एउटै कार्यालयमा दुई पार्टी

मकवानपुर : हेटौंडा–४ स्थित एकीकृत नेकपा (माओवादी) को पार्टी कार्यालयमा नेकपा–माओवादीले पनि पार्टी कार्यालयको झन्डा गाडेको छ ।
सहिद प्रतिष्ठान नेपालका नाममा निर्माण गरिएको भवन निर्माणक्रममा उत्तिकै भूमिका र श्रम परेकाले पार्टी कार्यालयको झन्डा गाडेको माओवादीका सेक्रेटरी इन्द्रबहादुर परियारले बताए । भवन निर्माणका क्रममा निर्माण समितिका अध्यक्ष वीरबहादुर घलान र सहिद प्रतिष्ठान नेपालका अध्यक्ष भीम पाख्रिन अहिले माओवादीमा छन् ।
तीन कठ्ठा जमिनमा बनेको तीनतले भवनको तेस्रो तला निर्माण हुँदै छ । दोस्रो तलासम्म निर्माण भएको भवनमा १८ वटा कोठा छन् । भवन निर्माणका लागि एक करोड १६ लाख रुपियाँ खर्च भएको छ । जमिन खरिदका लागि ३७ लाख रुपियाँ लागेको निर्माण समितिले जनाएको छ । भवन उपभोगको नाममा नेकपा–माओवादीले संस्थापन पक्षसँग दाबी गरेपछि मकवानपुरका दुई माओवादी पार्टीमा विवाद सुरु भएको छ । पार्टीको बोर्ड राख्ने क्रममा माओवादीले दोस्रो तलाको मूलगेटमा ताला लगाएको छ ।
हेटौंडा–४ हुप्रचौरमा दुईतले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका नेकपा–माओवादीका पूर्वसभासद् कुमारी मोक्तान जिल्ला इन्चार्ज र पूर्वसभासद् दिलबहादुर घिसिङ सह–इन्चार्ज छन् । संसद् कोषबाट आएको दुवै सभासद्को रकमले भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया