अन्तरबैंक कारोबारमा कमी

काठमाडौं, २४ साउन । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको स्थिति उत्पन्न भएपछि अन्तरबैंक कारोबार घटेको छ । आर्थिक वर्ष ०६८/६९ को एघार महिनासम्म वाणिज्य बैंकहरूले कुल दुईसय पाँच अर्ब आठ करोड बराबरको अन्तरबैंक कारोबार गरेकामा अघिल्ला वर्ष सोही अवधिमा कुल तीनसय ४४ अर्ब ५८ करोड बराबरको यस्तो कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा कुल पाँच अर्ब ५७ करोडको स्थायी तरलता सुविधाको उपयोग भएकामा सो रकम ०६९ जेठ मसान्तमा चुक्ता भइसकेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मुलुकको ११ महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई सय पाँच अर्ब ७२ करोड स्थायी तरलता सुविधा उपयोग भएकामा दुई अर्ब ५१ करोड बक्यौता रहेको थियो । यस अवधिमा बैंकहरूको निक्षेप परिचालन बढ्न गई तरलताको स्थिति सुदृढ भएकाले अन्तरबैंक कारोबारका साथै स्थायी तरलता सुविधाको उपयोगमा कमी आएको हो । आथिर्क वर्ष ०६८/६९ को एघार महिनासम्म खुला बजार कारोबारअन्तर्गत रिपो बोलकबोलमार्फत ७४ करोड ३७ लाख बराबरको तरलता प्रवाह भएको छ भने सोझै बिक्री बोलकबोलमार्फत आठ अर्ब ४० करोडको तरलता प्रशोचन भई खुद सातअर्ब ६५ करोड ६३ लाख बराबरको तरलता प्रशोचन भएको छ । राष्ट्र बैंकअनुसार अघिल्लो वर्षको सोही अवधिमा रिपो बोलकबोलबाट ८२ अर्ब ४० करोड तरलता प्रवाह भएको थियो भने बिक्री बोलकबोलबाट दुईअर्ब र रिभर्स रिपो बोलकबोलबाट १९ अर्बको तरलता प्रशोचन भई खुद ६१ अर्ब ४० करोडको तरलता प्रवाह भएको थियो ।
आव ०६८/६९ को एघार महिनासम्म नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर दुईअर्ब ९२ करोड खुद खरिद गरी दुईसय ३४ अर्ब ४५ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुईअर्ब २२ करोड खुद खरिद गरी एकसय ६० अर्ब ६४ करोड बराबरको खुद तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर दुईअर्ब ५० करोड बिक्री गरी एकसय ९९ अर्ब ५१ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुईअर्ब ४६ करोड बिक्री गरी एकसय ७८ अर्ब १० करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा आर्थिक वर्ष ०६८/६९ को जेठ महिनामा अल्पकालीन ब्याजदरमा उल्लेख्य कमी आएको छ । त्यसअनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर अघिल्लो वर्षको जेठ महिनामा ८ दशमलव ३४ प्रतिशत रहेकामा ०६९ जेठमा १ दशमलव ३४ प्रतिशत पुगेको छ । त्यसैगरी अन्तरबैंक कारोबारको औसत ब्याजदर अघिल्लो वर्षको जेठमा १० दशमलव २३ प्रतिशत रहेका तुलनामा ०६९ जेठमा शून्य दशमलव ८४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । जेठ महिनासम्म सरकारको आन्तरिक कर्जा ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष भने उक्त कर्जा १० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा सरकारको साधन परिचालनको तुलनामा खर्च कम भई यस बैंकमा उल्लेख्य रूपमा बचत कायम रहेको र निजी क्षेत्रतर्फको कर्जा पनि अपेक्षित बढ्न नसकेकाले कुल आन्तरिक कर्जाको विस्तार कम भएको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा साढे १४ प्रतिशतले विस्तार भएको थियो ।

प्रतिक्रिया