङ खेलेका थिए । अन्य नेपाली ब्याट्सम्यानको प्रदर्शन भने कमजोर रहयो । हसिम अन्सारीले ११ रन जोड्नुबाहेक अन्य नेपाली ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे ।
नरेश र सुभाषले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक रहयो । प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान प्रदीप ऐरी (१) लाई कुल २ रनको अवस्थामा गुमाएको नेपाली टोलीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य नरेशले सुभाषसँग १२९ रनको साझेदारी गरेका थिए । सागर पुुन ९, राजेश पुलामीमगर ८, फैजलुर रेहमान ८ र राहुलकुमार विश्वकर्मा ७ रन जोड्दै पवेलियन फर्किए । राहुल र सागर रनआउट भएका थिए । निकै सम्हालिएर प्रदर्शन गरेका २० वर्षीय नरेशले १९३ मिनेट क्रिजमा रहँदै १४२ बल सामना गरेर ६ चौका प्रहार गरेका थिए । उनी क्याचआउट भए । दोस्रो विकेटका रूपमा क्याचआउट नै हुनुअघि सुभाषले ९६ बल खेल्दै पाँच चौका प्रहार गरेका थिए ।
आइतबार राति पपुआ न्युगिनीविरुद्ध ८ विकेटले पराजित हुँदा पनि नेपालका ३ ब्याट्सम्यान सुभाष, हसिम र प्रदीपले मात्र दोहोरो अंकमा रन जोडेका थिए । पृथ बास्कोटा घाइते भएपछि प्रदीपलाई कप्तानी गर्ने जिम्मेवारी दिइएको थियो ।
यसअघि टस जिती पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर बलियो चुनौती तयार गर्‍यो । न्युजिल्यान्डका मध्यमक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाइएका विल योङले ९७ रन जोडे भने हेनरी वाल्सले ५३ र काम फ्लेचरले ४३ रनको योगदान गरे । कुनै समय २३.२ ओभरमा ७३–३ को स्थितिमा रहेको न्युजिल्यान्डका लागि विलले हेनरीसँग चौथो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए । बलिङतर्फ नेपालका सौरभ खनालले ३ विकेट लिए भने राहुलकुमार विश्वकर्माको नाममा २ विकेट रहयो । कृष्ण कार्की र सागर पुनले पनि १/१ विकेट लिए ।
आइसिसी यु–१९ विश्वकपको आसन्न संस्करण यही २७ साउनदेखि सुरु हुँदै छ । प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी १६ टिमले आपसमा अभ्यास खेल खेलिरहेका छन् । यसक्रममा बुधबार नै भएका अन्य खेलमा श्रीलंका, पाकिस्तान, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र इंगल्यान्ड विजयी भए । अभ्यासमा लगातार दोस्रो जित हात पार्ने क्रममा भारतले अफगानिस्तानलाई ५२ रनले पराजित गर्‍यो । पहिलो अभ्यास खेलमा भारतसँग पराजित भएको श्रीलंकाले आयरल्यान्डलाई ५० रनले हरायो । पहिलो अभ्यास खेलमा इंगल्यान्डद्वारा पाकिस्तानले पपुआ न्युगिनीलाई ८ विकेटले हराएर स्वाभाविक जित हात पार्‍यो । जारी अभ्यास खेलमा यसअघि वेस्ट इन्डिजसँग हारेको अस्ट्रेलियाले स्कटल्यान्डलाई ७१ रनले पराजित गर्‍यो । अभ्यासमा जितयात्रा कायम राख्ने क्रममा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ विकेटले तथा नामिबियालाई वेस्ट इन्डिजले १४६ रनले पराजित गर्‍यो । अभ्यासमै अर्को जित हात पार्ने क्रममा इंगल्यान्डले जिम्बावेलाई १३१ रनले हरायो ।

प्रतिक्रिया