कायम मुकायम मुख्य सचिवमा पौडेल नियुक्त

काठमाडौं, १४ साउन । चर्को विरोध र दबावका वीच सरकारले कायम मुकायम मुख्य सचिवको जिम्मेवारी लीलामणी पौडेललाई दिएको छ ।
मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । अब पौडेललाई मुख्य सचिवमा नियुक्त गर्न सहज हुने छ । आठौं बरीयताका सचिव पौडेल प्रधानमन्त्री बाबुराम भट्टराईको दबावमा कायम मुकायम सचिवमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्री कार्यालयका सचिव पौडेललाई प्रधानमन्त्री भट्टराईको प्रस्तावमा कायम मुकायम मुख्य सचिवको जिम्मेवारी दिएको सञ्चारमन्त्री यादवले बताए ।
मुख्य सचिव नियुक्तिलाई लिएर सत्ता साझेदार दल र मन्त्री वीच विवाद भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री भट्टराईले परामर्श समेत गरेका थिए ।
बरिष्ठताका आधारमा शंकर कोइरालालाई मुख्य सचिव बनाउनुपर्ने भएपनि सरकारले कार्यक्षमताका आधारमा पौडेललाई सो जिम्मेवारी दिएको यादवले जनाए ।
मुख्य सचिवको दौडमा शंकरप्रसाद कोइराला, अवनीन्द्रकुमार श्रेष्ठ, उमाकान्त झा, वृन्दा हाडा भट्टराईलगायत दर्जन बढि सचिवहरु अगाडि थिए ।
प्रधानमन्त्री भट्टराईले रुचाएका सचिव पौडेललाई मुख्य सचिव बनाउन औपचारिक प्रस्ताव आएपछि सर्वसम्मत अनुमोदन गरिएको सञ्चार मन्त्री यादवले बताए ।
मुख्य सचिव माधवप्रसाद घिमिरेको पदावधि साउन–२२ गते देखि सकिदै छ । मुख्य सचिव कस्लाई बनाउने भन्ने लामो वहस आजदेखि टुङगिएको छ ।

प्रतिक्रिया