राष्ट्रियताको सन्दर्भमा वामपन्थी पार्टी

नेपालमा केही समययता वामपन्थी पार्टीहरूको वर्चश्व जबर्जस्त छ । गत संविधानसभाको चुनावमा सबै वामपन्थी पार्टी मिल्दा ६३ प्रतिशत सिट प्राप्त गरेका थिए । पूर्वी युरोपबाट कम्युनिजम व्यवस्था उखेलिएपछि पश्चिमा विद्वान्हरूले ‘कम्युनिजम इज डेथ’ सम्म भनेका थिए । चीनमा माओ र रुसमा लेनिनका फोटा नोटसम्ममा रहे पनि समयको अन्तरालसँगै माओको सांस्कृतिक क्रान्तिको समयलाई चीनको अन्धकार युग भनियो । रुसमा गोर्भाचोभको पतनसँगै कम्युनिजमको अन्त्य भएको छ ।
नेपालमा माओको नामबाट भएको क्रान्तिलाई माओको नाम र सिद्धान्त बद्नाम गर्ने धृष्टता भएको चिनियाँ नेताहरूको भनाइ छ । चीन घुम्न जाने नेपालीले एकै स्वरमा भन्ने गरेका छन्, अहिलेको वैभवशाली चीन हुनुमा चीन एकात्मक राज्य भएकाले नै हो । यो चीनमा मात्र नभएर चीनबाहिर पनि अनुभूत भएको कुरा हो । नेपालमा जातीय पहिचानसहितको संघीयता भन्नुको पछाडि पाहाडमा १३ प्रदेश र तराईमा एक मधेस एक प्रदेश भन्नुको पछाडि चुरे र भित्री मधेससमेतको तराई नेपालबाट टुक्र्याउँछौं भन्ने नै हो । यही बुझेर नै नेपालबाट तराईका केही भाग टुक्र्याउन नेपालको दक्षिणी छिमेकी लागिपरेको चिनियाँ अधिकारीहरूले ठम्याएर मुख खोलेका छन् । नेपालमा आएको अस्थिरताले तिब्बतलाई खतरा पुग्ने चीनको बुझाइ देखिन्थ्यो ।
माओवादी अध्यक्ष मोहन वैद्यलाई चीनमा बोलाएर जातीयता र संघीयता उचालेर नेपाललाई विभाजन नगर्न चीनले दिएको सल्लाहमा पत्रकार सम्मेलन गरी खुलाएबाट नेपालका कम्युनिस्टहरू खासगरी एमाओवादी र वैद्यको माओवादीलाई चीनले सचेत गराएको अर्थमा बुझ्नु जरुरी छ । नेपालका दुईजना माओवादी नेता प्रचण्ड र डा. बाबुराम भट्टराई जसरी भारतलाई रिझाउने प्रतिस्पर्धामा छन् त्यसबाट नेपालका एमाओवादी र माओवादीजस्ता वामपन्थीबाट नै नेपालको राष्ट्रियता खतरामा पर्दैछ । उदाहरणका लागि जातीयताको नाराले जसरी देश विभाजन हुँदै छ त्यसका पछाडि राष्ट्रियता कमजोर पार्ने खेल छ । नेपाललाई क्रिश्चियन एजेन्डाको देश बनाउने र तिब्बत टुक्र्याउने पश्चिमा डिजाइनको सिकार नेपालका वामपन्थी भएका छन् । त्यसमा चिनियाँ नेता माओको नाम मुछिनुले पनि चीन नेपालका माओवादी नाम जोडिएका पार्टीहरूसँग बढी संशकित भएजस्तो देखिएको छ ।
भारतका पूर्व रअका प्रमुख टी हर्मिज थराकान, श्यामशरण र एसडी मुनीले राजसंस्था हटाउनेदेखि कटवाल प्रकरणसम्म भारतको हात भएको स्विकारेका छन् । माओवादी नेताहरूले सन् २००२ देखि नै भारत सरकारविरुद्ध र भारतको इच्छाविरुद्धमा कुनै पनि हर्कत नगर्ने बिन्तीपत्र हालेपछि मात्रै भारतले १२ बुँदे सम्झौता गराइदिएको भनेर प्रचण्ड र बाबुरामलाई नांगेझार पार्नुअघि नै चीनले नेपालको माओवादी पार्टी कहाँबाट सञ्चालन भइरहेको छ भन्ने नबुझ्ने कुरा भएन । बाबुरामले गरेको बिप्पा, सुपुर्दगी अध्यादेश र चीनसँग सीमा जोडिएका समेतका नेपाली एयरपोर्टहरूमा सादा पोसाकका भारतीय सुरक्षाकर्मी राख्ने बाबुराम सरकारको नीतिले गर्दा श्री ५ महेन्द्र र कीर्तिनिधि विष्टले हटाएका उत्तरी चेकपोस्टको पुनर्वहाली हुन लागेको देखिएको छ । कांग्रेस, एमाले र वैद्य पक्षीय नेताहरू उल्लिखित विषयमा किन गम्भीर नभएका हुन् । ती विषयमा बहस हुनु जरुरी छ ।
पश्चिमा राष्ट्रहरूले एनजिओ, गुम्बा व्यवस्थापन र क्रिस्चियन धर्म फैलाउने मेसिनरीहरूका नाममा र खासगरी उग्र जातिवादी जनजाति नेताहरूमार्फत ठूलो आर्थिक लगानी गरेकोमा चीनले नेपाल सरकारलाई सचेत गराएका प्रसंग नेपाली छापाहरूमा पटक–पटक आउने गरेका छन् । बेलायत र स्केन्डेनेभियन देशहरूको नामै लिएर चीनले तिब्बत टुक्र्याउने अभियानमा नलाग्न चेतावनी दिएको छ । नेपालको अस्थिरताले चीन र भारतसँगै सिंगो एसियालाई असर गर्छ भनेर चिनियाँ नेताहरूले भारतलाई समेत खबरदारी गरेका छन् । यसबाट राष्ट्रियताको नारा दिने सबै नेपाली कम्युनिस्ट पार्टी र नेताहरू बेखबर भएको देखिँदैन । खासगरी जातीयता र संघीयता उचाल्ने माओवादी नीतिले नै नेपाल टुक्रन सक्ने चिनियाँ आँकलन भएको देखिन्छ । त्यसैले वैद्यलाई चीनले सचेत गराएको हुन सक्छ । नेपालमा एमालेको स्थान लिन खोजेको माओवादी र कांग्रेसको स्थान लिन खोजेको ब्यालेटवादी एमालेले राष्ट्रियताका सवालमा नेपालभित्र र बाहिर विश्वास दिन सकेको छैन । भारतविरुद्ध सुरुङयुद्ध गर्ने ध्वाँस लगाउने माओवादी र आफूलाई प्रजातन्त्रवादी र राष्ट्रवादी पार्टी भन्ने एमालेलाई चीनले शंकाको दृष्टिले हेर्नुले नेपालका वामपन्थी पार्टीहरू कहाँ छन् ? ती पार्टीभित्रै गम्भीर समीक्षाको विषय छ ।
सैद्धान्तिक रूपमा रूस, चीन, भियतनाम र कोरियाका कम्युनिस्ट पार्टीहरू राष्ट्र र राष्ट्रियताका सवालमा दृढ एवं इमानदार थिए । सन् १९६२ मा भारत–चीन युद्ध हुँदा भाकपा माक्र्सवादीका ज्योति वसुले खुलेर नै पण्डित जवाहरलाल नेहरू र तत्कालीन सरकारलाई समर्थन दिएका थिए । तर, नेपालको सवालमा यहाँका कम्युनिस्ट पार्टीहरू कति इमानदार छन् ? त्यसतर्फ नेपाली जनताले औँला उठाउन थालेका छन् । के वर्तमान माओवादी–मधेसी सरकार राष्ट्रिय हितप्रति इमानदार छ ? सरकारको इमानदारी र राष्ट्रियताप्रति शंका गर्नुपर्ने देखिएको छ । कामचलाउ अवस्थाको सरकार किन लुकेर भारतसँग अनुचित लेनदेन गर्दै छ ? अन्य पार्टी किन सरकारलाई खबरदारी गर्दै छैनन् ? नेपाली वामपन्थी पार्टीहरूमा जे–जसरी राष्ट्र, राष्ट्रियता र देशभक्ति ह्रास भएर सत्ता, शक्ति र पैसाका लागि भारतको चाकडी गर्ने रोग लागेको छ त्यो छिट्टै निको हुने देखिँदैन । हरेक साता कुनै न कुनै वामपन्थी नेता भारतमा खुसामद गर्न पुगेकै हुन्छन् । एमाले र खासगरी माधव नेपालले अरुण नतुहाएको भए र माओवादीले विभिन्न जलविद्युत् आयोजना बनाउन अवरोध नपुर्‍याएको भए नेपाल अहिलेको जस्तो ऊर्जा संकटमा पर्ने थिएन । बाबुरामले चीनसँग गरेको पश्चिम सेती जलविद्युत् आयोजना नेपाल र भारतका जलमाफियाको प्रभावमा बाबुराम सरकारले नै रोकेको देखिएको छ । यसलाई सचिव बना, यसलाई प्रधानसेनापति बना र यसलाई सरकारमा राख वा नराख भन्ने हदको भारतीय हस्तक्षेप कति स्वीकार्य हो ?
एसियाभरि नै र खासगरी चीन तथा दक्षिण एसियाका कम्युनिस्ट पार्टीहरूलाई राष्ट्रवादी शक्तिका रूपमा हेर्ने गरिन्थ्यो । के नेपालको माओवादी पार्टी ०४७ को संविधान समाप्त गर्न र सो संविधानमा भएको नेपालको प्राकृतिक सम्पदा विदेशीलाई दिँदा संसद्को दुई तिहाइ बहुमतले अनुमोदन गर्नुपर्छ भन्ने प्रावधान हटाउनकै लागि मात्र गठन भएको हो ? संविधानसभालाई माओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईले नै बन्चरो चलाएको देख्दा संविधानसभाको नारा माओवादीको देखाउने नारा मात्रै भएको प्रस्ट हुन्छ । संविधानसभा खत्तम गर्न गच्छदार र बाबुराम एकै ठाउँमा उभिनु र संविधानसभा फ्याँक्न प्रचण्डको पनि साथ हुनुले विदेशी प्रभुकै डिजाइन र इशारामै नै सबै काम भइरहेका त छैनन् ? जनचासोको विषय छ । लामो संघर्षबाट स्थापित वामपन्थी पार्टीहरू किन स्वखलनमुखी छन् ? चासो र चिन्ताको विषय हो । राष्ट्रियताका सवालमा वामपन्थी पार्टीहरू अहिलेकै झैं भारतपन्थी मात्रै भए भने केही वर्षभित्रै माओवादीसमेतका वामपन्थी पार्टीहरू अत्यन्तै प्रतिगामी सोच भएका जातिवादी पार्टीमा रुपान्तरित हुनेछन्, जहाँ वामपन्थी शक्तिहरू पूर्णरूपमा लोप हुन सक्ने छन् । राष्ट्रियताका कारणले नै म कम्युनिस्ट भएको हुँ भन्ने होचिमिन्हको भनाइसँग नेपालका वामपन्थी पार्टीहरूको कुनै साइनो देखिँदैन ।

प्रतिक्रिया