‘सहकारीमा युवालक्षित कार्यक्रम जरुरी’

प्रतिभा सहकारीबारे बताइदिनुस् न ?
संस्थाले ५ असार ०५७ मा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई कारोबार थालेको हो । संस्था सुरुका दिन उपभोक्ता सहकारी थियो । यसले उपभोक्ता पसल सञ्चालन गरेको थियो । पछि यसलाई संशोधन गरी बहुउद्देश्यीय बनाएका हौँ । २८ जनाबाट सुरु गरिएको संस्थामा १२ वर्षको दौरान १५ सय सदस्य पुगेका छन् । संस्थाको सेयर पुँजी दुई करोड रुपियाँ नाघेको छ । यसले महिला, बालबालिका, स्वास्थ, कृषिलगायत क्षेत्रमा काम गर्दै आएको छ ।
सहकारी कस्तो व्यवसाय हो ?
एउटै समस्या मात्र नभई विभिन्न खालका समस्यालाई सबै मिलेर परिपूर्ति गर्ने माध्यम सहकारी हो । छरिएर रहेका सीपलाई संगठित गरी परिचालित गर्नुसमेत सहकारी हो । सहकारीमा सबैको समान अधिकार हुन्छ । सबै सदस्य आफँै मालिक हुने व्यवसाय भनेको नै सहकारी व्यवसाय हो ।
अन्य संस्थाका तुलनामा सहकारी कमजोर भयो भनिन्छ त ?
सहकारी कमजोर होइन । अन्य संस्थाभन्दा सहकारी प्रमुख खम्बा बन्नसक्छ । बंैकिङ क्षेत्रमा सफल र दक्ष मानिस आएका हुन्छन् । तिनलाई संरक्षण राष्ट्र बैंकले गर्छ भने सहकारी सामान्य मानिसले सञ्चालन गर्ने हो जसले कम पढेका छन्, त्यस्ता मानिसले सहकारी सञ्चालन गर्नेहुँदा केही कमीकमजोरी हुनसक्छन् तर सहकारी कमजोर भन्नुभन्दा पनि सरकारी पहलविना नै स्वेच्छिक रूपले यहाँसम्म ल्याउनु ठूलो कुरा हो । बैंकभन्दा सहकारी माथि छ । २५ हजार सहकारी छन् । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी गरी दुईसय हाराहारीमा रहेका होलान् ।
सहकारीबाट देश विकासको आधार के हुन सक्छ ?
सहकारीबाट देश विकास र समाज रूपान्तरण गर्न सकिन्छ । त्यसभन्दा पहिला सहकारी के हो, आबद्ध भइसकेपछि सञ्चालक, उपसमिति, लेखासमिति, सदस्यहरूको दायित्व र समग्र सदस्य हितका लागि गर्नुपर्ने काम, कर्तव्य क–कसको हो भन्नेबारे पहिल्यै किटानी हुनु पर्छ ।
हरेक काम सदस्यकै फाइदाका लागि सोच्नु पर्छ । यति भएपछि संस्था अघिबढ्न सक्छ । संस्थालाई सबल र सक्षम बनाउन जिल्ला संघ, विषयगत संघ, डिभिजन कार्यालयको महत्त्वपूर्ण भूमिका रहन्छ । सरकारले मात्र यसलाई संरक्षण गर्न सम्भव छैन । सरकार र सहकारी अभियान सहकार्य गरी सहकारीको विकास गरे देशको विकास र प्रवद्र्धन गर्न सकिन्छ ।
सहकारीबाट नै सहकारीको बद्नाम भयो भनिन्छ नि ?
यस्तो हुनुमा सबैभन्दा ठूलो कमजोर सरकारको हो । सरकारले अन्धाधुन्द दर्ता गरेका कारण यसको विकास तथा प्रर्वद्धन हुनसकेको छैन । यसतर्फ राज्यले प्रभावकारी शिक्षा र तालिम दिनसकेको छैन । विशेषगरी राष्ट्रिय सहकारी संघले यसका लागि ७५ वटै जिल्ला संघहरू सक्रिय बनाउनुपर्छ । प्राविधिक टिम जिल्ला संघमा हुने हो भने सहकारी अनुगमनलाई सहयोग गर्नसक्छ । सहकारी अनुगमनलाई चुस्त बनाउन जिल्ला संघलाई सक्रिय बनाउनु र प्राविधिक टोली तयार गर्नुपर्छ ।
ग्रामीण क्षेत्रमा सहकारीलाई अझ बढी सक्रिय पार्न के गर्नुपर्ला ?
सदरमुकाममा सहकारीको संख्या बढी हुनु ठूलो कुरा होइन किनकि सहरमा मानिस बढी नै बस्छन् । तर, सबै कुरा सहर केन्द्रित भएर लक्षितवर्ग बाहिर पर्ने हो कि भन्ने चिन्तालाई सम्बोधन गर्नुपर्दा सहरभित्र भएका संस्थाले संस्थागत रूपमा ग्रामीण भेगमा भएका सहकारीलाई पुँजी, मेनपावर, प्राविधिक रूपमा सहयोग गर्नुपर्छ । यसोगरे मात्रै लक्षित वर्गसम्म पुग्न सकिन्छ ।
सहकारी मर्जरको सम्भावना कतिको छ ?
सहकारीमा मर्जर होइन फुटको संभावना बढी छ, किनभने सबै ठूलो मान्छे बनौँ भन्नेमा लाग्छन् । संस्थाका सदस्य पनि अध्यक्ष हुन मन लागे २५ जना सदस्य जम्मा पारी नयाँ संस्था दर्ता गर्नतर्फ सहकारीकर्मी लाग्छन् । यो नै सबैभन्दा दुर्भाग्य हो । सबै मिलेर एउटै संस्थालाई माथि उठाऔँ भन्ने भावना हँुदैँन । यसले गर्दा मर्जर अलि कम संभावनाको विषय हुनसक्छ । जब सहकारीमा आर्थिक संकट हुन्छ अनि मात्र मर्जरमा जान बाध्य हुन्छन् ।
सहकारीमा युवा सहभागिता बढाउन के गर्नु पर्छ ?
सहकारीमा युवालाई लक्षित कार्यक्रम जरुरी देखिन्छ । जसरी सरकारले स्वरोजगारको कन्सेप्ट ल्याएको छ । त्यसलाई जसरी परिचालित गर्नुपर्ने हो त्यो हुनसकेको छैन । सरकारले सहकारी बुझेको छैन । सहकारीकर्मीले सरकारसँग लविङ गर्नसकेको छैन । कोषको रकमबाट एउटा संस्थाले दुई/पाँच जनालाई रोजगार गराउने हो भने धेरै ठूलो उपलब्धी हुन्छ । कस्ता मानिसलाई पहिचान गर्दा स्वरोजगार बन्नसक्छ भनेर यसमा सरकारले ध्यान दिनुपर्छ ।
सहकारीलाई पनि वितरण गरेको हो र ?
सहकारीमा पहुँच भएका केही व्यक्तिले दुई/चार करोड ल्याएर आफ्ना हिसाबले खर्च गरेका छन् । तर, साँच्चै सहकारीलाई पाउने रकम त्यसको मूल्यांकन कसले गरेको छ ? एउटा सहकारीले एक करोड ल्याएको भए पनि ५० जनाले स्वरोजगार भएको लिस्ट छ कि छैन त्यो पत्तालगाउनु पर्छ । राता–रात सहकारी खोलेर केही मानिसले पैसा ल्याएर आफ्नै ढंगले खर्च गरेका छन् । तर, साँच्चै सहकारी बुझेका, सञ्चालन गरेका र सहकारीमार्फत स्वरोजगार गराइराखेका सहकारीलाई पहिचान गरी स्वरोजगारको पैसा वितरण गर्ने हो भने पाँच/सात वर्षमा राम्रो प्रगति हुनसक्छ ।
कृषिक्षेत्रको विकासमा सहकारीको भूमिका कस्तो हुनसक्छ ?
