एमाओवादी सत्तालिप्साकै कारण देश थप अनिर्णयको बन्दी बन्ने देखिएको छ । सत्ता कब्जा गर्न सडक आन्दोलनदेखि आवश्यक सबै रणनीति अपनाउने अभिव्यक्तिसँगै एमाओवादी पछिल्लो समय ‘न तीरको न घाटको’ अवस्थामा पुगेको छ । एमाओवादीका रणनीति र कार्यनीतिबाटै विचलनतर्फ मोडिएको उसकै कार्यकर्ताले आरोप लगाउन थालिसकेका छन् । उसको तीर भाँच्चिसकेको छ । ‘अब तीर छ भने अध्यक्ष प्रचण्डका छोरा प्रकाशकै मात्र होला’ बजारमा चर्चा चल्न थालेको छ । घाट त उसको इतिहास बनिसक्यो, १६ हजार बढीलाई उसले घाट पुर्याएर काठमाडौंमा आलिसान महल ठड्याइसकेको छ । र, आर्थिक अनियमितताकै कारण राजधानीमा भएको प्लेनम बैठकमा कुर्सी हानाहान नै भयो ।
प्लेनम सुरुमा पार्टीभित्र गुट नबनाउने र गुट निर्माणमा छुट दिने पार्टीको घुमाउरो नीतिकै कारण वरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण) समूहले पार्टी विभाजन गरेको आरोप लगाएर अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तालीको स्वागत पाएका थिए । त्यसको भोलिपल्ट एमाओवादी लडाकु शिविरमा कमान्डर र पार्टी नेतृत्वले गरेको आर्थिक अनियमितताका विषयमा चर्काचर्की नै पर्यो । प्लेनम स्थगित गरेर छानबिन समिति नै गठन गरेर कार्यकर्तालाई थामथुम पारेको घटनाले एमाओवादीको आर्थिक अपारदर्शिता प्रस्टन्छ । राजधानीमा करोडौँ मूल्यका टावर र महल बनाउने एमाओवादीले देशलाई मात्र नलुटेर आफ्नै कार्यकर्ता लुटेको पुष्टि भयो । जसको प्रमाण आर्थिक अनियमितताका विषयमा छानबिन समिति गठन गरिएको छ । हिजो गाउँमा पाँच रुपियाँ सापट माग्दा नपाएकाहरू एमाओवादी बनेर अहिले आलिसान भवनको मालिक बनेका छन्, जसको एउटै कारण हो, बन्दुुकका भरमा जनतालाई धम्क्याउँदै रकम असुली गर्नु नै हो । यसरी असुलेको रकमले पोलेपछि आफ्नै कार्यकर्ताले कुर्सीले हान्दा पनि प्रधानमन्त्री भट्टराई र अध्यक्ष प्रचण्ड उर्फ मौसमी छेपारोले केही गर्न सकेनन् । गरून् पनि कसरी ? आफूहरू नै आर्थिक अपचलनको मुख्य नायक भएपछि । प्रधानमन्त्री भट्टराई मुस्ताङ म्याक्स चढेर सुशासनको कुरा गर्ने उनकी श्रीमती हिसिला ‘मेम’ भने ब्युरोकेसीका कार्यालय सहयोगी (पियन) सम्मबाट रकम उठाउँदै हिँड्ने भएपछि देश कसरी अधोगतिमा नफसोस् ? जसकै पीडा हिसिलाकै अघि बाबुरामले मुक्का खाए, प्लेनम छोडेर हिँड्न पाएनन् अनि गुट बन्द गर्छु भनेका अर्काे दिन अध्यक्ष प्रचण्ड, उपाध्यक्ष प्रकाश र आफ्नै कार्यकर्ताले गुटका कुरा उठाएपछि सुरक्षाकर्मीको सहयोगले भाग्नुको विकल्प रहेन । यो अवस्था हालसम्मको इतिहासमा पहिलो हो, जो प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा कुटिएको छ र कुट्नेलाई कारबाही नभएर उनीहरू भदौमा फुकेको राँगोभैँm भट्टीमा ‘प्रधानमन्त्रीलाई कुटियो’ भन्दै हिँडेका छन् । यसले नेपाली राजनीतिमा के सन्देश देला ? प्रश्न गम्भीर बन्दै गएको छ । तर, एमाओवादी नेतृत्व, उसले सिकाएका पाठ र उत्पादन गरेका उरन्ठेउले कार्यकर्ताले केही दिनमा सबक सिक्ने पक्का छ ।
