काठ तस्करी बढयो

रौतहट : वृन्दावन रेन्जपोस्ट क्षेत्रको राष्ट्रिय वनमा काठ चोरीतस्करी बढेको छ । दुई दर्जनभन्दा बढी काँचा सालका रूख चोरीनिकासी भएको पाइएको छ ।
रेन्जपोस्टअन्तर्गत महेन्द्र राजमार्गबाट एकसय मिटरभित्रको वनमा तस्करले २२ वटा भन्दा बढी रूख काटेर लगेको हो । काँचो सालका रूख काटिँदा पनि वन कार्यालयले पत्तो नपाएपछि स्थानीयले कटानमा वन कर्मचारीको मिलेमतो भएको आरोप लगाएका छन् ।
१५ दिनको अवधिमा रूख जंगलमै काटेर गोलिया बनाई तस्करले लगेको पाइएको छ । तस्करले छाडेका केही गोलियामा भने वन कार्यालयले नम्बरिङ गरेको छ । तस्करले राष्ट्रिय वनमा रूख काटेर निकासी गरे पनि हालसम्म वन कर्मचारीले केही पत्ता लगाउन सकेका छैनन् । जिल्ला वन कार्यालय रौतहटका डिएफओ नन्दलाल यादवले चोरीनिकासीबारे अनुसन्धान भइरहेको बताए । (सौस)

प्रतिक्रिया