वृद्धालाई न्याय देऊ

कतिपय घटना अनौठा र अपत्यारिला हुन्छन् । कतिपय घटनाले मानिसलाई भावुक र संवेदनशील बनाउँछन् । यस्तै भावुक र संवेदनशील बनाउने घटनाकी नायिका बन्न बाध्य बनाइएकी छिन्, एक ९४ वर्षीया वृद्धा । ०१८ मा राज्यद्वारा सर्वश्वहरण गरी हत्या गरिएका आफ्ना श्रीमानलाई सहिद घोषणा गरी पाउँ, भन्दै जनताका नेता र मन्त्रीहरूको दैलो चाहार्न थालेको ५० वर्ष बितेछ । तर, कहीं कतैबाट सुनुवाइ भएन । ती वृद्धा लक्ष्मीमाया मोक्तान अहिले पशुपतिनाथ मन्दिरमा मागेर खान बाध्य छिन् । किन यस्तो भयो ? उनका पति सहिद हुन् वा होइनन् ? सर्वश्वहरण गरेर हत्या गरिनुको कारण के थियो ? नेपाली कांग्रेस यसबारेमा किन मौन छ ? के वर्तमान सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सक्दैन ? पहिरोमा लडेका र ट्रकले किचेर मरेकालाई समेत सहिद घोषणा गर्ने सरकारले ती वृद्धाको आँशु पुछ्न सक्दैन ? एउटी ९४ वर्षकी हजुरआमा आफैँमा एक सत्य हुन् । अथाह पीडाले पिरोलिएर न्यायको भिख माग्दै ५० वर्ष लामो यात्रा गर्नु सामान्य कुरा होइन । उनको प्रत्येक यात्रा जननिर्वाचित हुँ भन्ने र मन्त्री, प्रधानमन्त्री हुँ भन्नेहरूका दैलोमा गएर टुंगियो । तर, ती वृद्धाले कसैबाट न्यायको भिख पाइनन् । यो अन्याय हो कि होइन ? उनको माग नाजायज हो भने पनि उचित जवाफ पाउने र संरक्षण पाउनुपर्ने उनको अधिकार किन हरण गरिँदै छ । पहिलाका सरकारबाट उनले न्याय पाइनन् भने पनि अहिलेको सरकारले न्याय दिनुपर्छ ।
पछिल्लो पटक १४ असारमा वृद्धा लक्ष्मीमाया मोक्तानले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर आफ्ना पति वलमान मोक्तानलाई सहिद घोषणा गरिपाउँ भनेर बिन्ती गरिन् । उनकै भनाइअनुसार राष्ट्रपतिले आफूले केही गर्न नसक्ने जानकारी दिँदै वृद्धाश्रममा बस्न जाने सल्लाह दिएछन् । राष्ट्रपतिले दिएको सल्लाह आफ्नो ठाउँमा ठिकै होला तर राष्ट्रप्रमुखले ‘वृद्धाको बिन्ती’ के हो भनी गृहमन्त्रालयमार्फत टुंग्याउन आग्रह गरिदिनुपथ्र्यो । वृद्धाले ५० वर्ष गरेको संघर्षको प्रतिफल राष्ट्रपतिको एउटा निर्देशनबाटै प्राप्त हुने थियो । तर, अन्यत्रजस्तै वृद्धाको झिनो आवाज शितलनिवासले पनि सुनेन । यो दु:खद् पक्ष हो । आफ्ना नागरिकप्रति राज्यको दायित्व हुन्छ । सम्मानित जेष्ठ नागरिकप्रति सबै पक्ष र क्षेत्रले संवेदनशील भएर गम्भीरतापूर्वक सोच्न जरुरी छ । त्यसमा पनि ९४ वर्ष पुगेकी एक वृद्धा विक्षिप्त मन लिएर ५० वर्षदेखि न्यायको भिख माग्दै अनेक नेता र मन्त्रीको दैलो धाउनु विडम्वना नै हो । किन, कतै पनि उनको सुनुवाइ हुँदैन ? यदि वृद्धाले लहडमा आएर अथवा कसैको उक्साहटमा लागेर आफ्ना पतिलाई सहिद घोषणा गर्न खोजेकी हुन् भने त्यसको पनि उपचार हुनुपर्छ । सरकारले छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउनुपर्छ । यो सरकारको दायित्व हो ।
नेपालमा सहिदको परिभाषा फेरिएको छ । र, जोसुकैलाई सहिद घोषणा गर्ने प्रचलन स्थापित गरिएको छ । जसले गर्दा राणाकालका चारजनाबाहेक अन्य सहिदलाई नेपाली जनताले सहिद भनेर चिन्दैनन् । यो दु:खलाग्दो कुरा हो । कस्ता व्यक्तिको कुन अवस्थामा कसरी मृत्यु भयो भने सहिद हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड हाम्रोमा लागू भएन । जसले गर्दा आ–आफ्ना पार्टीका आ–आफ्ना सहिद मान्ने चलन देखिँदै छ । यही कारणले सर्वसाधारणले भने चारजना सहिदलाई मात्र सहिद मानेका हुन् । यो कुरा वृद्धा लक्ष्मीमायालाई थाहा नहुन सक्छ । तर, राज्यले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । उनी प्रचारमा आएकी छन् । वृद्धाप्रति स्वाभाविक रूपले सहानुभूति जान्छ । मानिसलाई यस्ता घटनाले संवेदनशील बनाउँछ । सत्यतथ्य बुझ्नेभन्दा पनि यस्ता प्रचारले मानिसलाई भावुक र आक्रोसित बनाउँछ । तसर्थ सरकारले ०१८ सालमा सर्वश्वहरणपछि मारिएका भनिएका वलमान मोक्तानका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्छ । यसले मात्र वृद्धाप्रति न्याय र सम्मान गरेको ठहरिनेछ र सम्पूर्ण वास्तविकता पनि बाहिर आउनेछ । यदि वृद्धाको भनाइ ठीक हो भने वलमान मोक्तानलाई सहिद घोषणा गर्न सरकार पछि पर्नु हुँदैन । वृद्धालाई न्याय दिनैपर्छ ।

प्रतिक्रिया