एमाओवादी जसरी गरिब, दु:खी, असहाय, निर्धा र राज्यबाट ठगिएका समूहलाई स्वायत्त राज्यको सपना बाँड्दै यो स्थानमा पुग्यो, त्यसमा सत्यता थिएन । थियो भने, नेताहरूको स्वार्थ, युद्धका नाममा मर्नसम्म उकास्ने तिकडम र आर्थिक उपार्जन नै मुख्य थियो । जसको परिणाम संविधानसभाबाट ठूलो पार्टी बनेको उसले न संविधान दिन सक्यो न त संविधानसभा नै राख्न सक्यो । अनि, आफ्नै पार्टीका कार्यकर्ताले बुझेर नै प्रचण्ड र बाबुरामलाई कुर्सी हाने, गलहत्याए र भाग्न पनि दिएनन् । अबको केही समयपछि एमाओवादी पार्टी हालको नेकपा (माले) को अवस्थामा नपुग्ला भन्न सकिन्न । प्रकाश दाहाल उर्फ प्रचण्ड पुत्रले गरेको तेस्रो विवाह, बालकृष्ण ढुंगेल, प्रभु शाहजस्ता हत्यारा तथा लुटेरालाई नेतृत्वमा राख्ने, आर्थिक द्वार अध्यक्षको पकडमा राखिरहनेजस्ता कारण कारक बन्ने देखिन्छ ।
भर्खरै आफ्ना राजनीति गुरु किरणले पार्टी फुटाउनु र उनलाई महाशक्ति राष्ट्र चीनले १० दिने भ्रमणमा निम्तो दिनुले प्रचण्ड, बाबुराम र नारायणकाजीको मन कुँडिएको छ । अमेरिका, बेलायत, जापान, फ्रान्स र भारतले गिद्धेदृष्टि लगाउँदै चीनको अधोगतिको कामना गरिरहे पनि चीन दिनदिनै आर्थिक उन्नतिकै कारण महाशक्ति राष्ट्र बन्ने पक्का भएपछि एमाओवादी वृत्तमा खैलाबैला नै मच्चिएको छ । आर्थिक नाकाबन्दी, आफूनिकट कार्यकर्ता पाल्न समस्या, क्षमतावान् नेतालाई अवसर नदिनुसमेतका कारण वैद्य पक्षले नयाँ पार्टी बनायो । अब त्यो पार्टीका कार्यकर्ताले एमाओवादीसँग हिसाबकिताब खोज्ने देखिन्छ । अनि, प्रचण्डका पकडमा रहेका टावरहरूमा कब्जाको प्रयास हुनेछ । दुई माओवादीबीच ठूलो भिडन्तको अवस्था आउनेछ । केन्द्रीय प्लेनममा कार्यकर्ताको मन बुझाउन आर्थिक पारदर्शिता अपनाउने, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत नेता तथा कार्यकर्तालाई एकअर्कामा सरुवा गर्नेजस्ता निर्णय गरे पनि त्यो पारदर्शी भने हुनेवाला देखिन्न । वैद्य माओवादीले महाधिवेशन गर्ने निर्णय गरेपछि आत्तिएर स्थापनादेखि नै महाधिवेशन गर्न नचाहेको एमाओवादीले माघमा महाधिवेशनको मिति तोक्न बाध्य भएको देखिन्छ । महाधिवेशनमा यति ठूलो अवरोध हुन्छ कि प्लेनममा कुर्सी हानाहान, धकेलाधकेलमात्र भएको थियो, त्यहाँ त कुटपिट नै नहोला भन्न सकिन्न ।
यी क्रम र क्रमभंगका कारण एमाओवादीको अबको यात्रा सहज देखिन्न । तीरले काम नगरेपछि को परिणाम हेर्न केही समय भने पर्खनु पर्ला ।
प्रतिक्रिया