विदेशी चलखेल बढ्दो

वास्तवमा यतिबेला नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको छ । विशेषगरी दलीय स्वार्थमा लिप्त राजनीतिक नेतृत्वको अकर्मण्यता र असक्षमताका कारण आज मुलुक यस्तो अवस्थासम्म आइपुगेको हो । मुलुकको राजनीतिक अस्थिरता र संक्रमणकालको आडमा आज विदेशी तत्त्वहरू सल्बलाउने मौका पाइरहेका छन् । मानौँ कि यो मुलुक विदेशीहरूको ‘खेल मैदान’का रूपमा स्थापित हुँदैछ । सदियौँदेखि स्वतन्त्र र स्वाभिमान राष्ट्रका रूपमा रहेको नेपाली मुलुक आज विदेशी शक्तिकेन्द्रले विभिन्न बाहनामा चलखेल गरिरहेका छन् । नेपालको अपार जलसम्पदा र प्राकृतिक स्रोत साधनमाथि बक्रेदृष्टि लगाउने छिमेकीको चाहनाले आज मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेका छन् । यस्तो विषम परिस्थितिमा मुलुकका राजनीतिक शक्तिहरू एकजुट भएर मुकाबिला गर्नुको विकल्प छैन । सबै राष्टवादी शक्तिको एकता, सहमति र सम्झौतबाट नै मुलुकलाई आजको यस अन्यौलपूर्ण घडीबाट मुक्ति दिलाउन सकिनेमा दुईमत छैन । अब नेपालको राष्ट्रियताको सवालमा सबै राजनीतिक शक्तिबीच एकताबाट नै मुलुकको स्वाधीनता, सार्वभौमसत्ता अक्षुण्ण राख्न सकिन्छ । मुलुकको राष्ट्रिता बलियो भए भने मात्रै लोकतन्त्र र यसका आधारभूत संरचना सबल हुन सक्छन् । यसका लागि हाम्रा राजनीतिक शक्ति र नेतृत्व सदैव सजग हुनु जरुरी छ ।

प्रतिक्रिया