काठमाडौं, २१ साउन । भक्तपुर गठ्ठाघरस्थित मध्यपुर युथ एसोसिएसनले आफ्नो एकेडेमीका ३० फुटबल खेलाडीलाई शनिबार खेल पोसाक, जुत्ता र ब्याग प्रदान गरेको छ । सानोठिमी शंखधरचोकनजिकै रहेको येचु पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले उक्त सामग्री खेलाडीलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा एन्फा अध्यक्ष थापाले क्लब बलियो भए लिग स्तरीय हुने र त्यसपछि खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने विचार व्यक्त गरे । अध्यक्ष थापाले फुटबललाई व्यावसायिकतर्फ लैजान आगामी लिगमा आकर्षक नगद पुरस्कारको व्यवस्था गर्ने जानकारी गराए । उनले सन् २०१२ सम्म सातदोबाटोमा आर्टिफिसियल फुटबल मैदान तयार गर्ने बताउँदै नेपाली राष्ट्रिय टिमका लागि फोर–स्टार होटलमा भएको सुविधाबराबरको होस्टल बनाइसकेकोले अब राष्ट्रिय टिमलाई आवासको असुविधा नहुने बताए । उनले होस्टलमा ५० जना बस्न सक्ने बताए ।
उनले खेलाडी मात्र होइन प्रशिक्षकले समेत मासिक ५० हजार रुपियाँ पारिश्रमिक लिएर क्लबमा अनुबन्ध हुने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गरे । ग्लेडस्टोन स्कुलका प्रिन्सिपल कुमार कोइरालाले देशमा मात्र प्रतिष्ठाको विषय बनेको एसोसिएसन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि खेलको माध्यमबाट राष्ट्रको नाम चम्काउन सकोस् भनी शुभकामना दिए ।
कार्यक्रममा एकेडेमीका खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने विभिन्न १६ स्कुललाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंह, मध्यपुर ठिमी नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया