काठमाडौं, २४ साउन । ‘आँखामा हरदम बादल छाइरहयो, बिन्ति छ कसैले उज्यालो ल्याइदेऊ’
काठमाडौंको पुरानो बसपार्कस्थित फुटपाथका बटुवालाई तौल जोख्ने सुविधाका लागि तौल मेसिन राखेर बसेका ज्ञानेन्द्र नेपालको नियती यस्तै छ । मेसिन राखेर बटुवाको प्रतीक्षामा बसेका नेपाल काभ्रेका स्थायी बासिन्दा हुन् । उनले यही पेसाबाट गुजारा गरेका छन् ।
काठमाडौंमा मागेर खानेको संख्या बढेका बेला नेपाल उदाहरणीय बनेका छन् । बिहान महेन्द्ररत्न क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक प्रथम वर्षको कक्षा लिनु र दिउँसो फुटपाथको व्यापार गर्नु उनको दिनचर्चा हो ।
संघर्षले भरिपूर्ण जीवनका नायकमध्ये एक नेपालका आँखामा जीवनभर बादल छाइरहेको छ तैपनि उनी जीवनमा आत्मीय उज्यालोको आगमन हुने आसमा छन् । ‘कताकता हीनताबोध पनि हुन्छ तर संघर्ष गरेर अघि बढ्ने आत्मविश्वास छ,’ नेपाल भन्छन्, ‘आँखा नदेखेर के भयो त ?’ नेपालको स्मरण शक्ति तेजिलो छ । उनी एकपटक भेटेर बोलेका मानिसलाई कहिल्यै बिर्संदैनन् । उनी भन्छन्, ‘दृष्टि ह्दयमा छ ।’
‘अपांगलाई दया होइन अवसरको आवश्यकता छ,’ नेपाल भन्छन्, ‘अवसरको खोजीमा छु ।’ आँखा नदेखेकै कारण उनी उपेक्षित बनेको बताउँछन् । भविष्यमा शिक्षक भएर ज्ञानको ज्योति फैलाउने उद्देश्य बोकेका नेपाललाई शिक्षकको कोटामा कतै पढाउन पाए हुन्थ्यो भन्ने इच्छा लागेको छ । यही इच्छाले तानेर उनलाई कीर्तिपुर, ताहाचल र पुरानो बसपार्कसम्म ल्याउँछ ।
यस्तै शिक्षक, गायक र समाजसेवी बन्ने इच्छा सुनाउँछन् श्यामबहादुर तामाङ । आर्थिक अभाव र आँखा देख्न नसक्नु नै सबभन्दा ठूलो समस्या बनेको छ उनको जीवनमा । काभ्रेको चैतन्य महुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर काठमाडौं भित्रिएका उनी पनि फुटपाथको व्यापारमा संलग्न छन् ।
पुरानो बसपार्कस्थित सिटी मार्केटको लजमा दैनिक ३० रुपियाँ तिरेर त्यसबाट बचेको पैसाले खाएर गुजारा गर्दै आएका श्यामबहादुर पैसा नहुँदा कयौँ रात भोकै सुत्नुपरेको सुनाउँछन् । तीन वर्षको उमेरमा आँखामा फिटकिरी हालेपछि उपचारका लागि त्रिपुरेश्वर आँखा अस्पताल आएका उनको आँखामा ज्योति फर्किएन ।
सुरुमा एउटा आँखाको ज्योति मात्र गुमाएका तामाङ डाक्टरको गलत सल्लाहका कारण पछि दुवै आँखाको दृष्टि गुमेको बताउँछन् । धुँवा, धुलो, घाम, पानी, तिरस्कार, बेवास्ता, हेपाइ सहेर पनि मानिसको तौल जोख्ने मेसिन राखेर सडकमा बसिरहेका छन् उनी पनि । मागेर खानुभन्दा काम गरेर खानुको आनन्द छुट्टै भएको सुनाउँछन् ।
सानै छँदा बाबुको मृत्यु भएपछि आँखा नदेख्ने भएकै कारण आमाको घृणा र तिरस्कारपछि नुवाकोटबाट ०४१ सालमा नयाँ संसार खोज्दै काठमाडौं आइपुगेका रामबहादुर श्रेष्ठ नेपाल नेत्रहीन संघसँग पनि गुनासो गर्छन् । उनी भन्छन्, ‘उपेक्षित र विभेदको सिकार भएका छौँ ।’ संघ टाठाबाठाका लागि दुहुनो गाई भएको उनको गुनासो छ । (प्रशिक्षार्थी)
प्रतिक्रिया