दूरसञ्चार प्राधिकरणको बजेट पाँच करोड

काठमाडौं, २२ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष ०६९/७० का लागि पाँच करोड १९ लाख रुपियाँको वार्षिक कार्यक्रम स्वीकृत गरेको छ । प्राधिकरणले भवन निर्माण, अफिस अटोमेसन, नियम, विनियम, कार्यविधि तथा निर्देशिका निर्माण एवं अध्ययन, अनुसन्धानलगायतका कार्यक्रमका लागि बजेट स्वीकृत गरेको हो ।

प्राधिकरणले चालु आवमा भवन निर्माणका लागि दुई करोड ५० लाख रुपियाँ छुट×याएको छ । पहिलो चार महिनामा भवनको नक्सा दर्ता गर्नुका साथै निर्माणका लागि सूचना प्रकाशन गरेर सम्झौता गर्ने लक्ष्य प्राधिकरणको छ । चालु आवभित्रमा भवन निर्माणका लागि आवश्यक पूर्वाधार तयार हुने र निर्माण अगाडि बढ्ने अपेक्षा प्राधिकरणले गरेको छ ।
अफिस अटोमेसनतर्फ सेवाप्रदायक दूरसञ्चार कम्पनीबाट र प्राधिकरण आफैँले गरेको सर्भेबाट प्राप्त आधारभूत, मोबाइल र इन्टरनेट सेवाको गुणस्तर सूचकांकको डाटाबेस तयार गरी गुणस्तर मापन गर्ने लक्ष्य प्राधिकरणको छ । यसका लागि १४ लाख रुपियाँ छुटयाइएको छ । अफिस अटोमेसनका लागी सफ्टवेयर ‘मोडुल’ तयार गरी ‘डाटा इन्ट्री’ सुरु गर्ने योजना रहेको प्राधिकरणले जानकारी दिएको छ । यसबाट गुणस्तरको डाटाबेस ‘मेन्टेन’ हुने विश्वास प्राधिकरणको छ ।
चालु आवमै टाइप एप्रुभलको पनि सफ्टवेयर तयार हुने प्राधिकरणको भनाइ छ । टाइप एप्रुभल नभएका मोबाइल सेटको प्रयोगले गुणस्तरमा समस्या आउने गरेको प्राधिकरणले बताउँदै आएको छ ।
चालु आवमा दूरसञ्चारसम्बन्धी आधादर्जन बढी नियम, विनियम, कार्यविधि तथा निर्देशिका तयार गर्ने लक्ष्य प्राधिकरणको छ । यो आवमा इमेल, इन्टरनेट र नेटवर्क सेवाको निर्देशिका परिमार्जन गर्ने तथा बिटिएस टावरको भूकम्पीय जोखिम मापन, दूरसञ्चार टावर निर्माणको डिजाइन, जीर्ण टावरको पुन:निर्माण, इक्युपमेन्ट आइडेन्टिटी रजिस्टर, नेसनल रोमिङ, वायरलेस कम्युनिकेसनको कारणले गर्दा हुने स्वास्थ्य समस्यासम्बन्धी निर्देशिका तयार गरिने प्राधिकरणले जनाएको छ । यसका लागि २७ लाख १० हजार रूपियाँ छुटयाइएको छ ।
चालु आवमा इन्टरनेसनल रोमिङ, मोबाइल कमर्स, बिलिङ अथेन्टिकेसन, सेवा प्रदायकको नेटवर्क विस्तार, टाइप एप्रुभल, आइसिटी टेलिकम्युनिकेसनजस्ता विषयमा अध्ययन–अनुसन्धान गर्ने प्राधिकरणको योजना छ । यसका लागि ४४ लाख रुपियाँ बजेट छुटयाइएको छ ।
चालु आवमा प्राधिकरणले गोष्ठी, अन्तरक्रिया तथा सेमिनारका लागि ५९ लाख र अनुगमन निरीक्षणका लागि ३० लाख रुपियाँ छुटयाएको छ । सेवाप्रदायकले आयात गर्ने उपकरण आयात गर्दाको प्रयोजनबमोजिम प्रयोग भए/नभएको एवं रकमबमोजिम आयात भए/नभएको अनुगमन गर्ने, अनुमतिपत्र प्राप्त गर्न पेस गरेको प्रस्ताव र अनुमतिपत्रको सर्तबमोजिम काम भए/नभएको अनुगमन गर्ने र दूरसञ्चार सेवा सञ्चालनमा प्रयोग भएको फ्रिक्वेन्सीको मनिटरिङ गर्ने योजना प्राधिकरणको छ ।

प्रतिक्रिया