सरकारले कृषिक्षेत्रमा प्रोत्साहन गर्न आवश्यक छ । मुलुकभर जति जमिन बाँझो छ त्यसलाई खाली राख्न नपाउने नीति बनाउनु पर्छ । यो जनताले चाहेर हुने कुरो होइन । नीति निमार्ण तहमा रहेका मानिसले यस्तो नियम बनाई लागू गरेका खण्डमा अवश्य पनि कृषिक्षेत्रको विकास हुन्छ ।
त्यसैगरी कृषि उत्पादनमा आधुनिकीकरण, व्यवसायीकरण र टुक्रे कृषि प्रविधिलाई नियन्त्रण गर्ने व्यवस्था हुनुपर्छ । सहकारीले पशुपालक, तरकारी खेती, कुखुरापालन गर्न सक्छन् । यसलाई सरकारले पनि अनिवार्य गर्ने हो भने आफ्नो हैसियतअनुसारको काम गर्न सक्छ । तर, यसको बजारीकरण समस्या हुन्छ । सरकारले बजारको व्यवस्था गर्ने हो भने अहिले भएको उत्पादन सयौँ गुणा बढ्नसक्छ ।
अबको सहकारीको गन्तव्य के हुन्छ ?
यसमा दुईपाटा छन् । नेपालको सहकारी अन्दोलनलाई जसले नेतृत्व गरिरहेका छन् उनीहरू र सरकारले यसलाई व्यवस्थित बनाउनु पर्छ । सरकारले आफ्नो दायरामा ल्याउनुभन्दा पनि स्वत:फूर्त सदस्यबीच सञ्चालन हुने वातावरण बनाउनुपर्छ । हिजोको अन्धाधुन्धको दर्ता प्रकरणले अहिलेको समस्या देखिएको हो ।
बहुउद्देश्यीय सहकारी केन्द्रीय संघ दर्ता प्रक्रियामा छ, यो कतिको आवश्यक छ ?
२५ वटा संस्था भएपछि संघ दर्ता गर्न पाउने अधिकार छ । हाल चार हजार तीन सय बहुउद्देश्यीय सहकारी भइसके पनि बहुउद्देश्यीय विषय हो कि होइन, बहुउद्देश्यीय सहकारी हो कि होइन भन्न बहस जारी छ । संघ आजको आवश्यकता हो । समग्र सहकारीको विकास र प्रवद्र्धनमा संघ दर्ताले सहयोग पुर्‍याउँछ । जसले यसलाई गलत छ भन्छ उसले सहकारी बुझेका छैनन् ।
संघ दर्ता हुन्छ त ?
दर्ता हुन्छ नै । समय लाग्नसक्छ । अहिलेको कर्मचारी संयन्त्रले पैसा नखाई केही पनि काम गर्दैन । पैसा खान पाएन भने विभिन्न खालका हत्कन्डा मच्चाउन सक्छ र त्यसलाई संरक्षण गर्ने राजनीति परिपाटी छ । बहुउद्देश्यीय संघ दर्तामा पनि केही पार्टीले संरक्षण दिएर कर्मचारीलाई राखेको अवस्था छ ।
आगामी दिनमा संस्थाले कस्ता कामलाई अघिबढाउने सोच लिएको छ ?
संस्थाले स्वास्थ्य क्षेत्रमा र कृषि क्षेत्रमा काम गरिरहेको अवस्था छ । भविष्यमा कृषिमा केही न केही काम गर्छौं नै । ललितपुरको थेचेमा तीस रोपनी जग्गा लिजमा लिई एक सय बाख्रा राखेर कृषिफर्म सञ्चालन गरेका छौँ । एकसय रोपनी जग्गा खोजिरहेका छौँ । संस्थाले खरिद गरी त्यसमा डालेघाँस लगाई एकहजार बाख्रा पाल्ने सोच बनाएको छ ।
शब्द /तस्बिर : काजी श्रेष्ठ

प्रतिक्रिया