सर्वोच्चले रिट दर्ता गरेन

सिन्धुपाल्चोक, २४ साउन । मध्यभोटेकोसी जलविद्युत् आयोजनाले वातावरणीय परीक्षण नगरी काम सुरु गरेको भन्दै सर्वोच्च अदालतमा दिएको निवेदन अदालतले दरपीठ गरेको छ । आयोजनाको सबै काम मन्त्रालयले गर्ने भन्दै मंगलबार दायर रिट दर्ता नै नगरी अदालतले दरपीठ गरेको हो ।

भोटेकोसी नदी किनारमा सञ्चालित बोर्डरल्यान्ड रिसोर्टका सञ्चालक मेघ आलेसहित केही पर्यटन व्यवसायीले जलविद्युत् आयोजनाविरुद्ध रिट दायर गरेका थिए । उनीहरूले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सार्वजनिक नगरी मध्यभोटेकोसीले काम सुरु गरेको भन्दै रोक्न अन्तरिम आदेश जारीको माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
अदालतले आयोजना सुचारु गर्न निर्देशन दिएपछि आफूहरू उत्साही भएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक कुलमान घिसिङले जानकारी दिए । उनले भने, ‘हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम पूरा गरेका छौँ ।’ निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा रीक्षण (परीक्षण) सुरुङ खन्ने काम भइरहेको छ । ६ महिनापछि आयोजनाको निर्माण कार्य सुरु हुने घिसिङले जानकारी दिए ।

प्रतिक्रिया