भुक्तानी भएको चार दिनमा निर्यात पुन: कर्जा

काठमाडौं, २२ साउन । निर्यात पुन: कर्जाको सुविधा लिएका ऋणीले निर्यातअन्तर्गत विदेशबाट भुक्तानी प्राप्त भएको चार दिनभित्र पुन: कर्जाको रकम तिर्नुपर्ने भएको छ । निर्यात कम्पनीले निर्यातअन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्ने तथा भुक्तानी प्राप्त भएको मितिले चार कार्य दिनभित्र पुन: कर्जाको सावाँ तथा ब्याज एकमुस्ट रूपमा भुक्तानी गर्नुपर्ने आइतबार जारी निर्देशनमा उल्लेख छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई साढे ४ प्रतिशतमा निर्यात पुन: कर्जा उपलब्ध गराउन निर्देशन जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले निर्यात कम्पनीको निर्यातको कागजको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा राष्ट्र बैंकबाट साढे १ प्रतिशतमा निर्यात पुन: कर्जा प्राप्त गर्नेछन् । निर्यात पुन: कर्जाका हकमा निर्यातकर्ता भई उत्पादन कार्यमा समेत संलग्न भएका खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातका लागि लिएको कर्जामध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुन: कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले बताएको छ ।
त्यसैगरी साधारण पुन: कर्जाअन्तर्गत २५ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजना, कृषिक्षेत्र, पशुपन्छी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ६ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ । सम्बन्धित वित्तीय संस्थाले भने अधिकतम ९ प्रतिशतमा ऋण प्रदान गर्नुपर्नेछ ।
त्यसैगरी घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीका लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक साढे १ प्रतिशतमै पुन: कर्जा उपलब्ध गराइने पनि राष्ट्र बंैंकको निर्देशनमा उल्लेख छ । रुग्ण उद्योगका सवालमा भने विनाअसल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण प्रदान गर्दछ । दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा सञ्चालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा पनि राष्ट्र बैंकले साढे १ प्रतिशतमा नै पुन: कर्जा उपलब्ध गराउनेछ । विशेष पुन: कर्जा सुविधा उपभोग गर्दाको अवधिमा राष्ट्र बैंकले भने साढे ४ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जनाएको छ ।
महिलाद्वारा सञ्चालित लघुउद्यमलाई प्रवाह भएको तीन लाख रुपियाँसम्मको असल कर्जाको धितोमा पनि ६ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्राप्त गर्नेछन् । सो कर्जा उपभोग गर्ने ऋणीले भने अधिकतम ९ प्रतिशतसम्म मात्र ब्याज तिरे पुग्ने केन्द्रीय बैंकले जनाएको छ ।
पुन: कर्जा सुविधाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको अधिकतम ८० प्रतिशतसम्म मात्र हुने र मासिक पुन: कर्जाको विवरण वित्तीय संस्थाले महिना नाघेको १५ दिनभित्र केन्द्रीय बैंकको सुरपरीवेक्षण विभागमा पेस गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया