काठमाडौं, १७ साउन । कामचलाउ सरकारका शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले नयाँ निर्वाचनको मितिका सम्बन्धमा दलहरुका वीच सहमति नबने पनि चैतमा अर्को मिति तोक्ने तयारी गरेको बताएका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले निर्वाचनका लागि दलहरुका वीच सहमति आवश्यक रहेको बताए । ‘दलहरुवीच सहमति नभएसम्म निर्वाचन हुन सक्दैन,’ रायमाझीले भने, ‘तर, सरकारले नियमित प्रक्रिया अन्र्तगत चैत वा मंसिरमा निर्वाचन घोषणा गर्ने तयारी गरिरहेको छ ।’
विपक्षी दलहरुले राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचन गर्नुपर्ने जनाईरहेका बेला मन्त्री रायमाझीले सहमति नभएपनि चुनावको अर्को मिति तोक्ने तयारी गरेको बताएका हुन् ।
कांग्रेस प्रचार विभाग प्रमुख डा.मिनेन्द्र रिजालले पदमुक्त भईसकेका प्रधानमन्त्रीसँग सहमतिको आशा नगरेको बताए । ‘एमाओवादीबाट वार्ताका नाममा धेरै धोका कांग्रेसले पाईसकेको छ,’ उनले भने, ‘सम्वादमा नअल्मलिकन दसैं अघिनै सबै मुद्दालाई छिनोफानो गर्ने गरी आन्दोलन गर्छौ ।’
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले वार्ता र छलफलका माध्यमबाटै निकास खोज्ने प्रतिपक्षी दलहरुको प्रयासलाई प्रधानमन्त्रीले कमजोरी ठानेको बताए ।
उनले भने, ‘विपक्षीहरुको सदासयतालाई प्रधानमन्त्रीले कमजोरी ठानेको हो भने त्यसको महंगो मूल्य चुकाउनु पर्छ ।’
राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सहमति विना संसारमा कतै पनि निर्वाचनको मिति घोषणा हुन नसक्ने बताए ।
उनले प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सत्ता लम्ब्याएर निरकुंशता लाद्ने योजनाका साथ संविधानसभाको निर्वाचनको मिति एकलौटी घोषणा गरेको आरोप लगाए ।
प्रतिक्रिया