काठमाडौं, २० साउन । नेपालमा भाइरोलोजिकल सेन्टर स्थापना गर्नुपर्ने चिकित्सकले माग गरेका छन् । हरेक वर्ष भाइरल ज्वरोका कारण दर्जनौँको मृत्यु र हजारौँ बिरामी हुने गरेकाले यसको उपचार तथा नियन्त्रणका लागि सेन्टर चाहिएको उनीहरूका भनाइ छ ।
गर्मी तथा वर्षात र मौसम परिवर्तनको समयमा बढी देखिने यो रोगको नियन्त्रणका लागि केन्द्रीय स्तरमा भाइरोलोजिकल सेन्टरको आवश्यकता रहेको सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले बताए । बर्सेनि भाइरल ज्वरोले देशका विभिन्न स्थानमा प्रकोपकै रूप लिने गरेकाले आगामी दिनमा भाइरलको प्रकोपलाई कम गर्न सेन्टरको आवश्यकता रहेको उनले जानकारी दिए ।
‘बर्सेनि भाइरसमा आउने गरेको परिवर्तनका कारण उपचारमा समस्या परिरहेको छ,’ पाण्डेले भने, ‘यदि सेन्टर हुने हो भने भाइरसका नमुना परीक्षण गरी उपचारमा जान सहज हुने थियो ।’ उनका अनुसार सेन्टर नहुँदा नयाँ खालका भाइरल ज्वरोका भाइरस पत्ता लगाउन सकिँदैन ।
डा. पाण्डेले भाइरलको समस्या नेपालमा बर्सेनि बढ्दै गए पनि सरकारले सेन्टर मात्र नभई भाइरल रोग हेर्ने विशेषज्ञको दरबन्दीसमेत राख्न नसकेको बताए । उनले भाइरसजन्य रोगको उपचारका लागि सरकारले तत्काल भाइरोलोजी सेन्टर र विशेषज्ञ डाक्टरको दरबन्दी बनाउनुपर्ने जानकारी दिए । देशका अधिकांश स्थानमा फैलिएको भाइरल ज्वरोले हरेक वर्ष आमनगारिकसहित स्वयं चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नै बिरामी बनाउँदै आएको छ ।
भाइरल ज्वरो गराउने भाइरस हरेक वर्ष परिवर्तन हुने भएकाले उपचारमा समस्या हुने गरेको वरिष्ठ फिजिसियन डा. भूपेन्द्र बस्नेतको भनाइ छ । उनले भाइरसको प्रकृति हेर्ने निश्चित सेन्टर नहँुदा सधँैजसो उपचारमा समस्या परिरहेको बताए । ‘मौसम परिवर्तनसँगै देखिने भाइरल ज्वरोले बिरामीमा थप संक्रमण उत्पन्न गराउने, लामो समयसम्म निको नहुनेजस्ता समस्या देखिन थालेको छ,’ उनले भने, ‘बर्सेनि भाइरसको रोग बढाउने क्षमता पनि बढिरहेकाले छुट्टै भाइरोलोजिकल सेन्टरमा भाइरसको परीक्षण आवश्यक परेको छ ।’
उनका अनुसार समान्यतया भाइरल ज्वरो १० दिनमा निको हुने गर्छ । तर, पछिल्लो समयमा भाइरसका करण हुने भाइरल ज्वरो २० दिनदेखि एक महिनासम्म निको नभएका, ज्वरो बढी आउने, टाउको धेरै दुख्नेलगायत थप समस्या देखिएका छन् ।
चिकित्सकका अनुसार वर्षातको समय र मौसममा आएको परिवर्तनले गर्दा यो समयमा भाइरल ज्वरोका भाइरस धेरै सक्रिय हुन्छन् र छिट्टै रोग सर्ने गर्छ । यो समयमा भाइरल ज्वरो गराउने भाइरस घाँटीमा सुसुप्त अवस्थामा हुने भएकाले मौसम परिवर्तन हुँदा, चिसोपानी, खानेकुरा खाँदा यी भाइरस सक्रिय भई बिरामी बनाउँछन् ।
भाइरल ज्वरो भएका मानिसको शरीरको तापमान १ सयदेखि १ सय ३ डिग्री फरेनहाइटसम्म हुन सक्छ । यो संक्रमणको असर १० देखि १२ दिनसम्मको हुने भए पनि यसपटक बिरामीमा लामो समयसम्म ज्वरो आउने, बेस्सरी टाउको तथा जिउ दुख्ने, रुघाखोकी लाग्ने चाँडै अरूमा सर्नेजस्ता समस्या बढी देखिएको डा. पाण्डेले बताए ।
प्रतिक्रिया