काठमान्डौ : पछिल्लो समय नेपाली चलचित्रले आशालाग्दो व्यापार नदेखाए पनि यस साता दुई चलचित्र प्रदर्शनमा आएका छन्– संसार आफ्नै र सूर्यचन्द्र । अघिल्लो साता प्रदर्शनमा आएका दुई चलचित्र जंगल लभ र मायाज बारले थप स्टेसन पाएका छन् । उपत्यकामा मात्र रहेको मायाजबार शुक्रबारदेखि उपत्यकाबाहिर पनि जाँदै छ भने उपत्यकाबाहिर मात्र लागेको जंगल लभ उपत्यका भित्रिएको छ ।
रञ्जित रानाको निर्देशन रहेको संसार आफ्नै बिहीबारदेखि प्रदर्शनमा आएको हो भने दीपक श्रेष्ठ निर्देशित सूर्यचन्द्र शुक्रबारबाट । सूर्यचन्द्र देशभरका हलमा लाग्नेछ भने संसार आफ्नै उपत्यकाबाहिर मात्र । नायक तथा निर्माता गोविन्द शाहीले बनाएको संसार आफ्नै अहिले उपत्यकाबाहिरका ४१ स्टेसनमा लागेको र भदौबाट काठमाडौं ल्याइने गोविन्दले जानकारी गराए । प्रेमका साथै सामाजिक विषयवस्तु समेटिएको चलचित्रमा गोविन्द शाही, झरना थापा, सुमन सिंहलगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
गोविन्दले चलचित्र विदेशमा पनि सार्वजनिक प्रदर्शनको तयारी भइरहेको जानकारी दिए । त्यस्तै, मुरारी पोखरेलले निर्माण गरको सूर्यचन्द्र देशभरका हलबाट प्रर्दशनमा आएको छ । विराज भट्ट, सुवास मेचे, युना उप्रेती, शोभा श्री, कमल कृष्ण, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, कमल गाउँले, शुरवीर पण्डितलगायत कलाकार मुख्य भूमिकामा छन् । (सौस)
प्रतिक्रिया