सबै जिल्लामा युवा स्वरोजगार कार्यक्रम

काठमाडौं, २१ साउन । युवा स्वरोजगार कोषले मुलुकभरका दुई सय ४० वटै निर्वाचन क्षेत्रमा सहकारीमार्फत युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोषले आफ्नो उद्देश्यअनुसार नै देशका सबै निर्वाचन क्षेत्रका युवालाई रोजगारी दिनका लागि यस्ता खाले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कोषका उपाध्यक्ष प्रा.डा.पुण्यप्रसाद रेग्मीले दिएको जानकारीअनुसार एउटा निर्वाचन क्षेत्रमा दुई–दुईवटा वा प्रत्येक जिल्लामा चारवटासम्म सहकारीलाई कर्जा प्रवाह गर्ने व्यवस्था गर्न लागिएको छ । यसबाट ७५ वटै जिल्लामा सहकारीमार्फत रकम प्रवाह हुने भएको छ । सरकारको स्वामित्वमा रहेका ७५ वटै जिल्लामा शाखा भएका बैंकमार्फत पनि कर्जा प्रवाह गर्ने तयारी कोषले गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत रकम परिचालन गर्दा रकम दुरुपयोग नहुने र राजनीतिक कार्यकर्तालाई रकम बााडेको भन्ने आरोपबाट पनि कोष बच्ने भएकाले यस खालको नीति अगाडि सारिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए ।
बैंकको पहुँच नभएका स्थानमा भने स्थानीय सहकारी तथा सरकारी बैंकमार्फत किस्तामा ऋण दिने व्यवस्था गरिएको छ । अहिलेसम्म कोषले दुई अर्ब ७१ करोड पाँच लाख रुपियाँ लगानी गरेको छ भने चालु आर्थिक वर्षमा मागअनुसार लगानी गर्ने जनाएको छ । आव ०६७/६८ बाट सुरु भएको यो कार्यक्रम ३७ जिल्लामा सञ्चालनमा रहेको छ । चालु आर्थिक वर्षमा कम्तीमा ५० हजारलाई स्वरोजगार बनाउने लक्ष्य कोषले राखेको छ ।
सहकारी संस्था र वित्तीय संस्थाबाट प्रभावकारी ढंगले रकम परिचालन गर्न ठूलो चुनौती रहेको उल्लेख गर्दै उपाध्यक्ष रेग्मीले त्यसका लागि सरोकारवाला सबै युवाहरूसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया