सात महिनामा तीन लाख ३२ हजार पर्यटक

काठमाडौं, १९ साउन । सन् २०१२ को पहिलो सात महिनामा हवाई मार्गबाट तीन लाख ३२ हजार चार सय ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले बढी हो । राष्ट्रिय महत्त्वका साथ मनाइएको पर्यटन वर्ष २०११ मा दुई लाख ८० हजार पाँच सय ७५ विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएको तथ्यांक छ ।

सात महिनाको अवधिमा एक लाख २५ हजार ६ सय ९९ पर्यटक भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २४.५ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिमा एक लाख पर्यटक आएका थिए ।
सार्कबाहेक अन्य एसियाली मुलुकबाट सात महिनामा ६४ हजार एक सय ४२ पर्यटक भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले बढी हो ।
युरोपियन मुलुकबाट भने ७८ हजार आठ सय २८ पर्यटक भित्रिएको तथ्यांक छ । युरोपियन मुलुकमध्ये फ्रान्स, जर्मनी र बेलायतबाट आउने पर्यटक बढी छन् । अमेरिकाबाट भने अहिलेसम्म २८ हजार पर्यटक भित्रिएका छन् ।
पर्यटन क्षेत्रका लागि अफ सिजन मानिएको जुलाई महिनाको पर्यटक आगमन पनि उत्साहजनक देखिएको छ । यो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ हजार चार सय ५३ विदेशी पाहुना नेपाल घुम्न ओर्लिएको अध्यागमन कार्यालयले जनाएको छ । गत वर्ष यही महिनाको तुलनामा यो संख्या नौ दशमलव दुई प्रतिशतले बढी हो ।
जुलाईमा नेपाल आउने पर्यटकमा दक्षिण एसियाली क्षेत्रको वृद्धिदर १८.३ प्रतिशत छ । यस क्षेत्रका मुलुकमध्ये भारत र पाकिस्तानको वृद्धिदर क्रमश २४.३ र २७ प्रतिशत छ । यो महिना १५ हजार भारतीय पर्यटक नेपाल आएका छन् । त्यस्तै, अन्य एसियाली मुलुकमा चीनबाट चार हजार दुई सयभन्दा बढी पर्यटक आएका छन् । यो अघिल्लो वर्षको तुलनामा २७.२ प्रतिशत बढी हो । त्यस्तै जापानी २८.४ र मलेसियन १९.४ प्रतिशतले बढेका छन् ।
युरोपेली क्षेत्रको वृद्धिदर पाँच दशमलव चार प्रतिशत छ । यो क्षेत्रमा डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्यान्ड र स्पेनबाट आउने पर्यटकको संख्या बढेको छ । बेलायत, इटली र बेल्जियमबाट आउने पर्यटक भने घटेको अध्यागमनको तथ्यांक छ । युरोपेली मुलुकमध्ये बेलायतबाट दुई हजार, फ्रान्सबाट एक हजार दुई सय र स्पेनबाट एक हजार ८२ पर्यटक नेपाल आएका थिए । त्यस्तै, जुलाईमा दुई हजार तीन सय ७१ अमेरिकी पाहुना नेपाल आए । यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा चार दशमलव पाँच प्रतिशत बढी हो । क्यानेडाली पर्यटकको संख्या नौ प्रतिशतले बढेको छ । यस वर्षको सुरुदेखि पर्यटक आगमन बढ्दो क्रममा छ ।

प्रतिक्रिया