धान खेतमा कोदो रोप्ने तयारी

राजविराज, २३ साउन । लामो खडेरीका कारण धान रोप्न नसकेपछि सप्तरी बक्धुवा गाविसका किसान धानखेतमा कोदो रोप्ने तयारीमा जुटेका छन् । रोपाइँ गर्ने समय समाप्त हुनलाग्दा पनि पानी नपरेपछि उनीहरू कोदो रोप्न लागेका हुन् ।

वर्षाको आशमा रोपाइँका लागि ठिकपरेका किसानको धानको बिऊ ब्याडमै सुक्न थालेपछि कोदो रोप्नुको विकल्प नरहेको पीडित किसानहरूको भनाइ छ । हाल बक्धेवा– ३, ४ र ५ मा करिब ५० विगाह धानखेतमा कोदोरोप्ने तयारी भइरहेको छ ।
‘वर्षभरिको खाने बाली नै लाउन नपाएपछि अब के खाएर बाँच्ने हो भन्ने चिन्ताले सताएको छ,’ बक्धुवा–३ का कृषक रेवती लेखीले भने, ‘आफुसँग रहेको डेढ बिगाह खेतमध्ये सात कठ्ठा मात्र रोपाइँ भएको छ, बाँकीमा कोदो नै रोप्ने निर्णय गरेका छु ।’ सोही गाविस–४ का अर्का कृषक उपेन्द्र मेहताले पनि धान रोपाइँ हुने छाँट नदेखेपछि कोदो रोप्न मोहनपरमा रहेका आफन्तको बारीमा कोदोको ब्याड राख्न लगाएका छन् ।
वडा– ३, ४ र ५ मा करिब ५० विगाहमा कोदो रोप्ने तयारी भइरहेको उनले बताए । मेहताले भने, ‘वर्षा हुने छाँटकाँट छैन, धान रोप्ने आशा हराउँदै गएपछि कोदोको बिऊ छरेका छौँ, एक सातामा पनि पानी नपरे कोदो रोप्न सुरु गर्छौं ।’
‘खेत त्यसै बाँझो छोड्नुभन्दा बरु कोदो नै फलाएर प्राण धान्न सकिएला कि भन्ने झिनो आशा बाँकी छ,’ उनले भने । ‘पहिला पाखोमा मात्र कोदो लाउने चलन थियो,’ उनले भने, ‘वर्षाले साथ नदिँदा पहिलोपल्ट धान खेतमा पनि कोदोरोप्न बाध्य भएका छौँ ।’ गाउँनजिकै महुली नदी बगे पनि खेतभन्दा गहिराइबाट गएका कारण धानखेतमा रोपाइँका लागि वर्षाको पानी नै कुर्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका किसान बताउँछन् ।
बक्धुवा गाविसका निवर्तमान अध्यक्ष मातीलाल चौधरीले खडेरीपीडित किसानको समस्याप्रति सरकारले कुनै वास्ता नराखेको बताए । रोपाइँको मुखमा मलखादको समेत व्यवस्था नभएको र अहिले खडेरीको मार परेको भन्दै उनले सप्तरीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने मागसमेत गरे ।

प्रतिक्रिया